मध्यप्रदेशको चुनावमा ‘लाड्ली बहना’को काम तमाम – मोदीकै खल्तीमा छ मुख्यमन्त्रीको नाम – Nepal Press

मध्यप्रदेशको चुनावमा ‘लाड्ली बहना’को काम तमाम – मोदीकै खल्तीमा छ मुख्यमन्त्रीको नाम

नयाँ दिल्ली । मतगणनाको प्रारम्भिक रुझानदेखि नै बहुमततर्फ अग्रसर बिजेपीले मध्य प्रदेशको मुख्यमन्त्री कसलाई बनाउँछ भन्ने बहस शुरु भएको छ । २३० सीटमध्ये बिजेपीले १६० भन्दा बढी सीटमा शुरुदेखि नै अग्रता लिइरहेको छ ।

यस पटक निर्वाचन भएका ५ मध्ये सबैभन्दा धेरै सीट रहेको र आगामी आम निर्वाचनलाई समेत प्रभावित पार्ने मानिएको मध्य प्रदेशमा बिजेपीले लगातार जित निकालेको छ ।

अब मुख्यमन्त्री शिवराज सिंह चौहानलाई नै बनाउँछ वा अन्य अनुहार ल्याउँछ भन्ने अन्यौल कायमै छ । किनकि यस पटक बिजेपीले मध्य प्रदेशमा चुनावअघि मुख्यमन्त्रीको उम्मेदवार तोकेको थिएन ।

चौहानले अघि सारेको ‘लाडली बहन’ (प्यारी बहिनी) योजनाले बिजेपीलाई जिताएको दाबी समेत गरिएको छ । प्रदेशभित्र महिला र बच्चाको स्वास्थ्य तथा पोषण र उनको आर्थिक स्वावलम्बनका लागि यो योजना अघि सारिएको हो ।

चौहानले विजयोत्सव समेत मनाइसकेका छन् । चुनावी मतगणनामा निरन्तर अग्रता लिएसँगै प्रदेश पार्टी कार्यालयमा चौहानसहित अन्य नेता भेला भएका छन् ।

मध्य प्रदेशको मुख्यमन्त्रीका रूपमा केन्द्रीय पर्यटन मन्त्री ज्योतिरादित्य सिन्धिया र नरेन्द्र तोमडको पनि चर्चा आइरहेको छ । सिन्धिया केही वर्षअघिमात्र कांग्रेस छाडेर बिजेपीमा गएका हुन् ।

मध्य प्रदेशको मुख्यमन्त्री नरेन्द्र मोदीको खल्तीबाट निस्किने भन्दै यहाँ विश्लेषकहरूले चौहानकै निरन्तरताको सम्भावना पनि देखाएका छन् । उनी १८ वर्षदेखि मुख्यमन्त्री छन् र धेरैले उनकै नेतृत्वमा बिजेपीले चुनाव जितेकोले हकदार उनै रहेको बताइरहेका छन् । तर बिजेपीकै अन्य नेता भने मोदीको नेतृत्वमा बिजेपीले जितेकाले उनले नै मुख्यमन्त्री तोक्ने दाबी गरिरहेका छन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर