भूकम्प प्रभावित क्षेत्रमा खटिएका एमाले स्वयंसेवक रिम्नामा केन्द्रित, ओलीले लिए कामको ब्रिफिङ
सुर्खेत । नेकपा एमालेले भूकम्प प्रभावित रुकुम पश्चिम र जाजरकोटमा खटाएका ११ सयजना स्वयंसेवक मंगलबार रिम्नामा भेला भएका छन् ।
समृद्धिका लागि संकल्प यात्रा क्रममा मध्यपहाडी राजमार्ग क्षेत्रको अभियान दुवै जिल्लाको सिमाना रिम्नामा पुगेपछि स्वयंसेवकहरु त्यहाँ केन्द्रित भएका हुन् ।
सो क्रममा स्वयंसेवक टोलीको नेतृत्व गरेका केन्द्रीय सदस्य किरण पौडेलले अध्यक्ष केपी शर्मा ओलीलाई अहिलेसम्म गरिएका कामहरुको सचित्र ब्रिफिङ गरेका छन् ।
एमालेका स्वयंसेवक विगत तीन सातादेखि विकेन्द्रित भएर अस्थायी आवास तथा विद्यालय निर्माण तथा भत्किएका संरचना व्यवस्थापनको काममा खटिएका छन् ।
स्वयंसेवकहरुलाई आवश्यक निर्देशन दिएर आ-आफ्नो क्षेत्रमा पठाइदैछ । सोही ठाउँमा कांग्रेस केन्द्रीय सदस्य तथा जाजरकोटका सांसद राजिवविक्रम शाहीलाई अध्यक्ष ओलीलाई भेटेर स्वागत गरेका छन् ।