ओलीको टिप्पणी- कोशी कसैको बिर्ता होइन (भिडिओ) – Nepal Press

ओलीको टिप्पणी- कोशी कसैको बिर्ता होइन (भिडिओ)

काठमाडौं । नेकपा एमालेका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले कोशी प्रदेश कसैको बिर्ता नभएको बताएका छन् ।

समृद्धिका लागि पदयात्राअन्तर्गत विहीबार पर्वतमा आयोजित कार्यक्रममा उनले केही पहिचानवादीले एमालेको यात्रालाई कोशीमा अवरोध गर्ने सन्दर्भलाई लिएर सो टिप्पणी गरे । नेकपा एमाले कहाँ जान पाउने ? कहाँ जान नपाउने ? भन्ने सिकाउन आवश्यक नरहेको उनको जिकिर छ ।

ओलीले भने, ‘पहिचानको नाममा, पहिचानवादका नाममा नेपाली जनतालाई फेरि अलमल्याउने, भ्रममा पार्ने, फाटो पार्ने, त्यस प्रकारका क्रियाकलाप हुँदैछन् । अहिले कोशी प्रदेशबाट, कोशी प्रदेशमा कोशी प्रदेश नाम राखियो, सबैको साझा नाम राखियो । एउटा पृष्ठभूमि विशेषको नाम राखिएन भनेर केही तत्वहरु, वितण्डा मच्चाउनलाई ठूलो तत्व चाहिँदैन, धेरै ठूलो शक्ति चाहिँदैन । विदेशबाट सञ्चालित, कसैको इसारामा नेपालमा एकता हुन नदिने, नेपालमा शान्ति हुन नदिने, नेपालमा लोकतन्त्र हुन नदिने, त्यसप्रति जनताको विश्वास हटाउने, अशान्ति मच्चाउने, शान्ति खलबल्याउने र देशलाई असहज स्थितिमा पारेर अरुकै स्वार्थ पूरा गर्ने प्रयासमा यस्ता तत्वहरू लागिरहेका छन् ।’

उनले थपे, ‘कसैको बिर्ता होइन कुनै भूभाग नेपालको । प्रवेश गर्न दिन्न, तोडफोड गर्छु, आक्रमण गर्छु, मारपिट गर्छु भन्नेखालका आतंककारी कुराहरु हामीले धेरै देखेका छौँ । यस्तो फुर्ती नलगाए हुन्छ । हामीले सामना गर्न नपरोस् । म उहाँहरूलाई भन्न चाहन्छु, यो बुद्धि छिट्टै सच्याउनुस् । यो बुद्धि फेरिहाल होइन भने यस बुद्धिले तिमीहरूलाई सर्वनाश गर्छ ।’

प्रधानमन्त्री प्रचण्डलाई लक्षित गर्दै ओलीले आफन्तका लागि बाहेक जनता, लडाकु, घाइते, शहीद, शहिदका परिवारका लागि केही गर्न नसकेको बताए । अध्यक्ष ओलीले सरकारको नालायकीले प्रतिगामी शक्तिहरु फेरि उठ्न थालेको बताए । उनले सरकारले पहिचानवादका नाममा नेपाली जनतालाई फेरि अल्मल्याउने, भ्रममा पार्ने प्रकारका क्रियाकलाप गरिरहेको बताएका छन् ।


प्रतिक्रिया

One thought on “ओलीको टिप्पणी- कोशी कसैको बिर्ता होइन (भिडिओ)

  1. शानतिपूर्ण कार्यक्रम गर्दा पनि भाडाका टट्टुहरूले निहु खोजे र सरकारले केहि गरेन भने एमालेले देखाईदिन्छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर