रियल म्याड्रिडले एमबाप्पेलाई दियो जनवरी १५ तारिखसम्मको समय
काठमाडौं । स्पेनिस क्लब रियल म्याड्रिडले फ्रान्सेली स्ट्राइकर केलियन एमबाप्पेलाई जनवरी १५ तारिखसम्मको समय सीमा दिएको स्थानीय एक अखबारले समाचार छापेको छ ।
जनवरी १५ तारिखसम्म रियल आउने नआउनेबारे निर्णय गर्न रियल म्याड्रिडले समय सीमा तोकेको खेलकुदसम्बन्धी स्पेनिस अखबार डियारियो एएसले उल्लेख गरेको छ ।
एमबाप्पे हाल घरेलु क्लब पेरिस सेन्ट जर्मन (पीएसजी)का लागि खेलिरहेका छन् । गत वर्ष नै उनले पीएसजी छाड्ने मनस्थिति बनाए पनि क्लबले नदिएपछि रियल म्याड्रिडसहितका ठूला क्लबमा स्थानान्तरण हुने सम्भावना तत्काललाई टरेको थियो ।
यसै सिजनको अन्त्यमा पीएसजी र एमबाप्पेबीचको सम्झौता सकिँदैछ । त्यसैले रियलले उनलाई समय सीमा तोकेको हो । एमबाप्पेले रियल म्याड्रिडमा आबद्ध हुने इच्छा व्यक्त गर्दै आएका छन् ।
लगातार दुई विश्वकप संस्करणमा चम्किएका एमबाप्पेले अहिलेमसम्म च्याम्पियन्स लिगको उपाधि जित्न सकेका छैनन् भने फिफा वर्ष खेलाडी र बेलोन डीअर जस्ता व्यक्तिगत ठूला अवार्डहरु जित्ने धोको पनि पूरा हुन सकेको छैन । रियल म्याड्रिड च्याम्पियन्स लिगको सर्वाधिक उपाधि विजेता हो ।