गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलबाट नियमित उडानको व्यवस्था गर्न ट्राभल्स एन्ड टुर एजेन्टहरुको माग – Nepal Press

गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलबाट नियमित उडानको व्यवस्था गर्न ट्राभल्स एन्ड टुर एजेन्टहरुको माग

रूपन्देही । रूपन्देहीको भैरहवास्थित गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा नियमित जहाज सञ्चालन गर्न गराउन माग गर्दै नेपाल एसोसियसन अफ ट्राभल्स एन्ड टुर एजेन्ट (नाट्टा) लुम्बिनी प्रदेशको प्रतिनिधिमण्डलले नेपाल वायु सेवा निगममा ज्ञापनपत्र बुझाएको छ ।

नाट्टाका निवर्तमान अध्यक्ष सागर अधिकारी र पूर्वअध्यक्ष सञ्जीव जोशीको नेतृत्वमा काठमाडौं गएको टोलीले निगमका नायब महाप्रबन्धक जनकराज कालाखेतीलाई ज्ञापनपत्र बुझाउँदै जतिसक्दो छिटो भैरहवाबाट नियमित उडान गराउन माग गरेको छ ।

उक्त ज्ञापनपत्र बुझ्दै नायब महाप्रबन्धक कालाखेतीले यसमा निगम सकारात्मक रहेको र सरकारले सहजीकरण गरेमा सञ्चालनमा लाग्ने जानकारी दिएको प्रतिनिधिमण्डलका एक सदस्यले बताए ।

कालाखेतीले निगमसँग चार वटामात्रै जहाज भएकाले केही समस्या भएको तर व्यवसायीले चासो राखेमा उडान पहल गर्ने बताएका थिए ।

४३ अर्बभन्दा बढी लगानी गरेको भैरहवा विमानस्थलमा निगमले भैरहवा-काठमाडौं र भैरहवा-दिल्ली उडान गरेमा फुल बुकिङ गराउन सिङ्गो नाट्टा र ट्राभल्स व्यवसायी लागिपर्ने प्रतिनिधिमण्डलले बताए ।

भैरहवाबाट बुद्ध, यती, श्री एअरलायन्सका गरी १५ वटा जहाजले उडान भरिरहेको बेला नेपाल वायुसेवा निगमका जहाज पनि सञ्चालन भए जहाज सीट फुल बनाउन सहयोग गर्ने पूर्वअध्यक्ष सञ्जीव जोशीले आश्वासन दिए ।

प्रतिनिधिमण्डलमा नाट्टा लुम्बिनीका उपाध्यक्ष कुलचन्द्र पाण्डे, महासचिव अञ्जन श्रेष्ठ, नवलपरासी च्याप्टर अध्यक्ष भोला पराजुली, नाट्टा कार्यसमिति सदस्य वरुण ज्ञवाली र प्रेस सल्लाहकार नरेश केसी सहभागी छन् ।

प्रतिनिधिमण्डलले प्रधानमन्त्री, पर्यटनमन्त्री, श्रममन्त्री, क्यानका महाप्रवन्धक, विभिन्न एअरलायन्सका प्रमुखसँग भेटेर भैरहवा विमानस्थलबाट अन्तर्राष्ट्रिय नियमित उडानको लागि पहल गर्न लिखित रुपमा ज्ञापनपत्र बुझाउने जनाएको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर