नवराज विकसहित ६ जना हत्याको मुद्दामा जिल्ला अदालत रुकुम पश्चिममा सुनुवाइ सुरु
काठमाडौं । रुकुम पश्चिम चौरजहारी सोतीमा भएको नवराज विकसहित ६ जनाको हत्याको घटनाको आइतबारदेखि सुनुवाइ सुरु भएको छ । अन्तरजातीय प्रेमको विषयलाई लिएर तीन वर्षअघि २०७७ जेठ १० गते रुकुमको सोती गाउँमा नवराजसहित ६ जनाको हत्या घटनाको मुद्दामा आइतबारदेखि निरन्तर सुनुवाइ सुरु भएको जिल्ला अदालत अदालत रुकुम पश्चिमले जनाएको छ ।
सुनुवाइ जिल्ला न्यायाधीश खड्कबहादुर केसीको इजलासमा सुरु भएको र पीडित पक्षको तर्फबाट जिल्ला सरकारी वकिल कार्यालयका सहायक जिल्ला न्यायाधिवक्ता राजेन्द्र रेग्मीले बहस गरिरहेको जिल्ला अदालत रुकुम पश्चिमका सूचना अधिकारी गोविन्दप्रसाद कोइरालाले नेपाल प्रेसलाई जानकारी दिए । उनका अनुसार सुनुवाइको लागि आज पहिलो दिन सरकारी वकिल र पीडित पक्षका करिव १६ जना भन्दा बढी कानुन व्यवसायीले बहस गर्नेछन् ।
उक्त घटनामा मारिएका नवराज विकसहित ६ जना पीडितको परिवारका तर्फबाट बहस गर्न वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठी रुकुम पश्चिम पुगिसकेका छन् । २०७७ साल जेठ १० गते जाजरकोटको रानागाउँका २१ वर्षीय नवराज विक साथीसहित आफ्नी प्रेमिका रुकुम पश्चिमको चौरजहारी नगरपालिका–८ सोती गाउँकी मल्ल थरकी युवतीसँग भगाएर विवाह गर्नका लागि पुगेका थिए ।
दलितले ठकुरीकी छोरीसँग विवाह गर्न लागेको भन्दै सोती गाउँका स्थानीयले नवराजसहित उनका साथीलाई लेखेटेर मारेका थिए । उक्त घटनामा ६ जनाको ज्यान गएको थियो भने १२ जना घाइते भएका थिए । मृतकको शव भेरी नदीमा भेटिएको थियो।