पढ्न गएका कपिलवस्तुका रूपक परिवारलाई नभनी रुसी सेना भर्ती भए, एक महिनाको तलब पनि घरमा पठाउन पाएनन् – Nepal Press

पढ्न गएका कपिलवस्तुका रूपक परिवारलाई नभनी रुसी सेना भर्ती भए, एक महिनाको तलब पनि घरमा पठाउन पाएनन्

रुपन्देही । कपिलवस्तुको वाणगंगा नगरपालिका वडा नम्बर– १ मन्द्रेलीटोलका मानबहादुर कार्की र लक्ष्मी कार्कीका २४ वर्षीय एक मात्र छोरा रूपक कार्की ‘अध्ययन र रोजगारीका लागि रुस गएका थिए ।

रूपककी दिदी सरलाको चार वर्षअघि नै विवाह भइसकेपछि र रूपक पनि रुस गएपछि कार्की परिवार सधै उनको खबर के होला भनेर बसिरहेका हुन्थे ।

उमेरले ५५ कटेका मानबहादुरको परिवारमा छोराको अध्ययनका लागि रुस पठाउन लाग्ने करिब १२ लाख रकमको व्यवस्था गर्ने आँट पनि थिएन तर आफ्नो र छोराको भविष्यका लागि २०७९ असार पहिलो साता ऋण धन गरेर पठाएका थिए ।

कार्की परिवारको भरोसा रहेका उनै रूपकको केही समय केही दिनअघि मृत्युको खबरले परिवारको सबै भविष्य अन्धकारजस्तै बनेको छ ।

०७९ असारमा रुस पुगेका रूपक ६ महिनाअघि रुसी सेनामा भर्ती भएको खबर आयो । रूपकले आफू रुसी सेनामा भर्ती भएको सूचना दिएपछि बुवा आमाको मन आत्तिन थालेको थियो ।

छोरा रुस गएपछि उनीहरूले रुस र युक्रेनको युद्ध भइरहेको समाचार सुनिरहेका थिए । परिवारमा रूपकले गत असारमा घरमा फोन गरेर अब युद्ध भइरहेको क्षेत्रमा जाँदै छु, ६ महिना फोन गर्न पाइँदैन, नआत्तिनुहोला भनेका रहेछन् ।

छोराले दिएको ६ महिनाको समय सीमा कुर्न बुवा आमाहरूलाई निकै गाह्रो भयो । फोन वा कुनै खालको सम्पर्क थिएन । परिवारका सदस्यहरू आत्तिन थालेपछि रूपकका आफन्त (फुपूका छोरा) करण रायमाझीले एक महिनाअघि खोजीका लागि भन्दै परराष्ट्र मन्त्रालयमा निवेदन दिए ।

तर सोमवार सरकारले रुस–युक्रेन युद्धका क्रममा रूपकसमेत मृत्यु भएको नाम सार्वजनिक गरेपछि परिवारका सदस्यहरू रूपकका बुवा आमालाई कसरी सुनाउने भनेर त्रासमा छन् । सरकारी सूचनाबाट घटना विवरण पाएका आफन्तहरू कसैले यो कुरा रूपकका बुवाआमालाई भन्ने हिम्मत गरेका छैनन् ।

वाणगंगा नगरपालिका वडा नं १ का वडाध्यक्ष सञ्जुकुमार सारु मगरले रूपकको मृत्यु भएको भनेर वडामा इमेल आएपछि आफन्तलाई जानकारी दिइएको बताए । रूपकका फुपाजु नेत्र रायमाझीले यो खबरले आफूलाई अत्यास लागेको मात्रै छैन बुवाआमालाई यो सूचना कसरी सुनाउने भन्ने हिम्मत आएको छैन ।

‘आफ्नो बाँच्ने सहारा छोरो फर्केला र बुढेसकालमा सुख पाइएला भन्ने आशमा बसेका बुवाआमालाई मृत्युको खबर सुनाउनुजत्तिको पीडादायी कुरा के होला रु’ उनले भने ।

वडाबाट शुरूमा यो खबर सुनेकी रूपककी फुपू महिन्द्रकुमारी रायमाझी अत्तालिएकी छन् । ‘यो खबरले अहिले गाउँभर सन्नाटा छाएको छ । ‘पढ्न भनेर रुस गएको मान्छे कसरी सेनामा पुग्यो होला ? यस्तो खबर माइतीलाई कसरी सुनाऊँ, दाजुभाइ यसै विक्षिप्त छन् ?’ उनले भनेकी छन् ।

वडाध्यक्ष मगरले सरकारले रूपकको शव ल्याउन पहल गर्नुपर्ने बताए ।

स्थानीयका अनुसार रूपकसँगै अन्य चारजना पनि सँगै रुस गएका थिए । दुईजना वाणगंगाकै र एकजना अर्घाखाँचीका हुन् । घाइते भएका उनीहरूलाई रुसी सेनाले उपचारपछि फेरि युद्धग्रस्त क्षेत्रमा पठाएको छ ।

रुसी सरकारले अहिले त्यहाँ पढ्न र अन्य रोजगारीको सिलसिलामा पुगेकाहरूलाई १ वर्ष सेनाको तालिम दिएर युद्धमा काम गरेपछि रुसको नागरिक बनाउने बताएको छ । यही प्रलोभनमा परी नेपाली युवाहरू रुसी सेनामा भर्ती भइरहेको समाचार नेपाल प्रेसले पहिलो पटक प्रकाशन गरेको थियो ।

रूपकको मृत्यु भएको खबर पाएपछि पूर्वमन्त्री तथा प्रदेश सांसद विष्णु पन्थी परिवारलाई सान्त्वना दिन मङ्गलवार उनको घरमा पुगे तर कसरी कुरा सुरु गर्ने भन्ने विषयमा उनी अलमल परे ।

पाल्पा मुझुङ्गबाट २०४८ सालमा बसाई सरेर कपिलवस्तु बाणगंगा १ मन्द्रेली टोलमा आएका मानबहादुर र लक्ष्मी कार्कीको एकमात्र छोरा रूपक १२ लाख खर्च गरेर काठमाडौँ बागबजारको ड्रीम इन्टरनेसनल कन्सल्टेन्सीबाट विद्यार्थी भिसामा रुस गएको र होटेलमा काम गर्दै गरेको र यही जेठमा मात्र रुसी सेनामा भर्ना भएर १ महिना तालिम पछि युक्रेन लडाइँमा गएको पन्थी बताउँछन् ।

परिवारको भरोसा रहेका रूपकको अकल्पनीय मृत्युको सूचनाले मर्माहत र दुखित भएको बनाएको बताउँदै उनले अब शव छिटो नेपाल ल्याउन आवश्यक प्रक्रिया गर्न तथा क्षतिपूर्ति र राहतका लागि नेपाल सरकारसँग माग गरेका छन् ।

रूपकसँगै गएर रुसी सेनामा भर्ती भएका सोही ठाउँका यमराज पौडेल क्षेत्रीले अहिले परिवारलाई यसको सूचना प्रवाह गरिरहेका छन् । सांसद पन्थीले पौडेलसँग सहकार्य गरेर रूपकको शव ल्याउने विषयमा पहल भइरहेको बताए ।

स्थानीय हरि अधिकारीले कति सपनासहित बाहिरिन बाध्य मध्यम परिवारमा एक मात्रै छोरा गुमाउनु पर्दाको असह्य पीडा भनी साध्य नभएको बताउँदै सरकारले यी परिवारलाई उचित राहत र सहयोग गर्नु पर्ने बताउँछन् ।

उनले कार्की परिवार छोराको बेखबरले गएको दशैं तिहार चाडपर्वदेखि नै छटपटिएको बताउँछन् ।

स्थानीय बुद्धि भट्टराई नेपाली युवाहरू रोजगारीको खोजीमा गैरकानुनी तवरले अर्कैको देशको सैनिक भै यसरी मृत्युवरण गर्नुपर्ने र परिवारलाई तड्पिन बाध्य बनाएको पीडा कसले बुझ्ने भनेर प्रश्न गरेका छन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *