भगवान कोइरालाको मुटुको बकपत्र
मुटुका डाक्टर भगवान कोइरालाको वृत्तान्त ‘हृदय’का सबै अक्षर र शब्दहरु पढियो । सबैलाई थाहा छ कि कोइराला नेपालका सफल डाक्टरमध्ये एक हुन् । मुटु मान्छेको सबैभन्दा प्यारो अङ्ग मानिन्छ । मान्छेका भावना, प्रेम र संवेदनालाई मुटुसँग जोडेर हेरिन्छ । खासमा मुटुसँग ती कुराको साइनो छैन । डाक्टर कोइरालाको मुटुको साइनोका कारण नेपालमा ‘मुटु क्रान्ति’ ल्याउन सफल भएको छ ।
कोइरालाले पुस्तकको सुरुमै स्वीकार गरेका छन् कि कतिपय घटनाक्रमहरु वाक्क लाग्ने गरी लम्बिएका होलान् र कतिपय थप जान्न पाए हुन्थ्यो भन्दाभन्दै टुंगिएका पनि होलान् । पुस्तक पढ्दाखेरि त्यस्तै अनुभव हुन्छ । किताब २२८ पेजको सामग्रीमा समेटिएको छ ।
डाक्टर कोइरालासहितका धेरै डाक्टरले मुटुको महत्वलाई घरघर र व्यक्ति-व्यक्तिसम्म पुर्याउन सकेका छन् । देशमा थुप्रै मुटुका डाक्टरहरु छन् । जनताले कोइरालालाई मुटुका नेता डाक्टर मान्छन् । भगवान कोइरालासँग जाँच गर्न जाने बिरामीको आधा रोग त्यत्तिकै निको हुन्छ भन्ने मान्यता छ । तर, दुखान्त, एक जना पाल्पाका बिरामी उनको समीपमा गएर अपरेशन गरिदिन्छु र छिट्टै निको हुन्छ भन्नेबित्तिकै आफ्नै आँखा अगाडि मृत्यु भएको घटना निकै हृदयविदारक लाग्छ । देशको कहलिएको डाक्टरकै अगाडि बेहोस भएको बिरामीलाई बचाउन नसकिने रहेछ भन्ने मुटुरोगको जटिलता पेश गरिएको छ ।
डाक्टर कोइरालाले पुस्तकमा जुन विषयहरु समेटेका छन्, १३ वर्षअगाडि म तिनै विषयमा एउटा अन्तर्वार्ता गर्न चाहन्थें । उनले मलाई चिन्दैन थिए । पत्रिकामा कोइराला खुबै छाइरहने भएको कारण मलाई पनि तिनकै अन्तर्वार्ता लिनुपर्छ भन्ने लागेको थियो । म अन्तर्वार्ताको लागि गंगालाल अस्पताल गएँ र उनका सहयोगी (अहिले नाम बिर्सिएँ)लाई भेटेर सम्पूर्ण परिचयसहित अन्तर्वार्ताको विषयवस्तुको जानकारी दिएँ । उनले पर्सिपल्ट फोन गर्न भने । सहयोगीले फोन नगरेपछि मैले दुई पटक ताकेता गरें ।
मैले कोइरालासँग अन्तर्वार्ता गर्न चाहनुको बेग्लै कारण थियो । नेकपा (मसाल)को मुखपत्रको रुपमा प्रकाशन हुँदै आएको हाँक साप्ताहिकमा म काम गर्थें । २०६३ मंसिरमा जन्मको आधारमा नागरिकता दिने विधेयक संसदले पारित गरेको थियो । राष्ट्रिय जनमोर्चाका सांसद चित्रबहादुर केसीसहितले उक्त विधेयक पारित गरेपछि मैले हाँक साप्ताहिकमै पार्टीका सांसदहरुलाई राष्ट्रघाती भनेर लेखें ।
पार्टीका सांसदहरुलाई पार्टीको मुखपत्रमै राष्ट्रघाती भनेर लेखेपछि म हाँक साप्ताहिकबाट निकालिएँ । हाँकबाट निकालिएपछि ‘लालटिन’ मासिक पत्रिका दर्ता गरेर निकाल्ने तयारी गरें । युवा र विद्यार्थीहरुलाई लक्षित गरिएको पत्रिकामा मेरो पहिलो रोजाइमा डाक्टर भगवान कोइराला परेका थिए । कोइरालाको पारिवारिक पृष्ठभूमि, पढाइ, रुचि, संघर्ष, गंगालाल आउँदासम्मको यात्रा आदिका बारेमा प्रश्नावलीहरु तयार गरेको थिएँ ।
पारिवारिक घुलमिल देखाउन बहिनीले भाइटीकाको लागि पर्खिने गरेको प्रसंग उल्लेख गरेको भए पनि आफ्नी सुत्केरी श्रीमती सान्द्रालाई छोडेर महिलाको अपरेशन गर्न गएको प्रसंग भने निकै रोचक छ । व्यवसायिक जीवन बाँचेका सबैले परिवारलाई समय दिन सकेका हुँदैनन् भने डाक्टर कोइरालाले नदिनु कुनै अनौठो भएन ।
उनका सहयोगीले कोइरालाले अहिले अन्तर्वार्ता नदिने जानकारी गराए । उनले यो पनि भने कि त्यो कस्तो मान्छे हो ? हाइ-प्रोफाइल व्यक्तिको अन्तर्वार्ता लिएर फाइदा उठाउने मान्छे पो हो कि भनेर डाक्टर साबले शंका गरेको जस्तो लाग्यो भनेर मलाई जानकारी दिए । मलाई भाउन्न छुट्यो । मैले पूरै परिचय दिँदा र विषयवस्तुबारे सम्पूर्ण जानकारी दिँदा पनि अन्तर्वार्ता नदिने, सिंगो संसार एक्लै थामेको छु जस्तो गर्ने कस्तो डाक्टर रहेछन् भन्ने लाग्यो । कोइरालाले अन्तर्वार्ता नदिएपछि मैले त्रिभुवन विश्वविद्यालयका पूर्वउपकुलपति माधवराज शर्मा (हाल दिवंगत)को अन्तर्वार्ता लिएर पत्रिका प्रकाशन गरें ।
मैले जुन विषयमा प्रश्नहरु तयार गरेको थिएँ, तिनै विषयहरुको विस्तृत लेखनसहित ‘हृदय’ प्रकाशन भएको छ । डाक्टर कोइरालाले मलाई अझै चिन्दैनन् होला । मलाई तिनको लगाव र योगदानप्रति निकै रुचि भएको हुनाले ६५० रुपैयाँ मूल्यको पुस्तक किनेर पढेपछि केही लेख्नुपर्छ भन्ने लागेको छ । जम्मा ५८ वटा शीर्षकमा विभाजन गरिएको पुस्तकका सबै शीर्षकहरु पढ्दा अल्छी लाग्दैन । पहाडी क्षेत्रका मान्छेहरुको बाल्यकाल त सबैको लगभग उस्तै हुनेरहेछ । विद्यालय, गोठालो, गाईवस्तु चराउँदाको रमाइलो, खेलकुद, आफूले काम बिराउँदा घरपरिवारलाई ढाँट्ने, साथीसंगतीहरुसँगको रमाइलो आदि आममान्छेको जस्तै कुरा सामान्य हुन् । डाक्टर कोइरालाको हुर्काइ पनि त्यस्तै रहेछ ।
पुस्तकमा पढ्नलायक विषयवस्तु भनेको उनले पढ्दा गरेको मेहनत, अमेरिका र क्यानडाको अभ्यास, शिक्षण र गंगालाल अस्पतालमा गरेको संघर्ष, व्यवस्थापकीय क्षमता, लक्ष्य र उद्देश्यप्रतिको प्रतिबद्धता, विरोधीहरुको बीचबाट आफूलाई सफल बनाउन गरेको निरन्तरको प्रयत्न नै हो । यति हुँदाहुँदै पनि पुस्तकमा केही झूट पस्किइएको छ । लेखक, सम्पादक, प्रकाशक कसैले पनि झूट थाहा पाउन सकेको देखिएन । प्रशंसा गर्दागर्दै झूट पस्किएको थाहा नपाउनु अचम्मै भएको छ । पुस्तकको १८९ पेजमा कोइरालाले १५ हजार मुटुको अपरेशन गरेको तथ्यांक दिइएको छ । पुस्तकको १९१ पेजमा पेटमा बच्चा भएकी महिलाको अपरेशनको सन्दर्भमा डाक्टर कोइरालाले १५ हजार मुटुको अपरेशन गरेको सन्दर्भ लेखिएको छ । पुस्तकको अन्तिम गाता र अन्तिम पानामा करिब १२ हजार अपरेशन गरेको लेखिएको छ । तीन हजारको फरक कसरी आयो त ? प्रशंसा गर्दा, अपरेशन धेरै गरेको देखाउँदा त्यस्तो भएको हो भन्ने जस्तो देखिन्छ । डाक्टर कोइरालाले पाँच हजार अपरेशन गरेको भए पनि नेपालको लागि लाखै छ भने बढाइचढाइ चाहिं किन गर्नुपर्थ्यो ? यसको बारेमा डाक्टर कोइरालाले सार्वजनिक जानकारी दिनुपर्छ भन्ने लाग्छ ।
‘नेपालीको इम्युनिटी पावर अलि कडा हुने भएकाले होला, सितिमिती ज्यान गइहाल्दैन’, भीर माहुरीले बुबाआमाको चौरासीमा जम्मा भएका आफन्तहरुलाई टोक्दाको प्रसंगमा यस्तो लेखिएको छ । र, गोराहरुलाई दुई वटाभन्दा बढीले टोकेको भए मर्ने सम्भावना धेरै हुने प्रसंग उल्लेख छ । डाक्टर कोइरालालाई यहीनिर प्रश्न गर्न सकिन्छ, नेपालीको इम्युनिटी पावर धेरै हुन्छ भनेर कोरोना महामारीको समयमा प्रधानमन्त्री केपी ओलीले भनेकै थिए । कोरोनाले पनि गोराहरुलाई धेरै लग्यो । नेपालीलाई लगेन । त्यही इम्युनिटी पावर धेरै भएको हुनाले हो ? यदि हो भने डाक्टर कोइरालाले कोरोनाको बेलामा यो कुरा किन उल्लेख गरेनन् र आफ्नो पुस्तकमा लेखे ? यसको जवाफ उनले दिन्छन् कि दिंदैनन्, पछि थाहा हुनेछ । पुस्तकमा चाहिं नेपालीको इम्युनिटी पावर धेरै हुने लेखेका छन् ।
पारिवारिक घुलमिल देखाउन बहिनीले भाइटीकाको लागि पर्खिने गरेको प्रसंग उल्लेख गरेको भए पनि आफ्नी सुत्केरी श्रीमती सान्द्रालाई छोडेर महिलाको अपरेशन गर्न गएको प्रसंग भने निकै रोचक छ । व्यवसायिक जीवन बाँचेका सबैले परिवारलाई समय दिन सकेका हुँदैनन् भने डाक्टर कोइरालाले नदिनु कुनै अनौठो भएन । सामान्य घटनालाई व्यक्त गरेका कारण कोइरालाले व्यक्त गरेका पारिवारिक प्रसंगहरु भने फिका लाग्छन् ।
‘मस्को कता पर्छ ?’, कोइरालालाई सोधिएको प्रश्न । मस्को जता परोस्, तपाईंले आफ्नो नम्बर हाले भइगो नि ! बंगलादेशको सीटमा तपाईंहरुले मलाई राम्रो जवाफ दिँदादिँदै गुल्ट्याएकै हो, यसमा मलाई फेल गर्न सक्नुहुन्न’ भन्नसक्ने तागत सायद कोइरालासँगै थियो । किनभने उनी उत्कृष्ट विद्यार्थी थिए ।
जेठ १९ (राजदरबार हत्याकाण्ड २०५८)को शीर्षकमा कोइरालाले लेखेको प्रसंगमा दरबारका सेक्युरिटीका नाटकका बारेमा गजबसँग अनुमान लगाउन सकिन्छ । गोरखशमशेरको अपरेशन गर्न आर्मी अस्पतालमा उपकरण नभएको कारण शिक्षण अस्पतालमा लैजान डाक्टरहरुले सल्लाह गरी गोरखशमशेरकी आमा अम्बिका राणासँग प्रस्ताव राख्दा ‘सेक्युरिटी रिजनले म मेरो छोेरालाई आर्मी हस्पिटलबाट अन्यत्र लैजान दिन्नँ, जे गर्नु छ, तपाईंहरु यही गर्नुस्’ भनेको प्रसंगले अचम्मित पार्छ । दरबारको सेक्युरिटी ध्वस्त भएर त्यति ठूलो हत्याकाण्ड मच्चिइसक्दा पनि दरबारका मान्छेको होश खुलेको रहेनछ । डाक्टरले सुविधासम्पन्न अस्पतालमा लगेर उपचार गर्दा पनि तिनीहरुलाई बन्दुककै सेक्युरिटी चाहिने रहेछ । दरबारियाहरु मृत्युको मुखमा पुगेको व्यक्तिको लागि पनि कति नक्कली सेक्युरिटीमा विश्वास गर्ने रहेछन् भन्ने त्यस प्रसंगले बताउँछ ।
खेलको जीवन
डाक्टर कोइराला नियमित खेलाडी हुन् भन्ने कुरालाई उनले निकै महत्व दिएका छन् । लामो समय खेलेर थाकेको, थकाइकै कारण निद्रा र सुतेको प्रसंगहरुले खेलको महत्व दर्शाउँछ । यदि उनले आफूलाई खेल जीवनमा समर्पित नगरेको भए यो तहको शारीरिक तथा मानसिक तन्दुरुस्ती हुँदैन थियो होला । उनले खेल जीवनप्रति लगाव राखेको देखिन्छ ।
आफ्ना दाजुले साथीलाई टर्च लाइट दिएर व्याडमिन्टन साटेको प्रसंगले रमाइलो बनाउँछ । कोइराला व्याडमिन्टन र टेनिस खेलाडी पनि रहेछन् । उनी पाल्पा, काठमाडौं, अमेरिका, क्यानडा, ढाका जहाँ जाँदा पनि खेललाई नियमित गरेका प्रसंगहरु पुस्तकमा छन् । सानोमा सिन्दूरे गोरु चढेर घाइते भएको प्रसंगले पुस्तक पढ्दा सबैलाई केटाकेटी उमेरमै लैजान्छ ।
पढाइ
सरकारी विद्यालयको पढाइ जहाँ पनि उस्तै रहेछ- गणित, अंग्रेजी र विज्ञानमा विद्यार्थीहरु कमजोर हुने । देशको नियति हालसम्म पनि त्यस्तै रहेको छ भने आजभन्दा ५० वर्ष अगाडि झनै हालत खराब थियो होला । विसं २०३३ सालमा एसएलसी दिएका डाक्टर कोइरालाको गणितमा जम्मा ३२ आउनु र अहिलेको अवस्था उस्तै उस्तै देखिनु नेपालको शिक्षा नीतिको निरन्तर कमजोरीको पाटो हो ।
हेल्थ असिस्टेन्टमा भर्ना भएको विद्यार्थी पढ्दै र काम गर्दै जाँदा नेपालकै दामी, नामी र क्षमतावान डाक्टर हुन्छु भनेर त कोइरालाले पनि सोचेका थिएनन् होला । तर, आफ्नो पढाइ र पेशामा निरन्तर लगावकै कारणले उनले सफलता चुमेका हुन् भन्ने कुरामा दुई मत भएन । आफू उत्कृष्ट भएर पनि बंगलादेश पढ्न जान नपाउँदाको झोंक सोभियत संघमा पढ्न जान अन्तर्वार्ता लिँदा उनले दिएको जवाफ सामान्य मान्छेले दिन सक्दैन । ‘मस्को कता पर्छ ?’, कोइरालालाई सोधिएको प्रश्न । मस्को जता परोस्, तपाईंले आफ्नो नम्बर हाले भइगो नि ! बंगलादेशको सीटमा तपाईंहरुले मलाई राम्रो जवाफ दिँदादिँदै गुल्ट्याएकै हो, यसमा मलाई फेल गर्न सक्नुहुन्न’ भन्नसक्ने तागत सायद कोइरालासँगै थियो । किनभने उनी उत्कृष्ट विद्यार्थी थिए ।
कोइरालाको सोभियत संघ र हालको युक्रेनको पढाइका सन्दर्भहरु पनि धेरैको लागि रोचक लाग्छन् । ट्रली बसको यात्रा, पढाइ, ड्युटी, खेल, थकान, समय अभावका कारण खाना खान नपाउने जस्ता कारणले आफैं न्यूरोको गम्भीर बिरामी अवस्थामा पुगेका प्रसंगहरुले संघर्ष गर्न सजिलो छैन भन्ने पुष्टि गर्छन् । यति कठिन अवस्थाबाट गुज्रिएर शत प्रतिशत अंक ल्याएर पास गर्नु सामान्य सफलता होइन । बंगलादेशमा विशेषज्ञ सर्जन हुन पढ्न गएको प्रसंग पनि निकै रोचक लाग्छ ।
कैयौं सन्दर्भहरुमा म एक्लैले सबै समस्या समाधान गरेको हुँ भन्ने भाव पुस्तकमा प्रकट भएको छ, त्यति साह्रो आत्मकेन्द्रित चाहिँ नभएको भए पनि हुन्थ्यो होला । उनी समूहका नेता थिए, सही हो । तर, उनलाई नेता बनाउन समूहमा रहेर उनका मनपर्ने र नपर्ने व्यवहार सहँदै सहयोग गरेकाहरुको योगदान पनि उत्तिकै छ भन्ने कुरा बुझाउन सकेको देखिँदैन ।
अंग्रेजी शब्दहरु एनेस्थेसिया, कार्डियोथोरासिक, रेजिडेन्ट, सर्जरी, कार्डियोभास्कुलर, ओपनहार्ट सर्जरी, अर्थाेपेडिक सर्जन, प्लास्टिक सर्जरी, पफ्र्युजनिस्ट, रेफर जस्ता शब्दहरुलाई प्रत्यारोपण जस्तै नेपाली शब्दहरु किन प्रयोग नगर्ने ? म आफैं ल्याबको विद्यार्थी हुँ । मलाई पनि अंग्रेजी शब्दहरु र त्यसको अर्थ खुलाउन गाह्रो पर्छ भने सामान्य मान्छेले मेडिकल अंग्रेजी शब्दहरुको अर्थ कसरी बुझ्छन् भन्ने कुरा पुस्तकमा ख्याल गरिएको देखिँदैन । मेडिकल अंग्रेजी शब्दहरुलाई नेपाली भाषामा बुझाउन सकेको भए झनै राम्रो हुन्थ्यो ।
व्यवसायिक जीवन
सानी बच्ची राधिका, जो नेपाली सेनामा कार्यरत जवानकी छोरी हुन्, उनको पहिलो ओपनहार्ट सर्जरी २०५३ फागुन १६ गते भएको थियो । अहिले उनले विवाह गरेर बच्चा पनि जन्माइसकेकी छन्, मात्रै होइन, ओपनहार्ट सर्जरीको अगुवाइ गर्ने डाक्टर गोविन्द शर्मा, बीएम सिंह र भगवान कोइरालासहित नेपाली डाक्टरको समूहको इतिहास लेखिनु आवश्यक थियो- निकै विस्तारपूर्वक कोइरालाले लेखेका छन् । पढ्दै जाँदा नेपाली डाक्टरहरुप्रति निकै गौरव लाग्छ । ‘नेपालको पहिलो ओपनहार्ट सर्जरी’ शीर्षक पढ्दा हामी नयाँ युगमा प्रवेश गरेको अनुभूत गराउँछ ।
डाक्टर कोइराला अमेरिका र क्यानडा नगएका भए नेपालमा मुटुको उपचारलाई यति माथि उठाउने र व्यक्तिगत रुपमा पनि उनले यति प्रसिद्धि कमाउँथे होलान् ? त्यो भन्न कठिन पर्छ । पुस्तकमा उल्लेख भएअनुसार कोइरालाले अमेरिका र क्यानडामा धेरै सिक्ने अवसर पाएका छन् । उनले आफ्नो सिकाइलाई आफ्नै देशमा यसरी सदुपयोग गरेका छन्, त्यसका लागि उनी साँच्चिकै महान छन् । भगवान कोइराला सामेल भएर क्यानडामा गरेको मुटुको प्रत्यारोपणको प्रसंग निकै साहसिक र रोमाञ्चक छ । ब्रेन डेथ भएका मान्छेको मुटु निकाल्न हवाईजहाजमा गएर मुटु झिकेर, फर्किएर अर्काे बिरामीमा सफल प्रत्यारोपण गर्न पाउनु नेपाली डाक्टरको लागि मात्रै नभएर नेपालकै लागि दुर्लभ संयोग मान्नुपर्छ । कोइरालाले नेपाल र बंगलादेशमा मुटुको प्रत्यारोपणको दृश्य कसरी देख्न पाउनु ? क्यानडामा चाहिं आफैं सामेल भएर मुटुको प्रत्यारोपण जस्तो दुर्लभ कार्यमा आफूलाई सफलतापूर्वक अवतरण गरेका छन् ।
सफल व्यवस्थापक
भगवान कोइराला पुस्तकमा इमानदार देखिन्छन् । उनले कहींकतै बेइमानी गरे कि गरेनन् भन्ने कुरा उनैले खुलाएको भए थाहा हुन्थ्यो । तर, कोइरालाले बिरामीप्रति चाहिं कुनै बेइमानी गरेका छैनन् भन्न सकिन्छ । जेसुकै भए पनि उनी कुशल व्यवस्थापक भएको प्रमाणित गरेका छन् । डाक्टर सशांक कोइरालाको पहल त्यसको लागि निर्णायक देखिएको छ । डाक्टर रामेश कोइराला, डाक्टर मनबहादुर केसी, डाक्टर अरुण मास्केलगायत युवा डाक्टरहरुको टीमका कारण गंगालाल हृदय केन्द्रले सफलताको विन्दू चुमेको रहेछ भन्ने कुरा पुस्तकमा वर्णित छ । गंगालालमा उनले जेजस्ता कठिनाइको सन्दर्भहरु उल्लेख गरेका छन्, ती नेपाली समाजमा आइरहने समस्या हुन् ।
नेपालीहरुको जस्तो खालको चेतनास्तर छ, त्यस्तै समस्या आउँछन् भन्ने कुरा कोइरालाले बुझ्न सकेकै देखिन्छ । कैयौं सन्दर्भहरुमा म एक्लैले सबै समस्या समाधान गरेको हुँ भन्ने भाव पुस्तकमा प्रकट भएको छ, त्यति साह्रो आत्मकेन्द्रित चाहिँ नभएको भए पनि हुन्थ्यो होला । उनी समूहका नेता थिए, सही हो । तर, उनलाई नेता बनाउन समूहमा रहेर उनका मनपर्ने र नपर्ने व्यवहार सहँदै सहयोग गरेकाहरुको योगदान पनि उत्तिकै छ भन्ने कुरा बुझाउन सकेको देखिँदैन । आफूलाई असहयोग गर्नेहरुको नाम नलिइकन जसरी उल्लेख गरेका छन्, त्यसरी आफूलाई पिलरको रुपमा रहेर सहयोग गर्नेहरुको नाम लिएको भए डाक्टर कोइरालाको के जान्थ्यो ? त्यसले पक्कै पनि पुस्तकको विश्वसनीयता र सहयोगीहरुको योगदानको पनि उचित कदर हुन्थ्यो । कोइरालालाई सहयोग गर्ने सबैले यसरी पुस्तक लेख्दैनन् । लेखे पनि हृदयले जत्तिकै महत्व प्राप्त गर्दैन । पुस्तकमा धेरै प्रसंगहरुमा कहीं न कहीं एकल नेतागिरी देखिन्छ । यसप्रकारको एकल नेतागिरीले आफ्ना सहकर्मीहरुको योगदानलाई ओझेलमा पार्ने काम गर्नसक्छ भन्ने कुरा डाक्टर कोइरालाले ख्याल गरेका छैनन् ।
‘काठमाडौं इन्स्टिच्युट अफ चाइल्ड हेल्थ’ नामक संस्थाको नाम ‘काठमाडौं बाल स्वास्थ्य प्रतिष्ठान’ वा ‘नेपाल बाल स्वास्थ्य प्रतिष्ठान’ चाहिं किन राखिएन डाक्टर साहेब ? काठमाडौंको गोल्फुटारमा नेपाल सरकारबाट लिजमा प्राप्त ४२ रोपनी जग्गामा स्थापना हुन लागेको संस्थाले नेपाली नाम पाउने अधिकार पनि राख्दैन हो ? यसको जवाफ पनि चाहिन्छ ।
गंगालालमा काम गर्दा मन्त्री, सचिव, मन्त्रीका मान्छेहरुका टकरावहरु पनि गजबका छन् । कोइरालाले आफू कहींकतै नझुकेको देखाएका छन् । व्यवहारमा कत्तिको सत्यता छ, त्यो तिनी आफैंलाई थाहा होला । व्यवहारमा कहीं आगो, कहीं पानी नभइकन लगातार ८ वर्ष गंगालालको नेतृत्व र अन्य विभागहरुको नेतृत्व गरिन्छ जस्तो चाहिँ लाग्दैन ।
शिक्षण अस्पतालको निर्देशक हुँदा आकस्मिक कक्षको निरीक्षण गर्दा बिरामीहरुलाई बाहिरका निजी अस्पतालमा पठाउने ‘अपराध’ हुँदा उनी कठोर भएको प्रसंग उद्धृत गर्नु प्रासंगिक नै हुन्छ । ‘म इमर्जेन्सीमा गएर एउटा कुनामा बसें । एक जना चिकित्सकले कुनै एउटा बिरामीलाई अन्यत्र रेफर गर्दै गरेको देखें । करिब एक सय वटा बेड अस्पतालमै खाली भएको मलाई थाहा थियो । मैले ती चिकित्सकलाई तत्काल भनें, ‘ए कान्छा, भित्र एक सय वटा बेड खाली छन् । यहाँ आएको बिरामी कहाँ पठाउन लागेको ? खुरुक्क भर्ना गर ।’ डाक्टर कोइरालाको यो आदेश सामान्य खालको छैन । शिक्षण अस्पताल सुधार्न उनले गरेका प्रयासहरु साँच्चिकै ऐतिहासिक छन् ।
एक सफल प्रशासकको रुपमा दरिएका कोइरालाको ‘हृदय’ भ्रष्टाचारका विरुद्धको एक सशक्त दस्तावेज पनि हो । काममा ठग प्रवृत्ति, आर्थिक चुहावट, अस्पतालका सामग्रीहरुको चोरी, बिरामीहरुको रेफर आदिका विरुद्धमा आफूलाई उभ्याएका देखिन्छन् । एउटामात्रै व्यक्ति सफल भएर समग्र विधि र पद्धतिमा सुधार आउने होइन । देशको समग्र प्रणालीमै सुधार हुन आवश्यक छ । प्रणालीमा सुधारको एकमात्र बाधक भनेको भ्रष्टाचार हो भन्ने कुरामा कोइराला देखिन्छन् । यस कुरामा उनी सही छन् ।
गरिब लक्षित राहत
डाक्टर कोइराला एउटा कुरामा निकै दृढ देखिन्छन्- स्वास्थ्य शिक्षा र स्वास्थ्य सेवाको प्रमुख दायित्व राज्यको हो । गरिब र धनीहरुले बराबरी हैसियतमा उपचार प्राप्त गर्न पाउनुपर्छ । उनले गंगालालमा ल्याएका राहतका कार्यक्रमहरु निकै प्रशंसनीय छन् । ‘पाटो बेचिकन आया हुँ हजुर’ शीर्षकको सामग्री वास्तविक र भावनात्मक पनि छ । गरिब र दुर्गम क्षेत्रका बिरामीहरुको दायित्व बहन गर्ने जुन प्रयत्न गरेका छन्, त्यो निकै सराहनीय छ । देशभरका अस्पतालका निर्देशकहरुले यस्तै पहल लिने हो भने देशको स्वास्थ्य क्षेत्रमा ठूलो सुधार गर्न सकिन्छ ।
अन्त्यमा, डाक्टर कोइरालाले आगामी योजना जसरी प्रस्तुत गरेका छन्, त्यो निकै सराहनीय छ । काठमाडौंमा बहुविशेषज्ञ सेवासहितको स्तरीय बाल अस्पताल, बाँकी ६ वटा प्रदेशमा जनरल बाल अस्पताल बनाउने उनको योजना सफल हुनेछ । यति हुँदाहुँदै डाक्टर कोइरालालाई अंग्रेजी मोहले चाहिँ कहींकतै छोडेको छैन । ‘काठमाडौं इन्स्टिच्युट अफ चाइल्ड हेल्थ’ संस्थाको नाम ‘काठमाडौं बाल स्वास्थ्य प्रतिष्ठान’ वा ‘नेपाल बाल स्वास्थ्य प्रतिष्ठान’ चाहिं किन राखिएन डाक्टर साहेब ? काठमाडौंको गोल्फुटारमा नेपाल सरकारबाट लिजमा प्राप्त ४२ रोपनी जग्गामा स्थापना हुन लागेको संस्थाले नेपाली नाम पाउने अधिकार पनि राख्दैन हो ? यसको जवाफ पनि चाहिन्छ । यो देशलाई अंग्रेजीमोहले निकै गालेको छ । बाल स्वास्थ्य प्रतिष्ठान पनि आफैंमा निकै सुन्दर नाम हुनसक्छ । तपाईंका विदेशी साथीहरुलाई अंग्रेजीमा अनुवाद गरेर नाम सुनाउँदा भइहाल्यो नि ! होइन र ?