‘घाँटी नहेरी हाड निल्न खोज्ने अनि ब्याज बढायो भन्दै सरकार र राष्ट्र बैंकलाई दोष थोपर्ने ?’ (भिडिओ) – Nepal Press

‘घाँटी नहेरी हाड निल्न खोज्ने अनि ब्याज बढायो भन्दै सरकार र राष्ट्र बैंकलाई दोष थोपर्ने ?’ (भिडिओ)

गभर्नर महाप्रसाद अधिकारी भन्छन्- नियमविपरीत ब्याज लिने बैंकविरुद्ध उजुरी गर्नुस्, फिर्ता गराउँछौं

काठमाडौं । नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले कुनैपनि बैंकले १६ प्रतिशत ब्याज लिएको भए सूचना दिन आग्रह गरेका छन् ।

शुक्रबार नेपाल आर्थिक पत्रकार समाज (सेजन) को २७ औं वार्षिकोत्सवको कार्यक्रममा बोल्दै उनले उद्योगी व्यवसायीहरुले बैंकहरूले नियमविपरीत ब्याज लिएको स्टेटमेण्ट लिएर राष्ट्र बैंकमा गुनासो गरे अनुगमन गरी ब्याज फिर्ता गराउने प्रतिबद्धता जनाए । उअघिल्लो वर्षमा लिइएको बढी प्रिमियम बापतको ४ अर्ब ७६ करोड रूपैयाँ व्यवसायीलाई फिर्ता गराएको उनले जानकारीसमेत दिए ।

गभर्नर अधिकारीले व्यवसायीहरूले बैंकहरूले लिँदै नलिएको १८ प्रतिशत ब्याजको विषयमा बोल्दा बजारलाई अनावश्यकरूपमा अराजकता फैलाउनेका लागि प्रोत्साहन मिल्ने बताएका छन् । ठूला व्यवसायीले बैंकहरुबाट लिएको कर्जाको ६ देखि ८ प्रतिशतभन्दा बढी ब्याज नतिरेको उनको दाबी छ ।

आफ्नो व्यवसाय नहेरी कर्जा लिँदा व्यवसायीलाई व्यक्तिगत रूपमा समस्या परेको भन्दै उक्त समस्या राज्य र राष्ट्र बैंकमाथि थुपार्नु गलत भएको उनले टिप्पणी गरे ।

‘उद्योगी व्यवसायीले बैंकहरुबाट ऋण लिनुहुन्छ तर आफ्नो योजना बनाउनु हुँदैन । मैले ऋण लिनुपर्ने कति हो र व्यवसायको साइज कति हो । व्यवसायीहरुले ऋण लिने बेलामा आफ्नो घाँटी हेर्नु हुँदैन । एकै चोटी हड्डीको साइज लिनुहुन्छ । अनि अड्कियो भने त्यो समस्या राज्यलाई र राष्ट्र बैंकतिर थुपर्नुहुन्छ । जुन कुरा गलत छ’, अधिकारीले भने, ‘बैंकहरूको ब्याजदर १० प्रतिशत भइराख्दा पनि ८ प्रतिशतसम्म ब्याजमा ऋण लिने व्यवसायीहरु पनि हुनुहुन्छ । नेताहरूकामा भाषण गर्दा व्यवसायीहरुले १८ प्रतिशत ब्याज लिएको छ भन्नुहुन्छ । यति बैंकहरुको १६ देखि १८ प्रतिशतसम्म ब्याज दिएको छ भने राष्ट्र बैंकको गुनासोमा त्यो स्टेस्टमेण्ट लिएर आउनुस् । व्यवसायीहरुसँग बेसी लिएको ब्याज बैंकबाट फिर्ता गराउँछौं ।’

गभर्नर अधिकारीले मुलुकको अर्थतन्त्र संरचनागत हिसाबले समस्यामा रहेको बताए । उहाँले मुलुकको अर्थतन्त्र रेमिट्यान्समा निर्भर रहेको भन्दै रेमिट्यान्सको निर्भरताका विषयमा सबैले गम्भीर भएर सोच्नुपर्ने बेला भएको उनको भनाइ छ । नीति तथा कार्यक्रम बजेट र मौद्रिक नीतिमा आन्तरिक उत्पादनलाई बढाउने स्पष्ट नीतिहरु उल्लेख भएको उनको दाबी छ ।

गभर्नर अधिकारीले भने, ‘अर्थमन्त्री र गभर्नरको सम्बन्ध, वित्त र मौद्रिक नीतिको सम्बन्धका विषयमा बढी कुरा आउँछन् । हाम्रो सम्बन्धमा अप्ठ्यारो र खोट केही छैन । बजेटमा भएको कुन चाहीँ नीतिलाई मौद्रिक नीतिले सपोर्ट गरेन । कुन कुरामा समस्या छ । राष्ट्र बैंकको मौद्रिक नीतिलाई राज्यको तर्फबाट कहाँबाट सहयोग भएन । त्यो कुरा मैले कहीँ पनि फिल गरेको छैन । जब मलाई फिल र समस्या छैन । भने रमाइलोको लागि कसैले पचाउँछन् कि भनेर त्यो समन्वयमा लेखेर के हुन्छ ?’

आर्थिक शिथिलताका कारण बैंकहरूको खराब कर्जामा समस्या आएको उनले सुनाए । व्यवसायीहरूले ऋण लिँदा आफ्नो क्षमता नहेरेकाले अहिले तिर्नुपर्दा केही समस्या परेको उनको भनाइ छ ।

‘बैंकिङ सिस्टम सुरक्षित छ । साउण्ड छ । आम नागरिकको मनोबल राम्रो बनाइरहेको छ । बैंकहरुमा भोलिको दिनमा पनि राष्ट्र बैंकको नीतिको कारण समस्या आउने छैन । वाह्य क्षेत्र इतिहासकै धेरै बलियो अवस्थामा छौं । १०.३ महिनाको वस्तु र सेवा आयात गर्नसक्ने क्षमता छ । राज्यका कुनैपनि अंग, निजी क्षेत्रको परियोजनाहरु अगाडि बढाउँदा विदेशी मुद्राको नपुग होला भनेर डराउनुपर्ने अवस्था छैन’, उनले भने ।

गभर्नर अधिकारीले बैंकको नेट एनपीए १.५ प्रतिशत भन्दा माथि नगएको बताए । नेपालको बैंकिङ क्षेत्रमा समस्या नभएको उनको भनाइ छ ।


प्रतिक्रिया

One thought on “‘घाँटी नहेरी हाड निल्न खोज्ने अनि ब्याज बढायो भन्दै सरकार र राष्ट्र बैंकलाई दोष थोपर्ने ?’ (भिडिओ)

  1. फटाहा व्यापारीहरूलाई यसरी नै जवाफ दिनुपर्छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर