समीर मृत्यु प्रकरण : एक साता बित्दा शव पनि बुझ्न मानेनन् आफन्तहरूले
डोटी । मंसिर १२ गते बिहान मृत अवस्थामा भेटिएका दिपायल सिलगढी नगरपालिका–५ पुन्ना ३० वर्षीय युवा समीर भट्टको अन्तिम संस्कार हुन सकेको छैन ।
आफन्तहरूले घटना भएको एक हप्ता बित्दा पनि शव बुझ्न नमानेपछि अन्तिम संस्कार हुन सकेको छैन ।
मंसिर ११ गते शैलेश्वरी जात्राबाट फर्किए घरतिर गएका समीरको भोलीपल्ट गाउँ नजिकै सडक छेउमा शव भेटिएको थियो । समीरको हत्या भएको र हत्यारा पत्ता नलगाएसम्म शव नबुझ्ने आफन्तहरुको अडान छ ।
मृतक समीरका काका उमाकान्त भट्टले भने ‘घटनाको बारेमा निष्पक्ष छानबिन हुनपर्छ भन्ने हाम्रो माग हो, हामीलाई न्याय चाहिएको छ ।’ उनले प्रहरीले आफूहरूलाई विश्वस्त हुने गरी कार्य अघि बढाएको जानकारी दिए वा आफूहरूलाई विश्वस्त बनाए शव बुझ्न तयार रहेको बताए ।
सोमबार बिहान डोटीका प्रमुख जिल्ला अधिकारी गोपाल प्रसाद अर्यालले मृतकका आफन्तलाई प्रशासनमा बोलाएर शव बुझ्न आग्रह गरेका थिए । घटनाबारे अनुसन्धान भइरहेको र प्राप्त तथ्य प्रमाणका आधारमा अनुसन्धान हुने हुँदा विश्वस्त रहन भन्दै प्रमुख जिल्ला अधिकारी अर्यालले शव बुझ्न आग्रह गरेका थिए । तर आफन्तहरुले शव बुझ्न मानेनन् ।
छलफलमा सहभागी एक आफन्तले भने ‘अनुसन्धानमा केही सकारात्मक विकास भएको वा प्रहरी सत्य–तथ्यको नजिक पुगेको कुनै ठोस् जानकारी बिना हामी शव बुझ्न सक्दैनौँ, त्यसरी बुझेर दाहसंस्कार गर्ने भए त सुरुमै गरिसक्थ्यौँ, हामीलाई न्याय चाहिन्छ न्यायका लागी लडाई हो ।’
घटना भएको एक हप्ता बित्दा समेत आफन्तले शव बुझ्न नमानेपछि प्रहरी प्रशासनलाई दबाब थपिएको छ । समीरको शवलाई अहिले जिल्ला अस्पताल डोटीको शव घरमा राखिएको छ । मृतक भट्टको टाउकोको पछाडि भागमा चोट लागेको छ । घटना भिरबाट खसेको जस्तो देखाउन खोजे पनि अन्यत्र हत्या गरेर त्यहाँ फालिएको आफन्तहरूको दाबी छ ।
३ जना नियन्त्रणमा
समीर मृत्यु प्रकरणमा मृतकका आफन्तहरूले ३ जना विरुद्ध किटानी जाहेरी दिएका छन् । दिपायल सिलगढी नगरपालिका–५ का राम विष्ट, देवराज विष्ट र लक्ष्मण विष्टबिरुद्ध किटानी जाहेरी परेको प्रहरीले जनाएको छ ।
किटानी जाहेरी परेपछि प्रहरीले तिनै जनालाई नियन्त्रणमा लिई अनुसन्धान अघि बढाएको छ ।
मृतक समीरको शव सडकको किनारमा आधा कपडा खोलिएको अवस्थामा भेटिएको थियो ।
प्रहरी भन्छः अनुसन्धान जारी छ
समीर मृत्यु प्रकरणमा अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय डोटीका प्रहरी प्रमुख प्रहरी उपरीक्षक विष्णुहरि कोइरालाले बताए । कोइरालाले भने ‘हामीले अनुसन्धानका लागी ३ जना नियन्त्रणमा लिएका छौँ, नयाँ प्रविधिको प्रयोगका साथै विभिन्न ढंगबाट अनुसन्धान केन्द्रित गरेका छौँ ।’
अनुसन्धान ३ जनामा मात्रै केन्द्रित छ वा त्यो भन्दा पनि अन्य कोणबाट पनि भइरहेको छ भन्ने प्रश्नमा कोइरालाले भने ‘अनुसन्धान फराकिलो दायरामा भइरहेको छ ।’
अनुसन्धानप्रति आफन्त विश्वस्त हुन नसकेका कारण शव बुझ्न नमानेको प्रसङ्गमा प्रहरी उपरीक्षक कोइरालाले भने ‘हामी उहाँहरूसँग निरन्तर सम्पर्कमा छौँ, अनुसन्धान भइरहेको छ हामीसँग विश्वस्तै रहेको कुरा बताउनु हुन्छ, अन्यत्र के भन्नु हुन्छ थाहा भएन ।’
उनले आफूहरूले मृतकका आफन्तलाई नयाँ कुनै जानकारी भएमा गोप्य रूपमा दिन भनेको कोइराला बताउँछन् । सोमवार बिहान जिल्ला प्रशासन कार्यालयमा भएको छलफलमा आफन्तहरूले शव बुझ्ने भनेको प्रहरी उपरीक्षक कोइरालाले बताए । उनले भने ‘अनुसन्धानमा कुनै कसर राखिन्न, प्रहरीले घटनाको निष्पक्ष अनुसन्धान गर्छ ।’
उता, नियन्त्रणमा लिइएका युवाहरू आफूहरूलाई अनावश्यक फसाउन खोजिएको बताउँदै आएका छन् । ‘हामीले कुनै कसुर गरेका छैनौँ, हामीलाई जबरजस्ती दोषी बनाउने काम भइरहेको छ’ प्रहरी नियन्त्रणमा रहेका युवाहरूलाई उद्धृत गर्दै एक आफन्तले भने ‘घटनाको निष्पक्ष छानबिन होस् भन्ने हाम्रो माग हो ।’
आफन्तहरूले किटानी जाहेरी दिँदैमा कोही व्यक्ति अपराधी भई नहाल्ने नियन्त्रणमा लिइएका व्यक्तिका आफन्तहरू बताउँछन् । ‘घटनाको छानबिन निष्पक्ष हुनुपर्छ, हामी प्रहरीलाई सघाउन तयार छौँ’ नियन्त्रणमा रहेका एक युवाका आफन्तले भने ‘यदि प्रहरी हिरासतमै रहेकाहरू दोषी हुन भने तिनीहरूलाई कारबाही हुनुपर्छ ।’
अन्यथा कसैको दबाबमा आएर कसैलाई जबरजस्ती दोषी करार गरेर सजाय दिनु नहुने उनी बताउँछन् ।
मृतकका आफन्तहरू जस्तै नियन्त्रणमा लिइएका युवाहरूका आफन्तहरू पनि घटनाको निष्पक्ष छानबिन हुनु पर्ने बताउँछन् ।