भूकम्पपछि महिला, बालबालिका र सुत्केरीहरु जोखिममा भएको भन्दै अनेमसंघले गरायो सरकारको ध्यानाकर्षण – Nepal Press

भूकम्पपछि महिला, बालबालिका र सुत्केरीहरु जोखिममा भएको भन्दै अनेमसंघले गरायो सरकारको ध्यानाकर्षण

काठमाडौं । अखिल नेपाल महिलासंघ केन्द्रीय कमिटिले जाजरकोटमा आएको शक्तिशाली भूकम्पपछि त्यहाँका महिला, बालबालिका र सुत्केरीहरु जोखिममा परेको भन्दै गृह मन्त्रीको ध्यानाकर्षण गराएको छ ।

सुत्केरी महिला र नवजाता शिशुहरुको स्वास्थ्य अवस्था विग्रिएको, महिलाहरु जोखिममा परेको भन्दै उनीहरुका लागि विशेष सुरक्षा सतर्कता बढाउन आग्रह गरेको हो । भुकम्पपछि अस्थायी टहरामा रात विताइरहेका महिलाहरुमाथि यौन जन्य घटना भएका कुरा सार्वजनिक भएकाले महिला सुरक्षाकर्मीको संख्या बढाइ त्यस्ता घटना हुन नदिन विशेष तयारी गर्न आग्रह गरेको छ ।

अखिल नेपाल महिलासंघको एक टोलि मन्त्रालयमा पुगेर गृहमन्त्री नारायणकाजी श्रेष्ठलाई ध्यानाकर्षण गराएको हो । अनेमसंघ अध्यक्ष टुकाभद्र हमाल, उपाध्यक्ष शर्मिला कार्की, महासचिव पेम्बा लामा सहितको टोलिले गृहमन्त्री श्रेष्ठलाई ज्ञापनपत्र बुझाउँदै ध्यानाकर्षण गराएको हो ।

अनेमसंघले भुकम्पका कारण आफन्त गुमाएका, अंगभंग भएका परिवारका सदस्यहरुलाई मनोपरामर्श सेवा आवश्यक भएको भन्दै स्वास्थ्य मन्त्रालयसंग समन्वय गरेर त्यसका लागि पनि पहल गर्न आग्रह गरेको छ । जाडो बढेसँगै सुत्केरी, अस्वस्थ्य र वृद्धहरुलाई थप कठिन भइरहेको तर्फ अनेमसंघले चिन्ता व्यक्त गरेको हो ।

टोलीले अहिले सम्म भुकम्प प्रभावित क्षेत्रमा सरकारका तर्फवाट भइरहेका कामहरुका बारेमा पनि गृहमन्त्री समक्ष जिज्ञासा राखेको थियो । उपाध्यक्ष शर्मीला कार्कीले सो क्षेत्रमा काम गर्न अनेमसंघ सरकारसंग सहकार्य गर्न तयार रहेको बताइन् । साथै अनेमसंघले आफ्नो तर्फवाट पनि काम गरिरहेको जानकारी गराइन् ।

अनेमसंघले निर्वाचन ऐनका बारेमा पनि जिज्ञासा राखेको थियो । गृहमन्त्रालयमा आइपुगेको निर्वाचन ऐनलाई महिला मैत्री बनाउने तर्फ पनि अनेमसंघले ध्यानाकर्षण गराएको छ ।

गृहमन्त्री श्रेष्ठले आफुहरु यस विषयमा निकै सम्बेदनशिल रहेको बताउँदै भुकम्प प्रभावित क्षेत्रमा भइरहेका कामहरुका बारेमा जानकारी दिए । सम्बन्धित मन्त्रालयसँग समन्वय गरेर अस्थायी टहरा निर्माणको काम भइरहेको, सुत्केरी, वृद्दवृद्धा र अस्वस्थ्यहरुका लागि विशेष प्रकारको टेण्ट उपलब्ध गराइएको जानकारी दिए ।

स्वास्थ्य मन्त्रालयसंग समन्वय गरेर मनोपरामर्श सेवा लगायतका अन्य स्वास्थ्य सेवाहरुका लागि पहल गरिएको बताए । सबै पार्टी र संगठनहरुले पुर्याएको सहयोगका लागि पनि उनले धन्यवाद दिए ।

 


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर