भारतका ५ राज्यको चुनाव सम्पन्न- बीजेपी र कांग्रेसमध्ये कुन प्रदेशमा कसको अग्रता ? – Nepal Press

भारतका ५ राज्यको चुनाव सम्पन्न- बीजेपी र कांग्रेसमध्ये कुन प्रदेशमा कसको अग्रता ?

नयाँ दिल्ली । भारतमा ५ महिनापछि हुने आम निर्वाचनको जनमत परीक्षणमा रूपमा लिइएको ५ वटा राज्यमा विधान सभा निर्वाचनको मतदान सम्पन्न भएको छ । विहीबार तेलंगना राज्यमा भएको निर्वाचनसँगै अब एक्जिट पोल आउने क्रम सुरू भएको छ । मतगणना भने आगामी आइतवारबाट हुने त्यहाँको निर्वाचन आयोगले जनाएको छ ।

राजस्थान, मध्यप्रदेश, छत्तिसगढ, तेलंगना र मिजोरममा विधानसभा निर्वाचन भएको हो । मतदान सम्पन्न भएसँगै अलग अलग एजेन्सीले पाँचै राज्यमा कसले कति सीट जित्दैछ भन्ने एक्जिट पोल सार्वजनिक गरेका छन् ।

छत्तिसगढमा कांग्रेसको अग्रता

एक्जिट पोलका अनुसार छत्तिसगढमा बीजेपी र कांग्रेस आईबीच कडा टक्कर देखिएको छ । यहाँ बीजेपीले ३६ देखि ४८ सीटको बीचमा जित्ने दाबी गरिएको छ भने कांग्रेसले ४१ देखि ५३ सीट जित्ने अनुमान छ । यहाँ कांग्रेस बीजेपीभन्दा अगाडि जाने एक्जिट पोलले देखाएको छ । अन्य पार्टीले बढीमा ४ सीटमात्र जित्ने देखिएको छत्तिसगढमा अहिले कांग्रेसको सरकार छ ।

कतिपय एक्जिट पोलले भने छत्तिसगढमा कांग्रेसको पूर्ण बहुमत आउने प्रक्षेपण गरेका छन् । यहाँ ९० सीट छन् र ४६ सीट ल्याउनेको बहुमत पुग्छ ।

एबीपी न्युज, न्युज २४, इण्डिया टुडे, टाइम्स नाउलगायत एजेन्सीले गरेको एक्जिट पोलमा सबैले छत्तिसगढमा कांग्रेस पहिलो हुने प्रक्षेपण निकालेका छन् ।

मध्यप्रदेशमा बीजेपी कि कांग्रेस ?

उता मध्यप्रदेशमा बीजेपीको अग्रता देखाइएको छ । २३० सीटको विधानसभाका लागि भएको निर्वाचनमा एबीपी न्युज र टाइम्स नाउले कांग्रेस अगाडि रहने दाबी गरेका छन् । उनीहरूका अनुसार कांग्रेसले १०९ देखि १३७ सीटको बीचमा जित्ने आँकडा निकालेका छन् ।

तर, अन्य एजेन्सीले भने बिजेपी १४० देखि १६२ को बीचमा रहने र कांग्रेस एक सय सीटभन्दा तल रहने प्रक्षेपण गरेका छन् । यहाँ अहिले बीजेपीकै सरकार छ । कांग्रेस छाडेर बीजेपीमा लागेको ज्योतिरादित्य सिन्धिया पछिल्लो समय बीजेपीबाट असन्तुष्ट भएकाले मध्यप्रदेशमा सिन्धिया परिवारको असर पर्न सक्ने अनुमान पनि कतिपयले गरेका छन् ।

राजस्थानमा कडा टक्कर

राजस्थानमा बीजेपी र कांग्रेसको कडा टक्कर देखिएको छ । अहिले त्यहाँ कांग्रेस सरकार छ । अशोक गलहोत नेतृत्वमा चुनाव लडेको कांग्रेसले हरेक चुनावमा सरकार बदलिने राजस्थानको परम्परा तोड्न खोजेको छ । अहिले त्यहाँ कांग्रेसको सरकार छ ।

अघिल्लो पटक १९९ मध्ये १ सय सीट जितेको कांग्रेस यसपटक खस्किने आँकलन गरिएको छ । एबीपीले कांग्रेस ७१ देखि ९१ सीटमा खुम्चिने सर्वेक्षण निकालेको छ भने न्युज २४ र इण्डिया टुडेले ८६ देखि ११३ को आँकडा निकालेका छन् ।

बीजेपीलाई एबीपीले ९४ देखि ११४ र न्युज २४ ले ७७ देखि १०१ सीटको बीचमा राखेका छन् । नाइम्स नाउले भने बीजेपीलाई १०८देखि १२८ को बीचमा देखाएको छ ।

राजस्थानमा अन्य दलको उपस्थिति कमजोर छ ।

तेलंगनामा कांग्रेसको धावा

तेलंगनामा भने त्यहाँका क्षेत्रीय दल बीआरएसको विरासतमा कांग्रेसले टक्कर दिएको छ । विआरएसको सीट ३८ देखि ५४ आउँने एक्जीट पोलले देखाउँदा कांग्रेसको ४९ देखि ६५ को बीचमा र बिजेपी ५ देखि १३ सीटमा रहने आँकलन छ ।

न्युज २४ टुडे चाणक्यको एक्जीट पोलमा कांग्रेसको बहुमत आउँने अनुमान छ भने इण्डिया टिभी एक्जिट पोलमा पनि कांग्रेस बहुमत नजिक देखिन्छ ।

मिजोरममा क्षेत्रीय दलको प्रतिस्पर्धा

मिजोरममा भने क्षेत्रीय दलको टक्कर छ । क्षेत्रीय दल मिजो नेशनल फ्रन्ट (एमएनएफ) र जोरम पिपुल्स भुभमेन्ट (जेपीएम) बीच कडा टक्कर हुँदा कांग्रेस बढीमा ८ सीट जित्ने र बीजेपीले एक सीट पनि नजित्ने आँकलन छ ।

४० सीटका लागि यहाँ निर्वाचन भइरहेको छ । अहिले यहाँ एनएनएफको नेतृत्वको सरकार छ । इण्डिया टुटे एक्जिट पोलले जेपीएमले २८ देखि ३५ सीट जित्ने आँकलन गरेको छ ।
तर, एबीपीले एनएनएफको १५ देखि २१ र जेपिएमको १२ देखि १८ देखाएको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर