मिसन २०८४: भोलिवादको झोली – Nepal Press

मिसन २०८४: भोलिवादको झोली

प्रतिनिधिसभा निर्वाचनको एक वर्ष पुग्दानपुग्दै एकथरि दलहरू ‘मिसन २०८४’को प्रचारमा छन् । उनीहरूको तर्क छ- ‘यस पटकको निर्वाचनमा बहुमत ल्याउन सकिएन, २०८४ को निर्वाचनमा बहुमत ल्याउँछौं र सत्ता सञ्चालन गर्छौं ।’ यो तर्कले जनमतको उपेक्षा गरिरहेको प्रतीत हुन्छ ।

मिसन २०८४ सुनिरहँदा प्रसिद्ध साहित्यकार भैरव अर्यालको ‘जय भोलि’ निवन्धको स्मरण आउँछ । अर्यालका अनुसार आजको आलस्य मानिस आफ्ना सामुन्ने आइपरेका कर्तव्य र उत्तरदायित्वलाई परपर पन्छाएर आफूसुखी बन्ने सपना देखिरहेको हुन्छ । ऊ तुरून्तै गर्न सकिने कामलाई पनि भोलि-भोलि भनी तमाम काम साँचेर आफू र समाजलाई नै निष्क्रियतातर्फ धकेलिरहेको हुन्छ ।

अर्यालले आफ्नो व्यंग्यको पहिलो निसाना सिंहदरबारलाई बनाएका थिए, जहाँ हरेक मन्त्रालय, विभाग, तला, कोठा र टेबुलमा सानोभन्दा सानो कामका लागि भोलिको भाका राखिन्छ । यस कार्यालयको सिको गरेर ‘राजाको काम कहिले जाला घाम’ भने झैं सबै निकायका कर्मचारी पनि देश र जनताको काम छिटो फत्ते गर्नुको सट्टा कार्यालयको समय गुजार्नुतिरै ध्यान दिन्छन् ।

नेपाली समाजमा भोलिवाद भयानक रोगका रूपमा स्थापित हुँदैछ । आज, भर्खरै, तुरून्तै गर्ने कामलाई पनि ‘भोलि गरौंला’, ‘भोलि भेटौंला’, ‘भोलि आउनुस्’ जस्ता भनाइ सामान्य हुन थालेका छन् । राजनीतिक दलहरू बैठक बस्छन्, सहमति जुट्दैन । अनि भन्छन्, ‘अर्को बैठक भोलि बस्नेछ ।’ प्रशासन, शिक्षा, स्वास्थ्य, सामाजिक जीवनका क्षेत्रहरूमा पनि भोलि प्रवृत्ति झांगिँदो छ ।

पुराना दलहरूको विकल्पमा ‘जान्नेलाई छान्ने’ भनिएकाहरू भोलिवादको सबैभन्दा ठूलो दलदलमा फसेका छन् । जान्नेलाई छान्ने नारा दिनेहरू नै सबैभन्दा बढी नजान्ने देखिएका छन् । समाजका सयौं क्षेत्रहरूमध्ये उनीहरूको जान्ने एउटै क्षेत्र छ, त्यो हो- सूचना प्रविधि । त्यसबाहेक हरेक क्षेत्रमा उनीहरू सिकारूमात्र देखिएका छैनन्, कतिपय ठाउँमा त आधारभूत विषयको ज्ञानसमेत नराख्ने अवोध देखिएका छन् ।

निर्वाचन सम्पन्न भएको भर्खर एक वर्ष पूरा भएको छ । तर, जनताबाट त्यति ठूलो विश्वासका साथ निर्वाचित भएका जनप्रतिनिधि अहिले नै मिसन २०८४ भन्दै बेतालमा कुदिरहेका छन् । उनीहरूले बुझ्न सकेका छैनन्- अहिले प्राप्त जनमत २०८४ का लागि होइन, अहिले नै काम गर्न हो ।

पुराना दलहरूको विकल्पमा ‘जान्नेलाई छान्ने’ भनिएकाहरू भोलिवादको सबैभन्दा ठूलो दलदलमा फसेका छन् । जान्नेलाई छान्ने नारा दिनेहरू नै सबैभन्दा बढी नजान्ने देखिएका छन् । समाजका सयौं क्षेत्रहरूमध्ये उनीहरूको जान्ने एउटै क्षेत्र छ, त्यो हो- सूचना प्रविधि ।

२०७९ को निर्वाचनबाट उदाएका नयाँ दल र नेताहरूले बेलाबेलामा रिपोर्ट कार्ड सार्वजनिक गर्ने गरेका छन् । तर, त्यस्तो कार्डमा भौतिक एवं मानवीय विकासमा ध्यान दिएको पटक्कै देखिँदैन । ‘स्टण्डबाज’का रूपमा फ्याँकिने त्यस्ता कार्डले उल्टो मतदातालाई भ्रमितमात्रै पार्ने गरेका छन् ।

नयाँ हुनु वा नजान्नु दोष होइन । तर, जान्न नचाहनु र त्यसका लागि संवेदनशील नहुनु गम्भीर दोष हो । नयाँ दलमा केही नेताहरू अब्बल छन्, उनीहरूसँग विषय विशेषज्ञता र राज्य सञ्चालनको आधारभूत ज्ञान र अनुभवसमेत देखिन्छ । तर, अधिकांश ‘नयाँ’हरू कुहिरोको काग भएका छन् । तर, नयाँ दलले न आफ्ना नेताको क्षमता अभिवृद्धिमा ध्यान दिएको छ न त सकारात्मक सोचको विकासमै । उनीहरूका अभिव्यक्ति र टिप्पणीले आवेगपूर्ण बचपन देखाउँछ । यो चाहिँ साँच्चिकै चिन्ताको विषय हो ।

कर्मठहरू गुमनाम छन्, अघिपछि युट्युबरहरू बोकेर हिँड्ने ‘स्टन्डबाज’हरू चर्चामा छन् । अस्पतालमा १८ घण्टा बिरामीको सेवा गर्ने स्वास्थ्यकर्मीको कुनै चर्चा छैन, एक कार्टुन चाउचाउ बाँड्न १२-१५ जना युट्युबर बोकेर हिँड्ने अभियन्ताको चर्चा छ । उही दानी, उही ज्ञानी, उही त्यागीको भ्रमले समाज आक्रान्त छ । नयाँ नयाँ रंगका जोगीको उदयले नागरिक रनभुल्लमा छन् ।

नयाँ दलहरू प्रविधिप्रति विज्ञता राख्छन् । तर, प्रविधिको सदुपयोग भएको छ वा दुरूपयोग ? यो चाहिँ बहसकै विषय छ । सीमा बाहिरको गालीगलौज गर्ने, आफूले ढलेको सिन्को नउठाउने, केही गरिरहेका वा गर्न खोजिरहेकामाथि तथानाम गाली गर्ने, श्रम संस्कृतिलाई तिरस्कार गर्ने, सभ्यता, संस्कृति र ज्ञानविज्ञानमाथि प्रहार गर्ने प्रवृत्ति बढोत्तरी हुनुमा उनीहरूको भूमिका सबैभन्दा बढी देखिन्छ ।

नयाँ दलका अधिकांश जनप्रतिनिधिहरू नयाँ भूगोलबाट निर्वाचित भएका छन् । त्यसैले उनीहरू त्यहाँको भूगोल, विशेषता र जनतासँग सघन अन्तरक्रियामा थिएनन् । ठूला दलप्रतिको असन्तुष्टि र आवेगका कारण जो नयाँ आउँछन्, उसले नै मत पाउने परिस्थिति थियो । तर, त्यस्तो परिस्थिति सधैं रहँदैन । २०७९ मा नयाँ भएकाहरू २०८४ सम्म पुराना भइसक्छन् । किनकि मतदाताले दल र नेतालाई एक पटक परीक्षण गर्छन्, पटक पटक गर्दैनन् ।

२०६४ को निर्वाचनमा माओवादी नयाँ थियो । त्यसैले राम्रो जनमत प्राप्त गर्‍यो । तर, २०७० को निर्वाचनमा मतदाताका निम्ति माओवादी नयाँ थिएन । किनकि जनताले माओवादीको ६ वर्ष नजिकबाट नियालिरहेका थिए र २०७० को निर्वाचनमा उनीहरूले विकल्प खोजे । २०७९ मा नयाँ भनेर विश्वास गरेका दलहरू २०८४ मा परीक्षित भइसक्छन् । तसर्थ, २०८४ को निर्वाचनमा मतदाताले उनीहरूलाई ‘केही गर्लान्’ भनेर होइन, ‘के गरे’ भन्ने आधारमा मत दिनेछन् ।

निर्वाचन सम्पन्न भएको भर्खर एक वर्ष पूरा भएको छ । तर, जनताबाट त्यति ठूलो विश्वासका साथ निर्वाचित भएका जनप्रतिनिधि अहिले नै मिसन २०८४ भन्दै बेतालमा कुदिरहेका छन् । उनीहरूले बुझ्न सकेका छैनन्- अहिले प्राप्त जनमत २०८४ का लागि होइन, अहिले नै काम गर्न हो ।

नयाँ भनिएका सांसदहरू आफ्नो निर्वाचन क्षेत्रमा क्रियाशील छैनन् । एकाधबाहेक संसद र संसदीय समितिहरूमा उनीहरूको उपस्थिति र वर्चश्व नयाँका रूपमा हुन सकेको देखिँदैन । तर, उनीहरू ‘पोल्टाको वर्तमान’ छोडेर ‘भुईंको २०८४’को पछाडि कुदिरहेका छन् ।

नयाँ दलले आफ्नो निर्वाचन क्षेत्रमा के-कति विकास गरे, २०८४ सम्म त्यसको गहन लेखाजोखा हुने नै छ । उनीहरू जनतासँग कति अन्तरक्रिया गरे, जनताको सुखदुःखमा कसरी गाँसिए, त्यसको पनि समीक्षा हुनेछ । २०७९ मा उनीहरूले पुराना दलसँगको असन्तुष्ट मत प्राप्त गरेका हुन्, आफ्नै मत प्राप्त गरेका होइनन् । १० वर्षसम्म जनतासँग नङ-मासुको सम्बन्ध बनाएको माओवादीसँग ६ वर्षमै बिच्किएका जनता ‘नयाँहरू’प्रति कस्तो धारणा बनाउलान्, यो विषय अहिले नै ठोकुवा गर्न कठिन छ ।

नयाँ दलहरूले प्राप्त गरेको मत ‘पुराना दलले गरेनन्, यिनीहरू जनताप्रति इमानदार छैनन्, हामी आयौं भने मुलुकको कायापलट गर्छौं’ भन्ने वाचासहित प्राप्त गरेका हुन् । तर, आलोचना गर्न जति सजिलो छ, बजारमा गालीगलौज जति बिक्छ, जिम्मेवारी निभाउने कुरा त्यति सजिलो छैन । जिम्मेवारीमा ज्ञान चाहिन्छ, अनुभव चाहिन्छ, शालिनता र धैर्यता चाहिन्छ, परिपक्वता र बलियो संयन्त्र चाहिन्छ ।

हामी आयौं भने विदेशमा रहेका लाखौं युवाहरू स्वदेश फर्काउँछौं भनेकाहरू राजनीतिमा आएपछि युवाहरू विदेशिने क्रम रोकिएको छैन, बरू बढ्दो छ । विदेशमा रहेका १०० युवालाई स्वदेश फर्काउने प्रचारबाजी पनि असफल भएको छ ।

निर्वाचनअघि ‘स्टन्ड’ स्वाभाविक मानिए पनि निर्वाचनपछिको ‘स्टन्ड’ झन् डरलाग्दो देखिन्छ । अघिपछि युट्युबरको लावालस्कर बोकेर हिँड्ने, काम चाहिँ गर्दै नगर्ने, प्रचारमात्रै गर्ने प्रवृत्तिबाट देश र जनताले केही पनि पाउँदैनन् । बरू देश बर्बादीतर्फ धकेलिन्छ । तर, यो मनोविज्ञान घट्दो नभएर बढ्दो छ ।

कार्तिक १७ गतेको भूकम्पले जाजरकोट र पश्चिम रूकुममा ठूलो धनजनको क्षति भयो । सबै दलहरू उद्धार, राहत र पुनःस्थापनामा सक्रिय भए । उनीहरूले जनताका लागि टहरा बनाए । तर, नयाँ भनिएकाहरू एउटा ढुंगो उचाल्दा १२-१५ जनता युट्युबरबाट फोटो, भिडियो खिचाउँछन्, सामाजिक सञ्जालमा पोष्टाउँछन् र जनतामा भ्रम छर्छन् । पुराना दलहरूले भूकम्प पीडितका लागि हजारौं अस्थायी आवास निर्माण गर्दा ‘नयाँ दलले एउटै आवास बनाएनन्, फोटो/भिडियो खिचाएर फर्किए’ भन्ने तथ्यले उनीहरूको राजनीतिक नियत प्रष्टिन्छ ।

जनताले संसदका सबै दललाई दिएको मत २०७९ देखि २०८४ सम्म राम्रो काम गरून् भनेर हो, वर्तमानको जिम्मेवारी बेवारिसे छोडेर मिसन २०८४ को पछाडि कुदून् भनेर होइन । स्वतन्त्रतावादी नेता यासेर आराफात भन्छन्, ‘हाम्रो उद्देश्य शून्यमा महल बनाउने होइन, धर्तीमा झुपडी बनाउने हुनुपर्छ ।’ तसर्थ, नयाँ दल र नेताहरूले मिसन २०८४ को भोलिवादी झोली छोडेर वर्तमानमा जनताले सुम्पिएको जिम्मेवारी पूरा गरून्, जनमतको सम्मान गरून् र ‘स्टन्डबाजी’ राजनीति त्यागून् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *