जिल्लास्तरीय फुटबलमा लम्की चुहा बीएस १५ र गौरिगङ्गा विजयी
कैलाली । प्रथम मुख्यमन्त्री पालिका स्तरीय जिल्लाव्यापी फुटबल प्रतियोगिता २०८० मा आज लम्की चुहाको बी एस १५ टीम र गौरिगङ्गा नगरपालिकाको टीम विजयी भएका छन् ।
प्रतियोगिताको पहिलो खेलमा लम्की चुहा बी एस १५ टीमले घोडाघोडी रातो टीमलाई ३–० गोल अन्तरले पराजित गरेको छ भने दोस्रो खेलमा टीकापुर नगरपालिका बी टीमलाई गौरिगङ्गा नगरपालिकाको टीमले २–० गोल अन्तरले पराजित गरेको छ ।
लम्की चुहा बी एस १५ शुशान्त के सि म्यान अफ द म्याच बन्न बने । उनले प्रतियोगितामा २ गोल गरे । दोस्रो खेलमा गौरिगङ्गाका पुरन भुल म्यान अफ द म्याच बने । प्रतियोगितामा शनिबार ३ खेल हुने भएका छन् । शनिबार पहिलो खेल घोडाघोडी नगरपालिका निलोका विरुद्ध लम्की चुहा राजिपुर, दोस्रो खेल धनगढी उपमहानगरपालिकाका विरुद्ध कैलारी गाउँपालिका र तेस्रो खेल बर्दगोरिया एका विरुद्ध भजनी नगरपालिकाबीच हुने आयोजकले जानकारी दिएको छ ।
प्रतियोगिताको विजेता टीमले नगद २ लाख १ हजार, ट्रफी प्राप्त गर्नेछ । उपविजेताले १ लाख ५ हजार तथा ट्रफी पाउनेछ ।
यसैगरी, प्रतियोगिताकै उत्कृष्ट खेलाडीले नगर २० हजार, उत्कृष्ट गोल रक्षकले १५ हजार, सर्वाधिक गोलकर्ताले १५ हजार, उत्कृष्ट डिफेन्डरले १५ हजार तथा प्रतियोगिताकै उदयमान खेलाडीले पनि नगद रु १५ हजारसहित ट्रफी पाउनेछन् ।