मध्य प्रदेशमा कांग्रेस-बिजेपी घोचपेच, दिग्विजय भन्छन्- हाम्रोमा अब सिन्धिया र गद्दार छैनन्
काठमाडौं । भारतका पाँच राज्यमा भएको निर्वाचनको मतगणना आइतबार शुरु हुँदैछ । पाँचमध्ये अहिले देशको ध्यान बढिजसो मध्य प्रदेशमा गएको छ ।
मध्य प्रदेशको एक्जिट पोलको आँकडा पनि फरक फरक आएपछि कांग्रेस र बिजेपीका नेताहरू थप आरोप प्रत्यारोपमा छन् ।
एबीपीलगायत केही टेलिभिजनको एक्जीट पोलले कांग्रेसको सरकार बन्ने आँकलन गरेका छन् । तर अरुले कडा प्रतिस्पर्धामा बिजेपी अगाडि देखाएका छन् ।
यसैबीच कांग्रेस नेता दिग्विजय सिंहले कांग्रेसमा अब कोही गद्दार बाँकी नरहेकाले मध्य प्रदेशमा जित सुनिश्चित रहेको टिप्पणी गरेका छन् ।
उनले भनेका छन्– कांग्रेसमा अब कोही सिन्धिया बाँकी छैनन् यसैले कोही गद्दार पनि छैनन् । अब मध्य प्रदेशमा हामी वहुमतको सरकार बनाउँछौं र कमलनाथजी मुख्य मन्त्री बन्छन् ।
यसअघि बिजेपी नेता ज्योतिरादित्य सिन्धियाले मध्य प्रदेशमा कांग्रेसको दाल नगल्ने टिप्पणी गरेका थिए । उनको निवासमा बिजेपी अध्यक्ष जेपी नड्डालाई स्वागत गरेपछि सिन्धियाले मध्य प्रदेशमा बिजेपीलाई कसैले हराउन नसक्ने बताए ।
सिन्धियालाई कांग्रेसले भने गद्दारको उपाधी दिएको छ । उनी दुई वर्षअघि मात्र कांग्रेस छाडेर बिजेपीमा गएका थिए । कुनैबेला कांग्रेसबाट प्रधानमन्त्रीका दाबेदार रहेका वरिष्ठ नेता माधवराव सिन्धियाका छोरा ज्योतिरादित्य गत निर्वाचन हारेपछि बिजेपीमा गएका थिए । उनी अहिले केन्द्रीय मन्त्री समेत छन् ।
सिन्धिया परिवारको नाता नेपालमा पनि छ । ज्योतिरादित्यकी फूपू उषा राजे सिन्धिया राप्रपा नेता पशुपति शमशेरकी पत्नी हुन् । उनीहरु ग्वालियरका राजाका परिवार हुन् ।
मध्यप्रदेशका २३० सीटको विधान सभाका लागि भएको निर्वाचनमा एबीपी न्युज र टाइम्स नाउले कांग्रेस अगाडि रहने दाबी गरेका छन् । उनीहरूका अनुसार कांग्रेसले १०९ देखि १३७ सीटको बीचमा जित्ने आँकडा निकालेका छन् । तर कांग्रेस नेता सिंहले भने त्यो भन्दा बढी सीट जित्ने दाबी गरे ।
यहाँ अहिले बीजेपीकै सरकार छ र शिवराजसिंह मुख्यमन्त्री छन् । बिजेपी जितेमा शिवराज नै दोहोरिने सम्भावना छ भने कांग्रेसले जितेमा कमलनाथ मुख्यमन्त्री बन्नेछन् । मध्यप्रदेशको निर्वाचनले भारतको आगामी आम निर्वाचनलाई समेत असर पर्ने भएकाले दुवै ठूला दलले शक्ति केन्द्रित गरेका थिए ।