सशस्त्र प्रहरीमा किन राखियो एउटा डीआईजी दरबन्दी खाली ? फेरि देउवा ‘घुसेको’ चर्चा – Nepal Press

सशस्त्र प्रहरीमा किन राखियो एउटा डीआईजी दरबन्दी खाली ? फेरि देउवा ‘घुसेको’ चर्चा

काठमाडौं । सशस्त्र प्रहरी बल (एपीएफ)मा नायब महानिरीक्षक (डीआईजी)को एउटा दरबन्दी रिक्त भएको झण्डै चार महिना पुगेको छ । उक्त रिक्त दरबन्दी पदपूर्ति गर्न सशस्त्र प्रहरी मुख्यालयले कुनै चासो देखाएको छैन ।

डीआईजी विधुर खड्काले गत भदौमा ३० वर्षे सेवा अवधिका कारण अवकाश पाएका थिए । महिनौं बित्दा पनि उक्त दरबन्दी खाली नै राखिएको छ । उम्मेदवार नै नभएर खाली राखिएको भने होइन ।

राजनीतिक शक्ति केन्द्रका नातेदारलाई बढुवा गर्ने चाँजोपाँजो मिलाउन थालिएको चर्चा सशस्त्र प्रहरीको माथिल्लो तहमा छ ।

दीपक अधिकारी, कृष्ण ढकाल, मनिष थापा, प्रकाश थापा र विनोदराज श्रेष्ठ सिनियर एसएसपीका रुपमा रहेका छन् । यीमध्ये प्रकाश थापा र विनोदराज श्रेष्ठले स्टाफ कलेज उत्तीर्ण गरेका छैनन् । सशस्त्र प्रहरीको डीआईजीमा बढुवा हुन स्टाफ कलेज उत्तीर्ण अनिवार्य शर्त हो ।

यी पाँचै जनाका भर्ना ब्याची दीपेन्द्र शाह, अञ्जनीकुमार पोखरेल, सुरेशकुमार श्रेष्ठ र पुरुषोत्तम थापा यसअघि नै डीआईजी भइसकेका छन् । उनीहरु सबै सशस्त्र प्रहरीमा इन्स्पेक्टरमा भर्ना भएर जागिर सुरु गर्ने पहिलो ब्याचका हुन् ।

उनीहरु एसएसपीमा बढुवा भएको झण्डै एक महिनापछि दीपेन्द्र कुँवरसहित १६ जनालाई एसएसपीमा बढुवा गरिएको थियो । कांग्रेस सभापति शेरबहादुर देउवाका नातेदारसमेत रहेका कुँवर आफ्नो भर्ना ब्याचमध्येबाट एक नम्बरमा रहेर एसएसपीमा बढुवा भएका थिए ।

शाह र पोखरेलसहितको ब्याच भर्ना भएको केही महिनापछि कुँवरसहितको टोली सशस्त्र प्रहरीमा भर्ना भएको थियो । तर, देउवा प्रधानमन्त्री भएको बेला नियम नै परिवर्तन गरेर उनलाई एसएसपीमा बढुवा गरी पहिलो नम्बरमा राखिएको थियो ।

कुँवर अघिल्लो ब्याचलाई समेत उछिनेर आईजीपी बन्न आकांक्षी देखिएका छन् । अहिले ठेक्कापट्टालगायतको काम हेर्ने प्रबन्ध विभागमा रहेका कुँवरले भिटो प्रयोग गर्न थालेपछि गृहले पनि सूचना प्रकाशन गर्न सकेको छैन ।

यसअघि कुँवरलाई एसएसपीमा बढुवा गर्न नियमावली नै संशोधन गरिएको थियो । उनी देउवाका स्वकीय सचिव भानु देउवाका बहिनी ज्वाइँ हुन् ।

सशस्त्र प्रहरी प्रवक्ता राजेन्द्र खड्काले रिक्त पदपूर्तिबारे स्पष्ट जवाफ दिएनन् । ‘यसको काम हाम्रो कप्र(कर्मचारी प्रशासन)ले गरिरहेको हुन्छ । कहिले एउटा पद रिक्त हुँदा पनि बढुवा गरिरहेको हुन्छ, कहिले २-३ वटा पद रिक्त रहेपछि पदपूर्ति हुन्छ’, एसपी खड्काले भने’, सशस्त्र प्रहरीमा तत्कालै डीआईजीको दरबन्दी रिक्त हुने सम्भावना छैन ।’

दरबन्दी थप र ३० वर्षे हटाउने खेल

सशस्त्र प्रहरीमा जुनियर एसएसपीलाई सिंगल बढुवा गर्दा विवाद आउने भएपछि केही महिनायता डीआईजी दरबन्दी थपको चर्चा पनि चलेको छ । हाल एपीएफमा २ प्राविधिकसहित १८ डीआईजीको दरबन्दी छ ।

एक जनालाई मात्र बढुवा गर्दा विवाद हुने र तत्काल डीआईजीको अर्को दरबन्दी रिक्त नहुने भएपछि दरबन्दी नै थप्ने गृहकार्य भएको थियो ।

‘तर, यो विषयमा अहिले केही पनि अघि बढेको छैन’, उच्च स्रोतले भन्यो ।

यता ३० वर्षे सेवा अवधि हटाउन पनि सशस्त्र प्रहरीको एउटा समूह लागिपरेको स्रोत बताउँछ ।

‘३० वर्षे सेवा अवधि हट्नेबित्तिकै अर्को खेल सुरु हुने भएकाले पछिल्लो समय यसलाई हटाउन पनि लविङ भइरहेको छ’, गृह मन्त्रालय स्रोत भन्छ ।

३० वर्षे सेवा अवधिका कारण आगामी वर्ष केही डीआईजीले अवकाश पाउँदैछन् भने एआईजी सीपी गौतम पनि बिदा हुँदैछन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर