गणतन्त्रलाई मजबुत पार्न मधेश प्रदेशसभामा प्रतिपक्षी एमालेले ल्यायो संकल्प प्रस्ताव
जनकपुरधाम । संघीय लोकतान्त्रिक गणतन्त्रात्मक व्यवस्थालाई मजबुत पार्नुपर्ने भन्दै मधेश प्रदेशसभामा संकल्प प्रस्ताव दर्ता भएको छ ।
आजको प्रदेशसभा बैठकमा प्रमुख प्रतिपक्षी दल नेकपा एमाले प्रमुख सचेतक हरिनाराण महतोले संकल्प प्रस्ताव प्रस्तुत गरे । संविधानको अनुसूची ६,७ र ९ संग सम्बन्धित प्रदेशका अधिकारहरु संघीय सरकारले दिनुपर्ने संकल्प प्रस्तावमा उल्लेख छ ।
प्रस्तुत संकल्प प्रस्तावमाथि अहिले दलका नेता तथा सांसदहरु समर्थन गर्नेक्रम जारी छ । कांग्रेसका प्रमुख सचेतक कुमरकान्त झाले उक्त संकल्प प्रस्तावलाई समर्थन गरिसकेका छन् । सबै दलले संकल्प प्रस्तावको समर्थन गर्ने बुझिएको छ ।
संकल्प प्रस्ताव प्रस्तुत गर्न रोस्टममा जाने क्रममा उनलाई मुख्यमन्त्री सरोज कुमार यादवले हात मिलाएर धन्यवाद दिएका थिए ।
जनताको ठूलो योगदानपछि देशमा आएको संघीय लोकतान्त्रिक गणतन्त्रात्मक व्यवस्था नै खारेजको माग उठेपछि मधेश प्रदेशसभाका सांसदहरु चिन्ता व्यक्त गरेका छन् ।
उनीहरुले वर्तमान व्यवस्थाविरुद्ध लाग्नेलाई देशद्रोह मुद्दा चलाउन संघीय सरकारसंग माग समेत गरेका छन् ।