जी ७ को एक्लो बीआरआई सदस्य इटाली बाहिरियो
काठमाडौं । विश्वका सात प्रमुख विकसित देशहरूको समूह जी ७ को एकमात्र सदस्य इटाली चीनको वैश्विक परियोजना बीआरआईबाट बाहिरिएको छ । बीबीसीका अनुसार यही वर्षको अन्तिमबाट इटालीले चीनको बीआरआई परियोजनाबाट हात झिक्ने चिनियाँ सरकारलाई औपचारिक जानकारी गराएको छ ।
जिओर्जिया मेलोनी नेतृत्वको इटालीसरकारले यो जानकारी सार्वजनिक गरेको हो । मेलोनी सरकारमा आउनु अगाडि नै बीआरआईबाट अलग हुने घोषणा गरेर चुनावी मैदानमा थिइन् । सन् २०१९ मा बीआरआईमा जोडिएको इटालीको अमेरिकालगायतका पश्चिमा देशहरूले तीव्र आलोचना गरेका थिए । बीआरआईबाट बाहिरिएपनि चीनसँगका अरु सम्बन्ध यथावत राख्न इटाली प्रतिबद्ध भएको समाचार आएका छन् ।
यही सोमबार इटालीका विदेशमन्त्री एन्तोनियो ताजानी बेइजिङ पुगेका थिए । ताजानीसँगको भेटमा चिनियाँ विदेशमन्त्री वाङ यीले बिआरआईको बारेमा बोल्दै चीन र इटालीका भूराजनीतिक र अरु समस्याहरु भएपनि आपसी विश्वास तथा सम्मान, सहकार्य र समान संवाद गरेर अगाडि बढ्न सकिने बताएको चिनियाँ अखबार ग्लोबल टाइम्सले उल्लेख गरेको छ ।