म त झोले भएछु
नेपाली समाजमा राजनीतिक पार्टीका सदस्यहरूप्रति नकारात्मक टिप्पणी गर्दा व्यापक रुपमा प्रयोग हुने शब्द हो ‘झोले’ । सामान्य रुपमा बुझ्दा झोला बोक्नुलाई झोले भनिएको होला भन्ने बुभिन्छ । तर, बोलीचालीमा हामीले झोले शब्दको प्रयोग राजनीतिक नकारात्मकतालाई इंकित गर्न प्रयोग गरिरहेका छौं । अझ सरल भाषामा भन्दा आफ्नो नेता या पार्टी नेतृत्वले गलतै कुरा भने पनि सहज रुपले स्वीकार्ने प्रवृत्तिलाई झोले भन्न खोजिएको हो भन्दा फरक नपर्ला । अझ अर्को कोणबाट भनौंं- दास मनोविज्ञानलाई सभ्य भाषामा सम्बोधन गरिने पर्यायवाची शब्द हो झोले ।
मानव जीवन र वैचारिक आवद्धता एकै सिक्काका दुई पाटा हुन् । जीवन छ र त विचार पनि छ । मेरो विचारसँग सबै सहमत हुनुपर्छ भन्ने छैन । तर, मसँग विचार छ र त मेरो वैचारिक आबद्धता पनि छ । समान विचार भएकाहरू एक ठाउँमा आउनु या समूह बनाएर आफ्ना विचार स्थापनाका लागि प्रयासरत हुनु सामान्य विषय हो । बहुलवादमा आधारित बहुदलीय लोकतन्त्रको सुन्दरता नै के हो भने यसले फरक विचार राख्न पाउने अधिकारको सम्मान र सुरक्षा गर्छ । तसर्थ लोकतन्त्र कमी कमजोरीरहित छैन । तर, भएका व्यवस्थाहरूमध्ये सुन्दर व्यवस्था हो ।
मैले राजनीति मूलधारका स्थापित पार्टीभन्दा फरक दलबाट सुरु गरें । मूलधारका राजनीतिक पार्टी सबैलाई एकै डालोमा राखेर खुबै गाली पनि गरियो । लाग्न थाल्यो, राम्रै क्रान्तिकारी पो भइएछ ! सामाजिक सञ्जालमा यसरी लेखिन्थ्यो अनि सडक र बहसमा यसरी कराइन्थ्यो मानौं, मूलाधारका राजनीतिक पार्टीहरू त मूर्ख र भ्रष्टहरूको अड्डा हो । नियम-कानून नमान्ने, सत्तामा पुग्न देशै बेच्न पछि नपर्ने, लोकतन्त्र नामका लागि मात्र जप्ने जस्ता अनेक आरोप लगाइयो । ठीक कुरा गरिराछस् भनेर समाजले पनि ढाडसै दिएको हो । त्यतिखेर लाग्थ्यो, अब समाज हामीले बदल्ने हो, मैले बदल्ने हो ।
सामाजिक सञ्जालमा यसरी लेखिन्थ्यो अनि सडक र बहसमा यसरी कराइन्थ्यो मानौं, मूलाधारका राजनीतिक पार्टीहरू त मूर्ख र भ्रष्टहरूको अड्डा हो । नियम–कानून नमान्ने, सत्तामा पुग्न देशै बेच्न पछि नपर्ने, लोकतन्त्र नामका लागि मात्र जप्ने जस्ता अनेक आरोप लगाइयो । ठीक कुरा गरिराछस् भनेर समाजले पनि ढाडसै दिएको हो । त्यतिखेर लाग्थ्यो, अब समाज हामीले बदल्ने हो, मैले बदल्ने हो ।
समयसँगै केही अनुभव बटुली आज म मूलाधारकै राजनीतिक पार्टीमा आबद्ध हुन पुगेको छु । आज मलाई अराजक हुन छुट छैन । अरुलाई गाली गर्नु राजनीति हो भन्ने भाष्यबाट धेरै टाढा पुगेको छु । आज ममा एक किसिमको परिपक्वता विकास भएको अनुभव गरेको छु । यस्तो परिपक्वता जसले व्यवहारिक कठिनाइ बुझ्छ । रातारात जादु जसरी केही हुँदैन भन्ने अनुभूति भएको छ । सजिलो त अरुलाई गाली गर्न पो रहेछ । आफैं काम गर्न कति गाह्रो हुँदोरहेछ, आज मलाई महसुस भएको छ ।
आज म एक मूलधारको पार्टीको जिम्मेवार पदमा बसेर काम गरिरहेको छु । मेरा सतही गफ कसैले पत्याउनेवाला छैन । आफ्ना कुरा स्थापित गराउन मैले तथ्य र तर्कको सहारा लिनुपर्छ । सामाजिक सञ्जालका लोकप्रिय गफ र समाचारका शीर्षकका आधारमा बनाइने रायको अब बहसमा कुनै अर्थ छैन । मैले राखेका कुराहरूमाथि विभिन्न कोणबाट प्रश्न गरिन्छ । पार्टीले अपनाएको नीतिसंगत भयो कि भएन भनेर विश्लेषण हुन्छ । अन्तमा सो बहसले राष्ट्रिय हितको कहाँनिर प्रतिविम्बित गर्छ, त्यो प्रधान हुन आउँछ । हो, आज मलाई सजिलो छैन । किनकि म मूलधारे राजनीतिक पार्टीमा आबद्ध भएँ ।
मैले छोटो समयमा दुई किसिमको राजनीतिक अनुभव लिने मौका पाएँ । एउटा मूलधारको र अर्को मूलधारको विकल्पको । नेपालमा विकल्प दिने भनिएको राजनीति फस्टाउन नसक्नुको प्रमुख कारण त्यो आफैंमा कुनै विचार र सिद्धान्तको जगमा उभिएकै छैन । नेपाली जनता आजको परिस्थितिभन्दा माथि उक्लिन खोजिरहेका छन् । अर्थात् नेपाली जनता विश्वास खोजिरहेका छन् । यो विश्वास जित्न विकल्प दिन्छु भन्नेहरूले आफ्नो रोडम्याप दिन सकेका छैनन् । उनीहरू मूलधारका राजनीतिक दलहरूलाई एउटै डालोमा हालेर जनतामा निराशा सृजना गर्न चाहन्छन् । त्यो निराशाको बीचमा आफू आशाको किरण हो भनेर पुष्टि गर्न चाहन्छन् । यो दिगो राजनीतिको बाटो हुँदै होइन । नेपाली राजनीतिमा यस किसिमको प्रयोग भइरहन्छ र छोटो समयका लागि ती शक्तिहरू जुर्मुराएको पनि देखिन्छ । तर, ती शक्तिहरू दिगो हुन सकेनन् । माओवादी आफैं पनि विचारमा धुलमिल भएदेखि अस्तित्व रक्षाको स्थितिमा पुगेको छ ।
हिजो अधिनायकवादको विकल्प दिन खडा भएका एमाले र कांग्रेस विचारमा स्पष्ट थिए । अहिले पनि एकले उदारवादको नीति अपनाएको छ भने अर्कोले लोक कल्याणकारी राज्यको बाटो हुँदै समाजवादको यात्रा तय गर्ने सोच राखेको छ । उनीहरू आफ्नो विचारकै आधारमा आफ्ना नीतिहरू तय गर्छन् । सानोतिनो अध्ययन र अनुसन्धानले यो प्राप्ति हुने होइन । हो, आजका विकसित देशहरूको अनुपातमा हामीले धेरै गर्न बाँकी छ । तर, देशमा केही नभएको भने होइन । भूराजनीतिक अवस्थिति, अधिनायकवादबाट लोकतन्त्रसम्मको यात्रा, सामाजिक न्याय, समावेशीलगायतका विषय त्यति सहजै प्राप्त भएको होइन । यसका लागि भविष्यको सुनौलो उज्यालो देखेका कैयौंले आफ्नो जीवनका सुख त्याग गरेका छन् । अनि कैयौंले आफ्नो जीवन नै अर्पेका छन् ।
आज ममा एक किसिमको परिपक्वता विकास भएको अनुभव गरेको छु । यस्तो परिपक्वता जसले व्यवहारिक कठिनाइ बुझ्छ । रातारात जादु जसरी केही हुँदैन भन्ने अनुभूति भएको छ । सजिलो त अरुलाई गाली गर्न पो रहेछ । आफैं काम गर्न कति गाह्रो हुँदोरहेछ, आज मलाई महसुस भएको छ ।
यसरी निर्माण भएको मूलधारका राजनीतिक दलमा आज लाखौं मानिसहरू जोडिएका छन् । राजनीतिक दल भनेको हाम्रै समाजको प्रतिविम्ब हो । जस्तो हाम्रै समाजमा हरेक किसिमका मानिसहरू छन् त्यस्तै राजनीतिक पार्टीमा पनि सबैखाले मानिस छन् । जस्तो एकाध मानिस गलत भए भन्दैमा पूरै समाजलाई गलत भन्न मिल्दैन त्यस्तै केही सदस्य गलत भए भन्दैमा पूरै पार्टी नै गलत या पार्टीको विचार नै गलत भन्न मिल्दैन । हामीले चाहेको जस्तो डेलिभरी पक्कै भएको छैन । तर मूलधारका पार्टीमा आवद्ध लाखौं नागरिक नेपाली नै होइनन् भन्ने होइन, उनीहरुमा इमानदारी नै छैन भन्ने होइन । अनि ती सबै अयोग्य हुन् भन्ने त झन् हुँदै होइन ।
केही दिनअघि मात्र नेपाली कांग्रेसका सभापतिले एक सभामा बोलेको सुन्दै थिएँ- गफ गर्न जस्तो सजिलो काम गर्न कहाँ हुन्छ र ? सत्य हो, गफ गर्न जस्तो सजिलो काम गर्न हुँदै हुँदैन । हाम्रो जस्तो विविधता रहेको समाजमा त झन् अप्ठेरो विषय हो । एक पटक सोचौं न मूलधारका पार्टीको विकल्पमा आएको दाबी गर्नेहरुले आफ्नो महाधिवेशनसम्म गरेको इतिहास छैन । जान्नेलाई छान्ने नारा बोकेको रास्वपाले मूलधारका दलको लोकतान्त्रिक चरित्रप्रति कटाक्ष गरिरहँदा आफ्नो विधानले तोकेको समयमा महाधिवेशन गर्न नसकेको मात्र होइन विधानविपरीत निर्णय गरेर अहिले विधान सच्याउनु पर्ने बाध्यता आइपरेको छ ।
जाजरकोटको भूकम्पले जनधनको क्षति हुँदै गर्दा रास्वपाले आफूलाई कामको ठेक्का दिन आधिकारिक निर्णय नै गरेको थियो । तर, जब मैदानमा खटिने समय आयो, सबैभन्दा अग्र स्थानमा एमालेका स्वयंसेवकहरू थिए । अनि दोस्रो स्थानमा कांग्रेसका स्वयम्सेवकहरू थिए । नभएका कामको खेती गरेर जनतामा अराजकता फैलाउने र पपुलिष्ट गफ गरेर समर्थन जुटाउनेहरू विकल्प हुन सक्दैनन् । हो, हिजो म त्यही विकल्पको क्रान्तिकारी थिएँ । तर, आज म मूलधारको झोले भएछु । मेरो इमानदारीमा कति पनि परिवर्तन आएको छैन, कल्याणकारी राज्यप्रतिको मेरो प्रतिबद्धता डगमगाएको छैन । हिजो मलाई गाली र गफ गर्न प्रोत्साहन मिल्थ्यो । तर, आज मलाई अध्ययन र काम गर्न दबाब छ । त्यसैले आज म झोले भएछु ।
लेखकको बिचारसँग म आफ्नो सहमति जनाउन चाहन्छु । अहिले राजनीतिक कार्यकर्ताहरूलाई होच्याउन प्रयोग गरिने शब्द नै “झोले” शब्द हो । त्यसको प्रतिवाद कुनै राजनीतिक पार्टीको दर्शनप्रति प्रतिवद्ध लेखकहरुले चाल नपाए झै मौन बसेकाछन् ! यसलेखले त्यस्ता लेखकहरुलाई पनि केही हिम्मत प्रदान गर्नेछ भन्ने विश्वास लिएको छु ।