मधेशको आर्थिक सम्भावनालाई केन्द्र सरकारले अवमूल्यन गरेको उद्योगी व्यवसायीको आरोप – Nepal Press

मधेशको आर्थिक सम्भावनालाई केन्द्र सरकारले अवमूल्यन गरेको उद्योगी व्यवसायीको आरोप

काठमाडौं । मधेश प्रदेशको आर्थिक सम्भावनालाई केन्द्र सरकारले अवमूल्यन गरेको भन्दै उद्योगी व्यवसायीहरुले असन्तुष्टि जनाएका छन् ।

नेपाल आर्थिक पत्रकार संघ (नाफिज)ले गरेको ‘मधेश प्रदेशका औद्योगिक/व्यवसायिक समस्या विषयक नाफिज संवाद’ मा मधेश प्रदेशका उद्योगी व्यवसायीले यस्तो असन्तुष्टि जनाएका हुन् ।

नेपाल उद्योग वाणिज्य महासंघ मधेश प्रदेश अध्यक्ष अशोक टेमानीले मधेस प्रदेश केन्द्र सरकारको प्राथमिकतामा नपर्दा उद्योगधन्दा, व्यापार र जनशक्ति पलायन भएको बताए ।

‘उद्योग पूर्ण क्षमतामा चल्न सकेको छैन, व्यापार गर्नेहरु पलायन भइरहेका छन्, काम गर्ने जनशक्ति विदेश हिंडिरहेका छन्,’ अध्यक्ष टेमानीले भने, ‘अर्थ व्यवस्था मेरुदण्ड बोर्डरमा छ । तर, नीति निर्माता काठमाडौंमा ।’

नेपालको आर्थिक क्षेत्रलाई नेपाल-भारत सीमा क्षेत्रले नियन्त्रण गरेको तर व्यापारीका नेतादेखि राजनीतिक नेतृत्व र नीति निर्माताले त्यो नबुझेको उनको भनाइ छ ।

‘सरकारको अवैज्ञानिक कर तथा भन्सार नीतिका कारण व्यापारी र उपभोक्ता दुवै मारमा छन्’, उनले भने ।

हाल सीमा क्षेत्रमा चोरी पैठारी मौलाउँदा औपचारिक रुपमा उद्योग र व्यवसाय गर्नेहरु गम्भीर समस्यामा परेको महासंघ मधेश प्रदेश समितिको निष्कर्ष छ ।

कच्चापदार्थ थोरै मात्रामा ल्याउँदा १५ प्रतिशत र धेरै मात्रामा आयात गर्दा १० प्रतिशत पार्ने नीतिले साना उद्योग व्यवसाय चौपट भएको उनको दाबी छ । अध्यक्ष तेमानीले भने, ‘राज्यको साना उद्योगलाई सहयोग गर्ने नीति नहुनु अर्को समस्या हो ।’

संघका वरिष्ठ उपाध्यक्ष एवम् जनकपुर उद्योग वाणिज्य संघका अध्यक्ष जीतेन्द्रकुमार महासेठले मधेशको कृषि, उद्योग, धार्मिक पर्यटनको सम्भावना केन्द्र सरकारको प्राथमिकतामा नपरेको गुनासो गरे ।

आर्थिक सम्भावना र पर्यटनको प्रचुर लाभका लागि केन्द्र सरकारसँग योजना नभएको उनको भनाइ छ । महासेठले भने ,‘पत्याउनुस् या नपत्याउनुस्, मधेशका राम्रो खेतीयोग्य जमिनसमेत बाँझो हुने अवस्था पैदा हुँदैछ ।’

उद्योग व्यापार र मधेशको अर्थतन्त्रबारे केन्द्र सरकारलाई झकझक्याउन र अन्तरप्रदेश आर्थिक सम्भावना खोज्न काठमाडौं आएको महासंघ मधेशका प्रतिनिधिले सरकारलाई १५ बुँदे ध्यानाकर्षणपत्र पनि बुझाएको छ ।

मधेशमा ३ वटा नयाँ औद्योगिक क्षेत्रको स्थापना गर्न, निजगढ विमानस्थल निर्माण गर्न, विभिन्न स्थानमा रहेको भन्सार नाकाको स्तरोन्नति गर्न, सिमरा विमानस्थलको स्तरोन्नति गर्न महासंघले सरकारसँग माग गरेको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर