विदेशी फिल्ममै धुइरिन्छन् दर्शक, नेपाली फिल्म हेर्न किन मान्छन् धक ? – Nepal Press

विदेशी फिल्ममै धुइरिन्छन् दर्शक, नेपाली फिल्म हेर्न किन मान्छन् धक ?

काठमाडौं । अहिले नेपालका हलहरु भारतीय फिल्म ‘एनिमल’ को कब्जामा छन् । गत शुक्रबार रिलिज भएको फिल्मले जति खराब ‘समीक्षा’ पाएको भए पनि दर्शकहरु हलमा उर्लिएकै छन् । ‘एनिमल’ को इन्ट्रीसँगै यसअघि राम्रै दर्शक बटुलिरहेको ‘दिमाग खराब’ को व्यापार नाजुक बनेको छ ।

नेपाली फिल्म विदेशी फिल्मको चपेटामा परेको यो न पहिलो घटना हो न त अन्तिम नै हुनेछ । बिग बजेटका विदेशी फिल्मसँग साना बजेटका नेपाली फिल्म प्रतिस्पर्धामा टिक्न सक्दैनन् । स्वदेशी फिल्मलाई न सरकारको संरक्षण छ न त दर्शकको साथ । अरु बेला भारतको विरोध गरेर नथाक्ने नेपालीहरु भारतीय फिल्म र स्टार भनेपछि रातिको १२ बजे पनि हलमा लाइन लाग्न तयार हुन्छन् । नेपाली फिल्मका स्टार चाहिँ हाम्रो फिल्म हेरिदिनुस् भन्दै आफैं हलहलमा पुग्नुपर्छ ।

गत आर्थिक वर्ष चलचित्र विकास बोर्डद्वारा सार्वजनिक भएको बक्स अफिस रिपोर्टले भन्छ, नेपाली फिल्मले दर्शकलाई रिझाउनै सकिरहेका छैनन् । आर्थिक वर्ष २०७९/८० को रिपोर्टअनुसार ५७ वटा नेपाली फिल्मले ७६ करोड ७२ लाख ५६ हजार ९७८ रुपैयाँ ग्रस कलेक्सन गरेका छन् । सँगै ७८ वटा विदेशी फिल्मले ७९ करोड ४५ लाख ९ हजार ७१० रुपैयाँ ग्रस कलेक्सन गरेका छन् ।

सरसर्ती हेर्दा नेपाली र विदेशी फिल्मको ग्रस कलेक्सनबीच त्यस्तो ठूलो भिन्नता देखिँदैन । तर, ९० प्रतिशत नेपाली निर्माता नराम्रोसँग डुबेका छन् ।

५७ वटा फिल्मलाई सरदर दुई करोड लगानी मान्ने हो भने एक अर्बभन्दा ज्यादा लगानी एक वर्षमा हुने गरेको देखिन्छ । तर, हल सञ्चालकको शेयर, कर, भ्याटलाई कटौती गर्ने हो भने ७६ करोड ग्रसबाट २५ देखि २८ करोडमात्रै निर्माताको हात लाग्छ । बाँकी ७०-७५ करोड रुपैयाँ भने डुबेको देखिन्छ ।

विदेशी फिल्मको सवालमा नेपाली बजारले उस्तो अर्थ राख्दैन । उनीहरुको प्राथमिकतामा पनि नेपाली बजार पर्दैन । र, पनि नेपाली निर्माताहरुलाई विदेशी फिल्मले समस्यामा पारिरहेको देखिन्छ । यदि विदेशी फिल्मले कमाएको ग्रस कलेक्सन नेपाली फिल्मले नै गर्न सक्थ्यो भने निर्माताहरु झण्डै झण्डै ब्रेक इभन प्वाइन्टमा आइपुग्ने अवस्था बन्थ्यो । तर, विदेशीको तुलनामा नेपाली फिल्मले दर्शकलाई मनोरञ्जन दिन त सक्नुपर्ने होला नि ?

किन चल्दैनन्  नेपाली फिल्म ?

गत आर्थिक वर्षमा रिलिज भएकामध्ये दुई वटा फिल्म मात्रै हिट भएको देखिन्छ- ‘छक्का पञ्जा ४’ र ‘जारी’ । ‘प्रेमगीत ३’, ‘महापुरुष’, ‘दुई नम्बरी’, ‘फूलबारी’ र ‘झिंगेदाऊ’ लगानी उठाउन सफल छन् । बाँकी ५० फिल्म डिजास्टर फ्लप भएका छन् । जसमा ५२० रुपैयाँ ग्रस गर्ने ‘शिवानी’को बक्स अफिस रिपोर्ट झनै दर्दनाक देखिन्छ । यस फिल्मले जम्मा ५ वटामात्रै टिकट बेच्न सफल भएको छ ।

धिरज मगर स्टारर ‘बाबरी’, मेगास्टार भनिएका अनमोल केसी स्टारर ‘छड्के २.०’ लगायत अधिकांश ठूला बजेटका फिल्मले पानी भन्न पाएन । तर, यही वर्ष प्रदर्शन भएका विदेशी फिल्म ‘पठान’, ‘अवतार ः द वे अफ वाटर’, ‘ब्रह्मास्त्र’, ‘दृश्यम २’ जस्ता फिल्मले ठूलो मात्रामा नेपाली दर्शकलाई आकर्षित गरेको देखिन्छ ।

फेस्टिभलहरु घुम्ने फिल्महरुको बाटो अलग्गै छ । नवीन सुब्बा, मीन भामलगायत मेकरहरु संसारभरका प्रतिष्ठित फिल्म फेस्टिभलहरु घुमिरहेका छन् । सुब्बा, भामहरुमाथि व्यवसायिक फिल्म मेकरहरुको ठाडो चुनौती हुन्छ, ‘सक्ने भए नेपालको हलमा चलाएर देखाउन सक्नुपर्‍यो नि !’

तर, हलमै चलाउन बनाइएका फिल्महरुको हविगत कस्तो छ, बक्स अफिस रिपोर्टले देखाउँछ । पैसा नै कमाउने ध्येयले बनाइएका ९५ प्रतिशत फिल्मलाई नेपाली दर्शकले किन इन्कार गरिरहेका छन् ? नेपाली फिल्मलाई दर्शकले माया र प्रेम भरपुर दिए पनि गतिलो फिल्म बनाउन नसक्दा दर्शकले सीधै इन्कार गरिरहेको कलाकार तथा निर्माता दीपकराज गिरी बताउँछन् ।

उनी भन्छन्, ‘नेपाली फिल्मलाई प्राथमिकता दिएका छन् दर्शकले । ‘दिमाग खराब’लाई साथ दिएको छ । ‘भष्मे डन’लाई साथ दिएको छ । तर, अधिकांश नेपाली फिल्म हलमा आधा घण्टा पनि टिक्न नसकिने खालका हुन्छन् । तर, प्रिमियरमा सबै मान्छे भेला हुन्छन्, क्या गज्जबको भनेर प्रशंसा गर्छन् । अनि आत्मरतिमा रमाउँछन् । तर, फिल्म दर्शकलाई मनपर्ने पो बनाउनुपर्‍यो त !’

पर्याप्त ज्ञानविना नै फिल्म निर्माण हुने गरेकाले पनि दर्शकद्वारा सीधै खारेज गर्ने गरिएको पटकथा लेखक तथा पत्रकार सामिप्यराज तिमल्सेनाको विश्लेषण छ । उनी भन्छन्, ‘निर्मातालाई लगानीको रिकभरीको ज्ञान हुन जरुरी छ । आफूले बनाएको फिल्मको टार्गेट दर्शक को हो, हलहरुमा चलेका फिल्महरु ह्वीमले हो कि जेन्युनली चलेका हुन्, नेपालमा हलहरु कतिवटा छन्, निर्माताले कसरी कमाउनेलगायत कुरा थाहा नभई फिल्म बनाएपछि निर्माता डुबिहाल्छन् । यस्ता फिल्महरु दर्शकद्वारा सीधै खारेज भइदिन्छन् ।’

अव्यवसायिक मान्छेहरुको हुलदंगा

फिल्म क्षेत्रमा कुनै समय थियो, निर्माताहरुलाई ‘मुर्गा’ भनिन्थे । मुर्गा अर्थात् कुखुरा । जसलाई हलाल गर्न उद्यत हुन्थे निर्देशक, कलाकारहरु । फिल्म क्षेत्र ग्ल्यामर क्षेत्र भएकाले यहाँ नाम छ, चर्चा छ र बजारको हल्लालाई आधार मानेर हेर्दा पैसा छ । त्यही हल्लाको भरमा निर्माताहरुलाई फसाइन्थे ।

अहिले पनि परिस्थिति उस्तै छ । भलै निर्मातालाई ‘मुर्गा’ भन्न छाडिएको छ । तर, निर्मातालाई गलत नियतले डुबाउने क्रम भने रोकिएको छैन । फिल्म क्षेत्रमा आएका निर्माताहरु न व्यवसायिक छन् न त गम्भीर । उनीहरु पैसा खन्याउँछन्, डुब्छन् र फिल्म क्षेत्रबाट सदाका लागि पलायन हुन्छन् ।

गिरी थप्छन्, ‘हाम्रो सिने क्षेत्रका मान्छेहरुमध्ये लगभग ७० प्रतिशत अव्यवसायिक छन् । उनीहरुलाई राम्रो फिल्म बनाउनु नै छैन । आधाको त नियत नै खराब हुन्छ । उद्देश्य नै खराब हुन्छ ।’

खराब नियत भएकाहरु चाहिँ कस्ता हुन्छन् त ? गिरीको विश्लेषणमा कुनै फिल्मले यति कमायो, उति कमायो, हामी पनि कमाउन सक्छौं भनेर उकासेर लगानी डुबाइदिने अनि भाग्नेहरु छन् । फिल्म बनाउँदा ठूलो चर्चा हुन्छ, त्यसलाई आधार बनाएर अरुलाई लगानी गर्न उक्साउने छन् । कोही आफन्तका लागि फिल्म बनाउने त कोही हिरो-हिरोइन बन्न फिल्म बनाउनेहरु छन् ।

गिरी थप्छन्, ‘यस्ता नियतहरुले फिल्म बन्दा व्यवसायिक हिसाबले निर्मातालाई घाटा हुन्छ । सबैले पैसा पाउँछन् । नपाउने भनेको निर्माताले मात्रै हो । निर्मातालाई नै डुबाएर हाम्रो फिल्म उद्योग बच्नै मुस्किल छ ।’

यसरी अव्यवसायिक मान्छेहरुको हुलदंगा कसरी हुन्छ भनेर थाहा पाउन गत आर्थिक वर्षको बक्स अफिस रिपोर्ट नै हेरौं । प्रदर्शन भएका ५७ फिल्ममध्ये अन्तिमबाट हेर्दै जाने हो भने १२ वटाले हलहरुमा एक हजार वटा टिकेट पनि बेच्न सकेका छैनन् । ‘शिवानी’ नामक फिल्मले ५ वटा टिकेट बेचेको छ । त्यस्तै ‘चोर र पुलिस’ले १०४, ‘सरी मम’ले ११२, ‘आँधी तुफान २’ले १४५, ‘ए साथी सुन’ले २१२, ‘प्रेमा’ले ३८५, ‘पासो’ले ४३०, ‘गुर्खा: विनिथ द ब्रेभरी’ले ३९०, ‘कैदीको पत्र’ले ५७५, ‘हुक्का’ले ९१२, ‘मा’ले ९३७ र ‘देशान’ले ९०५ टिकट बेच्न सफल भएका छन् । जबकि हिट भएको ‘छक्का पञ्जा ४’ले ६ लाख २९ हजार ५७० टिकेट बेचेको छ ।

हिरोको ५० लाख, प्राविधिकको एक हजार ?

फिल्मलाई टीम वर्कले गर्ने काम भनिन्छ । एउटा फिल्म बन्न सयभन्दा बढी मान्छेको श्रम चाहिन्छ । प्राविधिकदेखि क्यामेरा, सम्पादन, कलाकारहरुको ठूलो समूहको श्रम र पसिनाले एउटा फिल्म बन्छ । तर, ३ करोड लगानी गरिने फिल्ममा प्राविधिकहरु न्यूनतम दैनिक ज्यालादरीमा खटाइन्छन् ।

अनमोल केसीको पारिश्रमिक भने ५० लाख हुन्छ । उनै केसीले ५० लाख पारिश्रमिक लिएको फिल्म ‘छड्के २.०’ले केसीको पारिश्रमिक जति पनि हलमा ग्रस गर्न सकेन । ‘छड्के २.०’ले जम्मा २७ लाखको ग्रस गर्‍यो । निर्माताको हातमा चानचुन १० लाख पर्‍यो । जबकि यस फिल्मलाई निर्माताले ३ करोड ज्यादा लगानी गरेका थिए ।

निर्देशक नवीन सुब्बाले नेपालप्रेसको अन्तर्वार्तामा भनेका थिए, ‘हिरोले ५० लाख लिन्छ भन्छन् । तर, पोस्टर बनाउनेलाई हामी कति पैसा दिन्छौं ? पहिलो खुड्किलो त पोस्टर बनाउने होला नि ? उनीहरुलाई बाँच्नै समस्या हुन्छ ।’

गएको चैतमा चलचित्र नृत्य संघले २०८० बैशाखबाट लागू हुने गरी पारिश्रमिक बढाउने निर्णय गर्‍यो । संघले नेपाली चलचित्र तथा सबै भाषाभाषीका चलचित्रका गीतका लागि एउटा गीतको प्रतिदिन ३ हजार, दुई दिन छायांकन भए पाँच हजार र तीन दिन छायांकन भए ६ हजार न्यूनतम पारिश्रमिक तोकेको थियो । विदेशी चलचित्रको हकमा प्रतिदिन तीन हजार पारिश्रमिक तोकेको थियो ।

तर, हिरोलाई ५० लाख हाल्न तयार निर्माता संघले नृत्य संघको निर्णयमा विमति जनायो । निर्माता संघका अध्यक्ष नवल खड्काले यसरी मनमौजी पारिश्रमिक राख्ने हो भने आन्दोलन गर्ने चेतावनीसमेत दिए । सुब्बाले यस विषयमा भनेका थिए, ‘अहिले डान्सरहरुको पारिश्रमिकको कुराले निर्माताहरु आन्दोलन गरिरहेका छन् । तर, उनीहरु एउटा मान्छेलाई ५० लाख दिन्छन् । यति धेरै नलेऊ, २५ लाखमात्रै लेऊ, २५ लाख प्राविधिकमा खर्च गरौं भन्दा के जान्छ ? यदि प्राविधिकहरुले बाँच्न अर्को काम गर्नु नपर्ने भए सम्पूर्ण सृजनात्मकता र ऊर्जा सिनेमामा खर्च गर्थे होलान् ।’

चलचित्र प्राविधिक संघका अध्यक्ष पुष्कर लामाको आक्रोश छ, ‘प्राविधिकको कारणले चलचित्र बन्छ । तर, प्राविधिकलाई नै यस क्षेत्रले हेप्ने गरेको छ ।’

लामा भन्छन्, ‘चलचित्रमा २४ घण्टै श्रम गर्ने प्राविधिक हुन्छन् । प्राविधिकलाई खुशी बनाएर काम गरियो भने पो दर्शकले पनि फिल्म हेर्छन् त ! श्रमिकको चित्त दुखाएर गरिएको काम राम्रो हुन्छ त ? श्रमिकलाई श्रमको उचित मूल्य नदिई गरिएको प्रोजेक्ट कुनै पनि सफल हुँदैन । हिरोलाई ५० लाख दिएरमात्रै फिल्म राम्रो बन्ने होइन ।’

स्क्रिप्टका दीर्घकालीन दुःख

नेपाली फिल्म क्षेत्र स्क्रिप्टको दीर्घरोगले ग्रस्त छ । यस दीर्घ रोगको निदान गर्न नसकिएको फिल्ममेकरहरु खुलेआम बताउने गरेका छन् । उनीहरु भन्ने गर्छन्, ‘गतिलो स्क्रिप्ट नै भएन ।’

गतिलो स्क्रिप्ट भनेको के हो ? यसको जवाफ भने उनीहरुसित छैन । उनीहरुले भनेका गतिला स्क्रिप्टका स्वाद कस्ता हुन्छन्, अहिलेसम्म दर्शकले चाख्न पाएका छैनन् । सायद, उनीहरु दर्शकलाई गतिला स्क्रिप्टको स्वाद चखाउने पथमै छैनन् ।

हिरो नामको अनुहारलाई ५० लाख दिन्छन् । अनि स्क्रिप्ट लेखकसँग डेढ लाख रुपैयाँबाट बार्गेनिङ गर्न सुरु गर्छन् । मानौं उनीहरुका लागि स्क्रिप्ट भनेको सेलमा राखिएको वस्तु हो । यस्ता चिजमा जति राम्रोसँग बार्गेनिङ गरियो, उति नै सस्तोमा खरिद गर्न सकिन्छ । अनि फिल्ममेकरहरु खुलेआम भनिदिन्छन्, ‘गतिलो स्क्रिप्ट नै भएन ।’

पत्रकार तथा पटकथा लेखक सामिप्यराज तिमल्सेनाको तीतो अनुभवले भन्छ, हाम्रा फिल्म मेकरहरुले बाहिर देखाउनलाई मात्रै भन्ने हुन्, स्क्रिप्ट गतिलो भएन, गतिलो चाहियो । तिमल्सेना थप्छन्, ‘पब्लिक डिबेटमा, फोरमहरुमा मात्रै भन्ने हुन् गतिलो स्क्रिप्ट लेखक नै छैन, गतिलो स्क्रिप्ट चाहियो भनेर । तर, वास्तविक समस्याबाट कसरी समाधान खोज्ने भन्ने कुरामा कुनै इफोर्ट नै लगाएको देखिँदैन ।’

डेढ दशकदेखि पटकथा लेखकको रुपमा सक्रिय तिमल्सेनाको अनुभव छ, यहाँ प्रोफेसनल पटकथा लेखकहरु टिक्नै सक्दैनन् । लामो समयदेखि काम गरिरहेका लेखकहरु नै छैनन् । उनी थप्छन्, ‘दोस्रो फिल्म लेख्दासम्म हाम्रा मेकरहरुले पटकथा लेखकलाई यति फ्रस्टेड बनाइसकेका हुन्छन् कि ऊ यो क्षेत्र छाडेर भाग्न बाध्य भइरहेको हुन्छ । फिल्म बनाउन कति लगानी चाहिन्छ, कुन प्रक्रियाबाट काम हुन्छ भन्ने नै थाहा पाएका हुँदैनन् । एउटा हलिउड वा बलिउड फिल्म हेर्‍यो, त्यस्तै पटकथा चाहियो भन्यो ।’

हलिउड/बलिउडमा जीवनभर पटकथा लेखेर बसेका लेखकहरु सयौंको संख्यामा छन् । उनीहरुको आर्थिक अवस्था पनि बलियो छ । नाम कमाएका छन्, दाम कमाएका छन् । हलिउडमा नाम चलेका कतिपय लेखकहरु फिल्मको मुनाफा शेयरिङमै हुन्छन् । तर, नेपालमा भने पटकथा लेखकले ह्युमिलिएसन महसुस गर्नुपर्ने दुःखलाग्दो अवस्था रहेको तिमल्सेनाको भनाइ छ ।

‘यहाँ त स्क्रिप्टका लागि एक डेढ लाखबाट बार्गेनिङ सुरु हुन्छ । यसपछि लेखकले निर्माता/निर्देशकलाई जसरी सहयोग गर्नुपर्ने हो, बार्गेनिङले त्यही समस्या निम्त्याउन सुरु गर्छ । स्क्रिप्ट बारम्बार पुनर्लेखनपछि बन्ने हो । तर, पहिलो ड्राफ्ट सुन्नासाथ ‘यसले यसोउसो भन्थ्यो, देखियो’ भनेर ह्युमिलिएसन सुरु गर्छन्’, तिमल्सेना भन्छन्, ‘मुख्य कुरा आत्मसम्मानको हो । मान्छेको सृजनशीलता बचाइराख्न उसको आत्मसम्मान बलियो हुनुपर्छ । तर, यहाँ त आर्थिक र मानसिक रुपमै लेखकहरुलाई कमजोर बनाउने दुस्प्रयास गर्छन् ।’

दर्शकलाई रुच्ने फिल्म बन्नै बाँकी !

अघिल्ला वर्षहरुमा दशैँ र तिहारको छेकोमा प्रदर्शन भएका नेपाली फिल्महरुले १८-२० करोडको व्यापार गर्थे । यसमा मुख्य रुपमा ‘छक्का पञ्जा’ सिरिज पर्छ । तर, यस वर्षको चाडबाडमा प्रदर्शन भएका ‘भष्मे डन’, ‘परदेशी २’, ‘दिमाग खराब’ जस्ता ठूला बजेटका फिल्मले अपेक्षित व्यापार गर्न सकेनन् । अब आउने फिल्महरु पनि उस्तो प्रतीक्षित छैनन् ।

अहिलेको परिस्थिति हेर्दा अघिल्लो वर्षभन्दा यस वर्ष नेपाली फिल्महरुको हालत झनै दर्दनाक हुने गिरी बताउँछन् । उनी भन्छन्, ‘अघिल्लो वर्ष ५-६ फिल्मले आफूलाई सेभ गरेको थियो । यस वर्ष त रेकर्ड झनै खराब छ । अहिलेसम्म निर्माताले खल्तीमा पैसा लाने खालका फिल्म नै प्रदर्शन भएका छैनन् ।’

बक्स अफिसमा प्रतीक्षित फिल्महरुले अपेक्षित व्यापार गर्न नसक्नुमा दर्शकको रुचिलाई कति ख्याल गरियो भन्ने पनि मुख्य प्रश्न होला । दर्शकलाई मनोरञ्जन दिन सक्यो कि सकेन भन्ने सवाल होला । तर, अझै पनि नेपाली फिल्मकर्मीहरु ‘नेपाली फिल्मलाई माया गरिदिनुस्’ भनेर रोनाधोना सुरु गर्छन् । जब कि ४०० रुपैयाँको टिकट, ४०० हाराहारीकै कोक, पपकर्न लगानी गरेर दर्शकले नेपाली फिल्मलाई मायामात्रै गर्ने कि मनोरञ्जन पनि लिने ? फिल्मकर्मीले यो कोणबाट सोचेको देखिँदैन ।

निर्देशक सौरभ चौधरीका अनुसार कलाकार, निर्देशक, प्राविधिकहरुले जागिरमात्रै खाएका कारण पनि नेपाली फिल्मलाई दर्शकले खारेज गरिदिएको हो । उनी भन्छन्, ‘डुब्ने भनेको निर्मातामात्रै हो । बाँकी सबै जागिर गर्छन्, काम गर्दैनन् । ड्युटी सकाउँछन्, पैसा लिन्छन्, हिँड्छन् । अनि त्यसरी गरिएको कामले दर्शकलाई कसरी मनोरञ्जन दिन्छ त ? निर्माता डुब्छन्, यो क्षेत्रबाटै पलायन हुन्छन् । यसबारे अब हामीले समीक्षा गर्नुपर्ने देखिएको छ ।’


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर