प्रियंकाले सुनाइन् विद्यार्थी जीवनको घटना- आर्ट रुममा प्रेमीसँग ‘मेक आउट’ गर्दा स्कुलबाटै निकालिएँ
काठमाडौं । अभिनेत्री प्रियंका कार्की जब कुनै अन्तरवार्तामा प्रस्तुत हुन्छिन्, गसिपको मसला नदिइरहन सक्दिनन् । गसिपमा छाइरहनकै लागि पनि उनले जानीबुझी यस्ता विषयहरु आफैं अगाडि ल्याउने गरेको आरोप पनि लाग्ने गर्छ ।
प्रियंकाको ताजा अन्तरवार्ता युट्यूवमा हालै आएको छ, जहाँ उनले कमेडीयन सजन श्रेष्ठसँग लम्बेतान कुराकानी गरेकी छन् । २ घन्टा १५ मिनेट लामो यो कुराकानी खासमा बोरिङ नै छ, जहाँ प्रियंकाले अधिकांश समय आफ्नो श्रीमान आयूष्मानको प्रशंसा र आपसी सम्बन्धको बयानमा खर्चेकी छन् । उनले वैवाहिक जीवन कसरी टिकाउ बनाउने भनेर थुप्रै टिप्स दिइन् । कुराकानीमा उनले केही रोचक प्रसंगहरु पनि सुनाइन् ।
प्रियंकाले सुनाएको एउटा प्रसंग छ, विद्यालय पढ्दाखेरिको । उनले रातो बंगला स्कुलमा पढेकी हुन् । कक्षा ९ मा पढ्दै गर्दा आफूलाई एकपटक विद्यालयले निस्काशन गरेको उनले बताइन् । निस्काशन गर्नुको कारण रोचक रहेछ । उनले विद्यालयको आर्ट रुममा आफ्नो व्वाइफ्रेन्डसँग चुम्माचाटी गरेको शिक्षकले ‘रंगेहात’ देखेछन् ।
उनले भनिन्, ‘यो २००१ तिरको कुरा हो । म १३/१४ वर्षको थिएँ होला । मैले ब्वाइफ्रेन्डसँग आर्ट रुममा नै मेक आउट गरेपछि स्कुलले मलाई निकाल्यो । एकदमै धेरै हल्ला भएको थियो ।’
प्रियंकाका हालका श्रीमान आयूष्मान पनि त्यही विद्यालयमा पढ्थे । तर, उनी सानै थिए । त्यसबेला विद्यालयबाट निकालिएपछि आफू भर्याङमा बसेर रोएको र आयूष्मानले ‘दिदी नरुनुस्’ भनेर सम्झाएको उनले बताइन् ।
त्यसको निकैपछि मात्रै प्रियंका र आयूष्मान प्रेममा परेका थिए । अन्तरवार्तामा प्रियंकाले आयूष्मानको प्रशंसा गरेर थाकिनन् । उनले आयूष्मान निकै भलाद्मी पुरुष भएको बताइन् । प्रियंकाले सुनाइन्, ‘यतिसम्म कि हामी ५–६ पटक डेट जाँदा उसले मलाई किस गरेन । केही नलागेर मैले नै पहिलोचोटि उसलाई किस गरेको थिएँ ।’
प्रियंकाले विहेलगत्तै पहिलो सन्तान जन्माउनुको कारण पनि घतलाग्दो गरी सुनाइन् ।
उनको बयान यस्तो थियो-
जुन वर्ष हामीले विहे गर्यौँ, त्यही वर्ष मैले कन्सिभ गरेको हो नि त । मान्छेहरुले बेबी पाउँदैन यसले चाँडै भन्ने सोच्थे । त्यही बेला कोभिड भयो । हामीले एकदम इन्जोइ गरेउँ लकडाउन । मेरो लागि त फुल अन हनिमुन फेज जस्तो भयो ।
त्यसअघि कुनै पनि प्लानिङ थिएन यो वर्ष बच्चा पाउने भनेर । एक दिन अचानक मैले आयूषलाई के भनेँ भने ‘हेर बेबी, कोभिडको भ्याक्सिन संसारमा कहिले आउने, नेपालमा झन् कहिले आउने थाहा छैन, कहिले कोभिड सकिन्छ पनि थाहा छैन, होइन बेबी ? (आँखाले ईशारा गर्दै) हान्दिम् …’ यसरी नै… लिटरली यसरी नै भनेको हो । उसले हो र बेबी ? भन्यो । मैले हो हो… पाइदिउँ । (हाँसो)’
उनले पहिलो प्रयासमा नै आफूहरु सफल भएको बताइन् ।
‘वि ट्राइड । र ट्राइ गर्नेवित्तिकै भगवानको कृपाले कन्सिभ भइहाल्यो,’ उनले भनिन् ।
अन्तरवार्तामा प्रियंकाले आफ्नो डिभोर्सबारे पनि केही कुरा गरिन् । श्रीमानले अमेरिकामा नै स्थायी बसोबास गर्न चाहेको तर आफू नेपाल फर्किने जिद्दी गरेपछि कुरा नमिलेको उनको भनाइ छ ।
‘हामी झगडा गरेर छुट्टिएको होइन । मेरो एक्स हसबेन्ड नै मलाई एयरपोर्टमा छोड्न आएको थियो’, उनले भनिन् ।