सुनसरी र मोरङमा जङ्गली हात्तीको आतंक, तीन दिन नबित्दै २ जनाको ज्यान गयो – Nepal Press

सुनसरी र मोरङमा जङ्गली हात्तीको आतंक, तीन दिन नबित्दै २ जनाको ज्यान गयो

विराटनगर । सुनसरी-मोरङका पूर्व पश्चिम सडक खण्डको चार कोशे जङ्गल क्षेत्रमा जङ्गली हात्तीले विध्वंश मच्चाउन थालेको छ । २५ भन्दा बढी जङ्गली हात्ती सुनसरी मोरङका जंगल क्षेत्रमा धन जनको क्षति पुर्‍याउने गरेका छन् ।

लस्करै हिँड्ने हात्तीको बथानले विभिन्न ठाउँमा आतङ्क मच्चाइरहँदा सर्वसाधारण त्रसित एवं भयभीत भएका छन् । सर्वसाधारणको घर भत्काइदिनेदेखि बालीनाली खाने र मान्छे समेत मारेको प्रहरीले जनाएको छ ।

एक सात नबित्दै हात्तीको आक्रमणमा परि दुई जनाको ज्यान गएको छ । मोरङको बेलबारीमा हात्तीको आक्रमणमा परेर लेटाङ घर भएका कमल माझीको सोमबार बिहान मृत्यु भएको छ ।

बेलबारी नगरपालिका–१० भाउन्नेमा जङ्गली हात्तीको आक्रमणबाट ५३ वर्षीय कमल माझीको मृत्यु भएको मोरङ प्रहरीका प्रवक्ता डिएसपी रञ्जनकुमार दाहालले जानकारी दिए ।

उनका अनुसार लेटाङ नगरपालिका–३ घर भएका माझीलाई साइकलमा यात्रा गरिरहेका बेला सिर्जना सामुदायिक वन क्षेत्रमा हात्तीले आक्रमण गरेको हो ।

बाटो हिँड्नेहरूले जङ्गलमा बिहान १०ः३० बजेतिर शव देखेपछि प्रहरीलाई खबर गरेका थिए । माझी लेटाङस्थित घरबाट बेलबारीको लक्ष्मी मार्गतर्फ साइकलमा आउँदै गरेको बेला हात्तीको आक्रमणमा परेको प्रहरीको भनाइ छ ।

प्रहरीका अनुसार घटनास्थल वरपर हात्तीको आवतजावत नियमित भइरहेको पाइएको छ । यस अघि बुधवार राती इटहरी २ का रविन खड्काको पनि हात्तीको आक्रमणमा परि ज्यान गएको छ । गाउँमा साँझ नपर्दै हात्ती आएपछि उनी खेदाउन गएका थिए ।

प्रहरीका अनुसार भाउन्ने आसपासमा आइतबार रातभर २०–२२ वटा जति हात्ती देखा परेका थिए । स्थानीयको सहयोग लिएर प्रहरीले हात्तीको बथानलाई जङ्गलतर्फ धपाएको जानकारी डिएसपी दाहालले दिए । हात्तीको बथानमा बच्चा समेत भएकाले पनि हात्ती अलि बढी आक्रामक भएको हुनसक्ने अनुमान प्रहरीको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *