भारत-पाकिस्तानविरूद्ध भिड्दै नेपाली यू-१९ टोली: ‘जायन्ट किलर’ को छवि होला पुनरावृत्ति ?
काठमाडौं । नेपालले शुक्रबार पाकिस्तानसँग खेल्दै एसीसी यू-१९ एसिया कप क्रिकेटको यात्रा थाल्दैछ । समूहमा भारत र अफगानिस्तान पनि रहेकाले नेपालको यात्रा स्वाभाविक रुपमा कठिन हुने देखिएको छ ।
तर, नेपाली युवा क्रिकेट टोलीको विगत हेर्ने हो भने सधैं स्तरीय प्रदर्शन गर्दै आएको छ र टेस्ट राष्ट्रलाई सरप्राइज दिने गरेको छ । युवा टोलीको विश्वकपमै नेपालले दुई दशकभन्दा बढी समयदेखि गतिलो प्रदर्शन गर्दै आएको छ ।
नेपालले सिनियर अन्तर्राष्ट्रिय क्रिकेटमा हालसम्म टेस्ट मान्यता प्राप्त टोलीलाई हराउन सकेको छैन । तर, युवा टोलीलाई हेर्ने हो भने थुप्रै पटक टेस्ट टोली स्तब्ध भएका छन् । सन् २००२ को आईसीसी यू-१९ विश्वकपमा नेपालले पाकिस्तानलाई हराएको थियो ।
त्यही प्रतियोगितामा नेपालले प्लेट च्याम्पियनसिपको सेमिफाइनलमा अर्को टेस्ट टोली बंगलादेशलाई पनि हराएको थियो । सन् २००४ मा आयोजित विश्वकपमा नेपालले दक्षिण अफ्रिकालाई हराएको थियो ।
त्यसको दुई वर्षपछि आयोजित अर्को संस्करणमा नेपाल सेमिफाइनलमा दक्षिण अफ्रिका र फाइनलमा न्युजिल्यान्डलाई हराएर प्लेट च्याम्पियन बन्यो । पहिलो चरणबाटै बाहिरिएका टोलीहरुलाई प्लेट च्याम्पियनसिपका लागि प्रतिस्पर्धा गराइन्थ्यो ।
सन् २०१६ को युवा विश्वकपमा नेपालले न्युजिल्यान्डलाई हराएको थियो । त्यतिबेला न्युजिल्यान्डलाई हराउँदा टोलीमा रहेका दीपेन्द्रसिंह ऐरी, कुशल भुर्तेल, सन्दीप लामिछानेलगायत अहिले सिनियर टोलीमा छन् ।
यस्तै न्युजिल्यान्डबाट खेलेका रचिन रवीन्द्र, ग्लेन फिलिप्सलगायत अहिले सिनियर राष्ट्रिय टोलीको प्रतिनिधित्व गरिरहेका छन् । नेपालले त्यस संस्करणमा दोस्रो चरणको यात्रा तय गरेको थियो । नेपाली युवा टोली कुनै समय एसियामा टेस्ट मान्यताबाहेकका टोलीले खेल्ने एसीसी यू–१९ क्रिकेटको सबैभन्दा बलियो थियो ।
सन् १९९९ मा आयोजित संस्करणमा फाइनलसम्म पुगेर बंगलादेशसँग (त्यतिबेला बंगलादेशले टेस्ट मान्यता पाइसकेको थिएन)भएको थियो भने त्यसपछिका लगातार चार संस्करणको विजेता बनेको थियो । सोही कारण नेपालले युवा विश्वकपका लगातार पाँच संस्करण पनि खेल्यो ।
टेस्ट राष्ट्रलाई समेत सहभागी गराइने एसीसी यू-१९ एसिया कपमा भने नेपालले सन् २०१२ देखि सहभागिता जनाउन थालेको हो । सन् २०१७ मा आयोजित संस्करणमा नेपालले भारतलाई हराएर हंगामा मच्चाएको थियो । त्यतिबेला आसिफ शेख, दीपेन्द्रसिंह ऐरी, रोहित पौडेल, भीम सार्की, सन्दीप लामिछानेसहितको नेपाली टोलीले भारतलाई हराएको थियो र सेमिफाइनलसम्मको यात्रा तय गरेको थियो ।
यू-१९ एसिया कपमा सहभागी हुन एसीसी यू-१९ कप छनोट प्रतियोगिताका रुपमा रहेको छ । यसपटक फाइनल पुग्ने टोलीले एसिया कप खेल्ने निश्चित थियो । गत अक्टोबरमा मलेसियामा आयोजित एसीसी यू-१९ प्रिमियर कपमा नेपालले सेमिफाइनलमा जापानलाई हराएर एसिया कपमा स्थान पक्का गरेको थियो । पछि फाइनलमा यूएईलाई हराएर नेपालले प्रतियोगिताको उपाधि नै जितेको थियो ।
सिनियर राष्ट्रिय टोलीबाट खेलिसकेका देव खनालको कप्तानीमा रहेको नेपाली टोलीमा अर्का अनुभवी खेलाडी गुल्सन झा पनि छन् । उनी पछिल्लो समय नेपाली सिनियर राष्ट्रिय टोलीका नियमित सदस्य हुन् । अर्जुन कुमाल, दीपेश कँडेललगायत स्तरीय खेलाडीका कारण नेपाली टोलीलाई भारत र पाकिस्तान जस्ता टोलीले कम आँक्न सक्ने अवस्था छैन ।
नेपाली क्रिकेट टोलीले यो वर्ष विभिन्न अन्तर्राष्ट्रिय प्रतियोगितामा पहिलो चरणमै भारत र पाकिस्तानसँग खेल्न लागेको तेस्रो पटक हो । यसअघि एसीसी इमर्जिङ टिम्स एसिया कप र एसीसी एसिया कपमा पनि नेपालले पहिलो चरणमै भारत र पाकिस्तानसँग खेलेको थियो । एसियन गेम्स क्रिकेटमा नेपाली टोलीले क्वाटरफाइनलमा भारतसँग प्रतिस्पर्धा गरेको थियो ।