भद्रपुरमा कैदी बन्दीहरुको संख्या क्षमताभन्दा बढी – Nepal Press

भद्रपुरमा कैदी बन्दीहरुको संख्या क्षमताभन्दा बढी

बिर्तामोड । झापा जिल्ला कारागार भद्रपुरमा कैदी बन्दीहरुको संख्या क्षमताभन्दा धेरै माथि पुगेको छ । साढे ७ सय क्षमताको कारागारमा १५ सय ८८ जना पुगेको जेलर मोहनलाल पनेरुले जानकारी दिए ।

कैदीवन्दी र थुनुवा संख्या उल्लेख्य मात्रामा वृद्धि भएको पनेरुको भनाई छ । आजको तथ्याङ्क अनुसार पुरुष १४ सय ९७ र १ बालक सहित ९१ जना महिला कारागारमा रहेको जानकारी दिए ।

त्यसमध्ये ४० प्रतिशत लागूऔषध मुद्दामा सजाय भोगिरहेका छन् । सबैभन्दा धेरै लागूऔषध, दोस्रोमा कर्तव्य ज्यान र तेस्रोमा जबरजस्ती करणी मुद्दामा कैदी बन्दी सजाय भुक्तान गरिरहेको बताइएको छ ।

क्षमताभन्दा दोब्बर कैदीवन्दी हुँदा व्यवस्थापन समेत कठिनाइ भइरहेको छ । भएकै संरचनामा टालटुल, टिन छाप्रो हालेर काम चलाइरहेको जेलर पनेरुको भनाई छ । उनका अनुसार अहिलेसम्म सुत्न कै लागि समस्या छैन, अब अझै बढेमा कठिनाइ हुन सक्छ ।

झापा कारागारको संरचना धेरै पुरानो भइसकेकाले जोखिम उत्तिकै बढेको छ । यस सम्बन्धमा कारागार विभागले पटक-पटक निरीक्षण गरे पनि व्यवस्थापनका लागि कुनै काम अघि बढाएको छैन ।

कारागारको नाममा केन्द्रमोडमा १० बिगा जमिन पनि छ । तर, अहिलेसम्म डीपीआर, नक्साको समेत काम नभएको पनेरु बताउँछन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *