धनगढीको एलपीएलमा टिकापुर र सत्यवती विजयी
कैलाली । कैलालीको धनगढीमा जारी लिटल फ्लावर प्रिमियर लिग (एलपिएल) को आठौँ संस्करण अन्तर्गत पाँचौँ दिन सम्पन्न दुई खेलमा यूथ अफ टिकापुर र सत्यवती एकेडेमी विजयी भएका छन् । आजको दोस्रो खेलमा सत्यवती एकेडेमीले विजयी सुरुवात गर्ने क्रममा जेएस स्पोर्ट्स-११ लाई ३ विकेटले पराजित गर्यो ।
जेएस स्पोर्ट्स-११ ले दिएको ९९ रनको लक्ष्य सत्यवतीले १२.५ ओभरमा ७ विकेट गुमाएर पुरा गर्यो । सत्यवतीको लागि ओपनर इमरान शेखले सर्वाधिक ३४ रन योगदान दिए जुन क्रममा उनले २४ बलमा ५ चौका र १ छक्का प्रहार गरे। समीर कार्कीले १३ तथा खगेन्द्र जोशी ११ रन बनाए ।
जेएस स्पोर्ट्स-११ का बलर राज बमले ३ विकेट, नितिश न्यौपानेले २ तथा साजन बिटालुले १ विकेट लिए । यस अघि टस जितेर ब्याटिङ गरेको जेएस स्पोर्ट्स-११ सुपर स्टार्सले २० ओभरमा ९ विकेट गुमाएर ९८ रन बनायो । जेएस स्पोर्ट्स-११ को लागि राजेश साउदले सर्वाधिक १९ तथा सुनिल चन्दले १७, रोयल बमले ११ तथा साजन बिटालुले ११ रन बनाए ।
सत्यवती एकेडेमीको बलिङमा अभिषेक कोइरालाले ३ विकेट लिए भने फिर्दोश अन्सारी, रञ्जित कुमार र सन्तोष कार्कीले समान २÷२ विकेट लिए। प्लेयर अफ द म्याच घोषित भएका अभिषेकले ४ ओभरमा १५ रन खर्चिए ।
बिहानको पहिलो खेलमा यूथ अफ टिकापुरले शारदा सेकेण्डरी स्कुललाई ९४ रनले पराजित गर्यो । यूथ अफ टिकापुरले दिएको १९० रनको लक्ष्य पछ्याएको शारदाले २० ओभर ब्याटिङ गर्दै ६ विकेट गुमाएर ९५ रन मात्र बनायो ।
प्रतियोगिता अन्तर्गत छैटौँ दिन पनि दुई खेल हुनेछन् । पहिलो खेल बिहान ९ बजे यूथ अफ टिकापुर र धनगढी क्रिकेट एकेडेमी बिच तथा दोस्रो खेल दिउँसो १ बजे धनगढी स्पोर्ट्स क्लब र शुक्लाफाँटा ब्ल्याकबक्सबीच हुनेछ ।
लिटल फ्लावर स्पोर्टस् क्लबको आयोजनामा सुरु भएको प्रतियोगिताको यो आठौँ संस्करण हो । प्रतियोगिताको उपाधि विजेताले दुई लाख ५५ हजार र उपविजेताले एक लाख २८ हजार रुपैयाँ पुरस्कार पाउने छन् । प्रतियोगितामा काठमाडौँ, रौतहट, दाङ, कैलाली र कञ्चनपुरका गरी १६ वटा टिमको सहभागिता रहेको छ ।