कमला पुल पुनः निर्माण अझै सुरु भएन, यसरी जोखिमपूर्ण यात्रा गर्छन् सर्वसाधारण – Nepal Press

कमला पुल पुनः निर्माण अझै सुरु भएन, यसरी जोखिमपूर्ण यात्रा गर्छन् सर्वसाधारण

जनकपुरधाम । मधेशको लाइफ लाइन मानिने हुलाकी सडकमा पर्ने कमला पुल भासिएको दुई वर्ष बितिसक्दा पनि पुनः निर्माणको काम अगाडी बढ्न सकेको छैन ।

कमला नदी धनुषा र सिरहा जिल्ला जोड्छ । यो नदिमा १० वर्ष लगाएर पुल निर्माण गरी ०७८ मा लुम्बिनी बिल्डर्स कन्स्ट्रक्सनले पुलको उद्घाटनको तयारी गरिरहँदा पिलर भासियो । तर दुई वर्ष बितिसक्दा पनि पुनः निर्माण नहुँदा त्यस भेगका दर्जनौँ पालिकाका जनता जोखिम मोलेर बाँसको अस्थायी पुलबाट आवतजावत गर्न बाध्य छन् ।

पुल भासिएपछि तत्कालीन भौतिक पूर्वाधार तथा यातायात मन्त्री नारायणकाजी श्रेष्ठ र वर्तमान मन्त्री प्रकाश ज्वालाले अनुगमन गरिसकेका छन् ।

उनीहरू आएका बेला तत्कालै पुल पुनः निर्माण गर्न र तत्काल सहज रूपमा आवतजावतका लागि डाइभर्सन बनाउन सम्बन्धित निकायलाई निर्देशन दिए । तर निर्देशन कार्यान्वयन भएको छैन ।

केही दिन पिलर भासिएकै पुलबाट मानिसहरू आवतजावत गर्थे । त्यहाँ स्थानीयले आफ्नै लगानीमा बाँस लगाएर पुलमा चढ्न भर्‍याङ (सिढी) बनाएको थियो । उक्त भर्‍याङ चढ्न ५० रुपैयाँ लिन्थ्यो । तर त्यो भर्‍याङ पनि भत्किसकेको छ ।

अहिले नदीमै स्थानीय केहि व्यक्तिले लाखौँ रुपैयाँ लगाएर बाँसकै लामो अस्थायी पुल नदीमा बनाएको छ । उक्त बाँसको पुलबाट मोटरसाइकल र पैदल यात्री जोखिमपूर्ण यात्रा गर्न बाध्य छन् ।

अस्थायी पुलको अवस्था जर्जर छ । कुनै बेला पनि भत्किन सक्छ । यद्यपि त्यही पुलमा डराइ-डराई महिला र बालबालिका आवतजावत गरिरहेको देख्न सकिन्छ ।

पिलर भासिएपछि निर्माण कम्पनीले मापदण्ड अनुसार पुल निर्माण नगरेको भन्दै छानबिन गरी कारबाही गर्न धनुषा र सिरहाका युवाहरू महिनौँसम्म आन्दोलन समेत गरेका थिए । उनीहरूको माग पनि सरकारले सुनेन ।

आन्दोलन सहभागी रहँदै आएका युवा अरबिन्द साहले यस भेगका जनताको समस्याप्रति सलकार गैर जिम्मेवार बनेको बताए ।

उनले भने, ‘सरकारी स्तरबाट कम्तीमा नदीमा सहज आवतजावतका लागि अस्थायी ठोस पुल बनाउन त सम्भव छ नि । त्यो पनि गर्न नसक्नु विडम्बना हो ।’


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *