जिल्लाव्यापी फुटबल प्रतियोगितामा धनगढी र लम्किचुहा विजयी
कैलाली । प्रथम मुख्यमन्त्री पालिका स्तरीय कैलाली जिल्ला व्यापी फुटबल प्रतियोगितामा आज भएको खेलमा धनगढी र लम्की चुहा विजयी भएका छन् ।
आजको पहिलो खेलमा धनगढी उपमहानगरपालिकाले टीकापुर नगरपालिकालाई १–० ले पराजित गरेको हो । दोस्रो खेलमा लम्किचुहा (बिएस –१५) ले पनि भजनी नगरपालिका लाई १–० ले नै पराजित गर्यो ।
धनगढी उपमहानगरपालिका र टिकापुर नगरपालिका बिच भएको खेलको १४ औं मिनेटमा धनगढीका कमल देउवाले गरेको गोल नै निर्णायक बन्यो । खेलको दोस्रो हाफको अधिकांश समय टिकापुरले बल लाई आफ्नो नियन्त्रणमा राखे पनि गोल गर्न भने सकेन । खेलमा निर्णायक गोल गर्दै टिमलाई जिताउने कमल देउवा म्यान अफ द म्याच घोषित भए।
त्यस्तै, दोस्रो खेलमा लम्किचुहा(बिएस–१५) का शिशिर केसीले ३६ औं मिनेटमा भजनी नगरपालिका विरुद्ध गोल गरे । त्यहि गोल नै निर्णायक बन्यो । सो खेलको म्यान अफ द म्याच पनि निर्णायक गोल गर्ने शिशिर बने ।
भोलि हुने पहिलो सेमिफाइनल खेलमा गौरीगङ्गा नगरपालिका र धनगढी उपमहानगरपालिकाले फाइनल प्रवेशका लागि प्रतिस्पर्धा गर्दा अर्काे सेमिफाइनल खेलमा घोडाघोडी नगरपालिका र लम्किचुहा(बिएस–१५) का बीच हुनेछ ।
मंसिर १३ गतेबाट सुरु भएको प्रतियोगितामा कैलाली जिल्लाका विभिन्न १० पालिकाका १६ टिमहरूको सहभागिता रहेको छ । प्रतियोगिताको विजेताले २ लाख १ हजार ट्रफि मेडल र प्रमाणपत्र पाउने छन् भने उपविजेताले १ लाख ५ हजार सहित ट्रफि मेडल र प्रमाणपत्र पाउने छन् ।