भूकम्प प्रभावित बस्ती निर्माणको नेतृत्व गर्दै कांग्रेस नेता महर (तस्बिरहरु) – Nepal Press

भूकम्प प्रभावित बस्ती निर्माणको नेतृत्व गर्दै कांग्रेस नेता महर (तस्बिरहरु)

जाजरकोट । नेपाली कांग्रेसका केन्द्रीय सदस्य नैनसिंह महर भूकम्प प्रभावितको लागि अस्थायी आवास निर्माणमा खटिने भएका छन् । कांग्रेसले जाजरकोट र रुकुम पश्चिम गरी प्रभावितहरुलाई एक हजार अस्थायी आवास बनाउने निर्णय गरेको छ । सोहीअनुसार नेता महरले अब बस्ती निर्माणमा खट्न लागेका हुन् ।

बिहीबारबाट काम थालेको महरसहितको टोलीले केही टहरा निर्माण गरेको छ । काठमाडौंबाट राहत सामग्रीसहित उनी बुधबार भूकम्पपीडितका टहरा निर्माणका लागि जाजरकोट पुगेका हुन्। महर एक साता जाजरकोटमा भूकम्पपीडितकै माझमा रहने छन् ।

जाजरकोटका विभिन्न विद्यालयमा पुगेर महरले बिहीबार चिसोले कापिरहेका विद्यार्थीहरूलाई न्यानो लुगा प्रदान गरे। बिहीबार दिनभर उनी विद्यार्थीहरूमाझ मै रहे । नेपाल विद्यार्थी संघका पूर्वअध्यक्ष समेत रहेका महरले त्यहाँका शिक्षक र विद्यार्थीहरूसँग रहेर न्यानो लुगामात्र वितरण गरेनन्, विद्यार्थीहरूलाई शिक्षामा केन्द्रित हुन मनोपरामर्श पनि प्रदान गरे ।

दैविक विपत्ति अकल्पनीय हुने भएकाले त्यससँग जुध्दै सम्हालिनुको विकल्प नभएको महरको भनाइ थियो ।

कांग्रेसले इन्जिनियर, डकर्मीसहित सम्मिलित २५ वटा टोली भूकम्प प्रभावित दुई जिल्लाका विभिन्न क्षेत्रमा परिचालन गरेको छ । जाजरकोट पुगेका महरले भूकम्पपीडितको अवस्थाले आफूलाई निकै चिन्तित तुल्याएको बताएका छन् ।

उनले भने, ‘जाजरकोट भूकम्पपीडितको अवस्था काकाकुल रहेको छ । सरकारले भूकम्पपीडितलाई राहत प्रदान गर्न एकद्वार प्रणालीको विकास गर्नुपर्थ्यो। त्यो हुन नसकेको पाइयो । सरकारकै नेतृत्वमा एकमुष्ट राहत प्रदान गरिएको भए पीडितलाई सहज हुन्थ्यो । कनिकाछराइ गर्दा धेरैलाई जसलिने बाटोमात्र हुन्छ ।’

महरसँगै कांग्रेस नेताहरू राजिवविक्रम शाह, योगेन्द्र चौधरी, कुन्दन काफ्ले, नेविसंघ केन्द्रीय अध्यक्ष दुजांग शेर्पा, नेवि संघ नेता खडग विसीलगायत सक्रिय छन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर