उज्बेक युवती अफरोजाको ‘यौन यातना’को कथाले भन्छ- मानव तस्करको ट्रान्जिट बन्दैछ नेपाल – Nepal Press

उज्बेक युवती अफरोजाको ‘यौन यातना’को कथाले भन्छ- मानव तस्करको ट्रान्जिट बन्दैछ नेपाल

नयाँ दिल्ली । दक्षिण दिल्लीको एक व्यस्त सडकमा जब गाडी उज्बेक पसल हुँदै अगाडि बढ्छ, अफरोजालाई त्यो बाटो देखेपछि याद आउन थाल्छ, जहाँ उनलाई कुनै समय बन्धक बनाइएको थियो ।

उज्बेकिस्तानको अन्दिजानमा रहँदै आएकी अफरोजा जनवरी २०२२ मा दिल्ली पुगेकी थिइन् । उनीहरुलाई मानव तस्करले दुबई-नेपाल हुँदै दिल्ली ल्याएका थिए ।

यहाँ उनीहरुलाई विभिन्न फ्ल्याट र होटलमा राखेर यौनजन्य काम गराउन बाध्य पारिएको थियो ।

अगस्ट २०२२ मा दिल्ली पुलिस र गैरसरकारी संस्था ‘मानवता सशक्तीकरण’ को एक अभियानपछि उनलाई रिहा गरिएको थियो ।

अफरोजा त्यसबेलादेखि एनजीओको रेखदेखमा बस्दै आएकी छन् र उज्बेकिस्तानबाट आफूलाई दिल्ली ल्याएका मानव तस्करहरूविरुद्ध उनी कानूनी लडाइँ लडिरहेकी छन् ।

अफरोजालाई राखिएकाे घर ।

अफरोजालाई घरको नम्बर याद थिएन । तर, उनले सम्झँदै धेरै गल्लीहरू पार गर्दै, कैयौं पटक बाटो हराएपछि उनी अन्ततः दिल्लीको नेब सराय क्षेत्रमा रहेको अग्लो भवन नजिकै उभिन्छिन्, जहाँ उनलाई नेपालबाट ल्याएपछि पहिलो पटक राखिएको थियो ।

उनको आँखामा आँशु थियो, उनको सास भारी भएको थियो । केही बेरपछि आँखा क्रोधमा परिणत भयो । हतार–हतार पाइलाहरू चालेर उनी फ्ल्याटको ढोका बाहिर उभिइन्, जहाँ उनलाई यौन यातना दिइएको थियो ।

उनी भन्छिन्, ‘जब मलाई यहाँ ल्याइयो, त्यहाँ पाँच जना केटी पहिले नै थिए, उज्बेकिस्तानबाट मलाई पहिले दुबई, त्यहाँबाट नेपाल र त्यसपछि सडक मार्गबाट दिल्ली लगियो । म थाकेको थिएँ र दुई दिन आराम गर्न दिइयो । मलाई शपिङ गराइयो, गिफ्ट भनेर छोटो लुगा दिइयो, दुई दिनपछि जबरजस्ती फरक फरक पुरुषसँग सेक्स गर्न लगाइयो, अस्वीकार गर्दा कुटपिट गरिएको थियो । दिल्ली पुगेपछि मैले सुरुका दुई दिनमात्र आराम गरें, त्यसपछि मलाई एक दिन पनि शान्तिपूर्वक बस्न दिइएन । कहिले फ्ल्याटमा राखिन्छ, कहिले होटेलमा राखिन्छ ।’

आफूलाई बन्धक बनाइएकाे फ्ल्याटमा अफराेजा ।

हरेक वर्ष मानव तस्करहरूले मध्य एसियाका सयौं युवतीहरुलाई रोजगारीको बहानामा नेपाल हुँदै भारत ल्याएर जबरजस्ती यौन व्यवसायमा लगाउँछन् । धेरै केटीहरूलाई मेडिकल भिसा र पर्यटक भिसामा पनि ल्याइएको छ ।

अदालतमा दिएको बयानअनुसार अफरोजालाई सामाजिक सञ्जालमार्फत सम्पर्क गरी दुबईमा जागिरको प्रस्ताव गरिएको थियो । मानव तस्करहरूलाई उनको बिरामी आमा र परिवारको कमजोर आर्थिक अवस्थाको बारेमा थाहा थियो ।

उनी भन्छिन्, ‘दुबईमा जागिरको अफर मैले स्वीकार गरें, दिल्ली पुग्दासम्म मलाई थाहा थिएन कि मलाई यो कामको लागि ल्याइएको हो, यदि मलाई अलिकति पनि अनुभूति भएको भए म कहिल्यै पनि आउने थिइनँ ।’

अवैध यौन कार्यमा अफरोजा जस्ता शोषित महिलाहरुको ‘नियमित सप्लाइ’ र शोषण गर्ने दलाल र मानव तस्करहरूको संगठित सञ्जालमार्फत चलाइन्छ ।

मानव बेचबिखनविरुद्ध काम गर्ने हेमन्त शर्मा प्रश्न गर्छन्, ‘अवैध रूपमा भारत प्रवेश गर्ने र भिसा सकिएपछि पनि बस्नेहरू प्रहरी र अनुसन्धान निकायको नजरबाट कसरी टाढा भइरहेका छन् भन्ने ठूलो प्रश्न हो ?

हेमन्त शर्मा ।

मध्य एसियाबाट बेचबिखनमा परेका युवतीहरूले सामना गर्नुपरेको ठूलो चुनौती भनेको उनीहरू न भारतको स्थानीय भाषा जान्छन् न त यहाँ कसैलाई चिन्छन् ।

बीबीसीले मानव बेचबिखनको शिकार भएका केटीहरूसँग कुरा गर्दा उनीहरुको आफ्नो पासपोर्ट खोसिएको र उनीहरूलाई ‘जेल पठाउने’ धम्की दिएको दाबी गरे ।

अजिजाको जालो

अफरोजालाई भारत ल्याएका मानव तस्कर अजिजा शेर हुन्, जसलाई अन्य धेरै नामले पनि चिनिन्छ । अगस्ट २०२२ मा दिल्ली पुलिसको कारबाहीपछि उनी फरार भएकी थिइन् ।

दिल्ली प्रहरीले लामो अपरेशनपछि तुर्कमेनिस्तानकी अजिजा शेर र उनका अफगानी मूलका श्रीमान् शेरगेट अफगानलाई गोवाबाट पक्राउ गर्‍यो । प्रहरी अनुसन्धानपछि अजिजाको अन्य धेरै नाममा बनेको भारतीय परिचयपत्र र बैंक खाता पनि बाहिर आयो ।

पूर्वी दिल्लीकी डीसीपी अमृता गुलिगोथ भन्छिन्, ‘अजिजा एक घोषित अपराधी हुन् । दिल्ली प्रहरीले उनलाई पक्राउ गर्न एक वर्षदेखि प्रयास गरिरहेको थियो । हाम्रो टोलीले प्राविधिक निगरानी र मानव खुफियामार्फत गोवामा रहेको जानकारी प्राप्त भएपछि पक्राउ गरेको थियो ।’

पूर्वी दिल्लीकी डीसीपी अमृता गुलिगोथ ।

अफरोजा अजिजाको पहिलो शिकार होइनन् । उनी जस्ता धेरै केटीलाई अजिजाबाट बचाइएको थियो । जसमध्ये तेहमिना पनि एक हुन् । सन् २०२० मा दिल्ली आएकी तेहमिनालाई पनि जागिरको प्रलोभनमा बोलाइएको थियो । तर, यहाँ पुगेपछि उनीहरुलाई यौन व्यवसायमा धकेलियो ।

तेहमिना भन्छिन्, ‘म नराम्ररी बोस अजिजाको चंगुलमा फसेकी थिएँ । एक पटक एक राम्रो ग्राहक मसँग आयो र मैले उसलाई यो चंगुलबाट बाहिर निकाल्न अनुरोध गरें । तर, त्यहाँ अजिजा शेर पुगेका थिए । त्यसपछि मलाई नराम्ररी कुटपिट गरियो र भिडियो बनाइयो । यो भिडियो अरू केटीहरूलाई पनि देखाइयो, ताकि उनीहरू पनि डराऊन् ।’

तेहमिनालाई यातना दिइँदै ।

तेहमिनाविरुद्ध गुरुग्राम अदालतमा विदेशी कानून (भिसाविना भारतमा बसेको) अन्तर्गत मुद्दा दर्ता भएको छ । आफू भारतमै अलपत्र परोस् भनेर दलालले आफूविरुद्ध मुद्दा दायर गरेको उनको दाबी छ ।

अजिजा शेर पक्राउपछि तेहमिनालाई केही राहत मिलेको उनले बीबीसीसँग भनिन् । अधिक यौन सम्पर्कका कारण तेहमिनाको स्वास्थ्य बिग्रिएपछि पाठेघरको शल्यक्रिया गर्नुपरेको थियो ।

तेहमिना र अफरोजा जस्ता केटीहरूलाई एक दिनमा ६ देखि ९ जना ग्राहकसँग यौन सम्पर्क गर्न लगाइन्थ्यो । अफरोजाले सन् २०२२ को अगस्टमा भागेर उज्बेकिस्तानको दूतावास पुगेर सहयोग खोज्ने प्रयास गरेकी थिइन् ।

उनले सहयोग लिन नपाउँदै दूतावास बाहिरबाट बन्दुक देखाएर उनलाई लगियो । दिल्लीको चाणक्यपुरी थानाको प्रहरीले घटनाको अनुसन्धान गरिरहेको छ ।

शरीरको दाग देखाउँदै अफरोजा भन्छिन्, ‘पैसा मागेपछि ब्लेडले काटेर चुरोटले जलाएको थियो ।’

मानव तस्करहरूले अफरोजालाई नेपाल हुँदै ल्याएपछि तेहमिना पहिले नै उनीहरूको चपेटामा थिइन् ।

हेमन्त शर्मा भन्छन्, ‘पहिलो चुनौती भनेको नेपाल सीमा हो, जहाँबाट केटीहरू भारत प्रवेश गर्छन् । यी युवतीहरू विनाभिसा भारत प्रवेश गर्छन् र दिल्ली पुग्छन् । त्यसपछि दिल्ली र अन्य ठूला शहरहरूमा यौन कार्य गर्न लगाइन्छ ।’

तेहमिना आफ्नो देश फर्कन पर्खिरहेकी छन् । तर, उनीविरुद्ध गुरुग्राम अदालतमा विदेशी कानूनअन्तर्गत मुद्दा चलिरहेको छ । आफूलाई फसाउन यो मुद्दा दायर गरिएको उनी बताउँछिन् ।

अफरोजा र तेहमिना आफ्नो देश फर्किने प्रतीक्षामा छन् । तेहमिना भन्छिन्, ‘मेरो देश पुगेपछि सबैभन्दा पहिले आफ्नो देशको माटोलाई चुम्बन गर्छु र कहिल्यै देश नछोड्ने कसम खान्छु ।’

अफरोजा भन्छिन्, ‘म आमालाई अँगालो हालेर धेरै बेर रुन्छु । मैले उनलाई हरेक दिन धेरै मिस गरेको छु । मेरो जीवनको सबैभन्दा ठूलो इच्छा आमालाई अँगालो हाल्नु हो ।’

मध्य एसियाबाट कति केटी भारतमा बेचबिखन भएका छन् भन्ने ठोस तथ्यांक भने छैन । तर, यो संख्या हजारौंमा हुनसक्छ ।

अनुवादः अनिशा तिवारी

(बीबीसी हिन्दीको रिपोर्ट)


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *