मोन्टी देसाईको प्रस्तावको के हो अन्तर्य ?
देसाई भन्छन्- नेपाल प्रिमियर लिगका फ्रेन्चाइजहरुको स्वामित्व आईपीएल टीमलाई दिउँ
काठमाडौं । नेपाली राष्ट्रिय क्रिकेट टीमका प्रमुख प्रशिक्षक मोन्टी देसाईले नेपालको क्रिकेट विकासका लागि भन्दै सामाजिक सञ्जालमार्फत एउटा नयाँ प्रस्ताव अघि सारेका छन् । अलि अमूर्त रुपमा उनले राखेको प्रस्तावले क्रिकेटप्रेमीहरुको ध्यानाकर्षण गरेको छ ।
ट्विटरमा उनले लेखेका छन्, ‘नेपालको क्रिकेट आईपीएलमा ? काँचो प्रतिभा, अतुलनीय कार्य आचरण र उनीहरुको राष्ट्रलाई उत्साहपूर्वक प्रतिनिधित्व गर्ने भोकलाई आत्मसात । फाइदा छ । कल्पना गरौं कि नेपाल प्रिमियर लिगका फ्रेन्चाइजहरु सबै आईपीएल टीमको स्वामित्वमा होऊन् । क्रिकेट संस्कृतिको दूरदर्शी अन्तरघुलन, प्रतिभालाई मलजल र विश्वव्यापी सम्पर्क निर्माण । नेपालका क्रिकेट फ्यानहरुको के छ विचार ?’
क्यानले गर्ने भनेको नेपाल प्रिमियर लिग (एनपीएल)का सबै फ्रेन्चाइजीहरु आईपीएल टीमलाई बेच्नुपर्ने देसाईको स्पष्ट आशय छ । यो प्रस्तावलाई कतिले राम्रो मानेका छन् त कतिले आशंका पनि व्यक्त गरेका छन् । नेपाल क्रिकेट संघ (क्यान)भित्र एकथरिले नेपालमा हुने आधिकारिक फ्रेन्चाइज लिगको नियन्त्रण भारतमा पुर्याउने रणनीतिक सोच देसाईले प्रस्तुत गरेको अर्थमा व्याख्या गरेका छन् ।
आईपीएलका फ्रेन्चाइजीहरुले पछिल्लो समयमा अमेरिकालगायतका विश्वका थुप्रै देशका फ्रेन्चाइज टीमहरु खरिद गरेर आफ्नो व्यापार विस्तार गर्दै आएका छन् । नेपालमा पनि हाल क्रिकेटको स्तर र लोकप्रियता वृद्धि भएसँगै स्पोन्सरहरु व्यापक रुपमा बढिरहेको अवस्था छ । त्यसैले आईपीएलका टीमहरुको नजर नेपाली क्रिकेटमा पर्न थालेको हुनसक्ने क्यानका एक पदाधिकारी बताउँछन् ।
‘उनीहरुले नेपालमा फ्रेन्चाइज क्रिकेटको राम्रो बजार देखेका छन् । प्रमुख प्रशिक्षकले त्यही सम्भावनालाई लिएर आईपीएल टीमलाई नेपाली क्रिकेटमा जोड्न चाहेको हुनसक्छ’, ती पदाधिकारीले भने ।
स्रोतका अनुसार मोन्टी देसाईको प्रत्यक्ष संलग्नता रहेको एउटा कम्पनी भारतमा छ । देसाईले पहिलेदेखि नै सो कम्पनीलाई एनपीएलमा जोड्नुपर्ने प्रस्ताव गर्दै आइरहेका थिए । तर, यो विषयमा क्यानले कुनै निर्णय लिएको छैन । आईपीएल टीमहरुलाई नेपाली क्रिकेटमा भित्र्याउने विषयमा भने देसाईले अहिलेसम्म क्यानमा कुनै छलफल नगरेको बुझिएको छ ।
देसाईले नेपाली क्रिकेट फ्यानहरुको सेन्टिमेन्ट जित्नमात्रै यो चारो फ्याकेको हुनसक्ने पनि एकथरिको बुझाइ छ ।
‘उनको प्रस्तावबाट नेपाली क्रिकेट खेलाडीले आईपीएलमा स्थान पाउने ढोका खुल्दैन । यो केवल आईपीएल टीमहरुको व्यापार विस्तारका लागि सहयोगी हुनसक्छ’, क्यानका एक पूर्वपदाधिकारी भन्छन् ।
क्यानले गत वर्ष भारतीय कम्पनी सेभन थ्री स्पोर्ट्ससँगको सहकार्यमा नेपाल टी-२० क्रिकेट लिग गरेको थियो । तर, उक्त लिग चरम विवादास्पद बन्यो । लिग नसकिँदै सेभेन थ्री स्पोर्ट्सका अधिकारीहरु नेपाल छोडेर भागेका थिए ।