बागमती प्रदेश कार्यविभाजनप्रति सिन्धु एमालेमा असन्तुष्टि, सच्याउन शेर्पाको आग्रह – Nepal Press

बागमती प्रदेश कार्यविभाजनप्रति सिन्धु एमालेमा असन्तुष्टि, सच्याउन शेर्पाको आग्रह

चौतारा । नेकपा एमाले बागमती प्रदेश कमिटीले गरेको कार्य विभाजनप्रति सिन्धुपाल्चोकका केही नेताहरुले असन्तुष्टि र असहमति प्रकट गरेका छन् । बागमती प्रदेश कमिटीको पहिलो अधिवेशनबाट कैलाश ढुङ्गेल अध्यक्षमा निर्वाचित भएका थिए ।

केही दिनअघि सम्पन्न बागमती प्रदेशको पदाधिकारी बैठकले १३ जिल्लाबाटै प्रदेश कमिटीमा प्रतिनिधित्व गर्ने एमाले नेताहरुको कार्यविभाजन गरेको थियो ।

बागमती प्रदेश कमिटीले गरेको कार्यविभाजन एकलौटी र गुटगत रुपमा पेलेर गरेको भन्दै एमाले सिन्धुपाल्चोकका नेता कार्यकर्ताहरुले असन्तुष्टि प्रकट गरेका हुन् ।

बागमती प्रदेशमा सिन्धुपाल्चोकबाट प्रतिनिधित्व गर्ने ‘सिनियर’ नेताहरुलाई अपमानपूर्वक घटुवा शैलीमा जिम्मेवारी दिएको बाह्रबीसे नगरपालिकाका पूर्वमेयर एवं प्रदेश कमिटी सदस्य निमफुञ्जो शेर्पाले बताए ।

विगतको गुटको पक्षधरता हेरेर सिन्धुपाल्चोकमा पार्टीभित्र प्रतिशोधी राजनीति गरिएको शेर्पाको आरोप छ । २०४७ सालदेखि पार्टीमा क्रियाशील नेतालाई अपमान गरेर जिल्लामा कसैले नचिनेकाहरुलाई जिम्मेवारी दिइएको उनको आरोप छ ।

दुई क्षेत्र रहेको सिन्धुपाल्चोकमा क्षेत्र नम्बर १ को इञ्चार्जको जिम्मेवारी लिसंखु पाखर गाउँपालिकाकी पूर्वउपाध्यक्ष हेमगंगा मोक्तानलाई दिइएको छ भने क्षेत्र नम्बर २ को जिम्मेवारी इन्द्रावती गाउँपालिकाका अध्यक्षसमेत रहेका पूर्वजिल्ला अध्यक्ष झम्क नेपाललाई दिइएको छ ।

क्षेत्र नम्बर २ मा तुलनात्मक रुपमा सन्तुलन हुने गरेर कार्य विभाजन गरिए पनि १ नम्बर क्षेत्रमा अन्यायपूर्वक गुटलाई प्रश्रय दिने गरेर कार्यविभाजन गरिएको एमाले नेता शेर्पाको आरोप छ ।

बागमती प्रदेश कमिटीको अधिवेशनबाट चुनिएको नयाँ नेतृत्वप्रति एमाले नेता कार्यकर्ताहरुको बेग्लै आशा र उत्साह सञ्चार भए पनि पछिल्लो कार्यविभाजनले आशा र उत्साहको ग्राफ स्वाटै घटाएको शेर्पाले बताए ।

शेर्पाले भने, ‘भूगोलमा केन्द्रित हुने भन्दा पनि नेताको घरदैलोमा गएर अघिपछि गर्नेहरुलाई जिम्मेवारी प्रदान गरियो । प्रदेश कमिटीले नेताको भजन गाउने र धुपबत्ती बाल्नेहरुलाई मात्रै जिम्मेवारी दिएको छ । प्रदेश कमिटीले कार्यविभाजनमा एकलौटी गर्दा पनि जिल्लाबाट केन्द्रीय कमिटीमा प्रतिनिधित्व गर्ने नेताहरु मूकदर्शक भएर बसेका छन् ।’

सिन्धुपाल्चोकबाट स्थायी कमिटी सदस्यसहित तीन जना केन्द्रीय सदस्यहरुले प्रतिनिधित्व गरेका छन् । शेरबहादुर तामाङ स्थायी कमिटी सदस्य छन् भने केन्द्रीय कमिटीमा सरेश नेपाल र दावा तामाङ छन् ।

‘गुटगत’ रुपमा कार्यविभाजन र नेताहरुको कार्यशैलीका कारण सिन्धुपाल्चोक एमाले क्रमशः खस्किँदै गएको नेता कार्यकर्ताहरुले बताएका छन् । अघिल्लो स्थानीय निर्वाचनमा जिल्ला समन्वय समितिसहित सात स्थानीय तहमा जीत हासिल गरे पनि दोस्रो स्थानीय निर्वाचनमा जम्मा तीन वटा स्थानीय तहमा मात्रै एमालेले जीत हासिल गरेको थियो ।

सिन्धुपाल्चोक- १ मा एउटामात्रै स्थानीय तह जितेको सुनकोशी गाउँपालिकाका अध्यक्ष टपिन्द्रप्रसाद तिमिल्सिनालाई सुनकोशीको मात्रै इञ्चार्जको जिम्मेवारी प्रदान गरिएको छ । बाह्रबीसेका पूर्वमेयर निमफुञ्जो शेर्पालाई बाह्रबीसे र त्रिपुरासुन्दरीको इञ्चार्जको जिम्मेवारी दिइएको छ ।

कार्यविभाजनमा माओवादीबाट एमालेमा प्रवेश गरेका आङछिरिङ शेर्पालाई प्रदेश-१ र विदुर भारतीलाई प्रदेश-२ को इञ्चार्जको जिम्मेवारी दिइएको छ ।

एमाले बागमती प्रदेश अधिवेशनमा सचिवका उम्मेदवार हस्त पण्डितका विरुद्ध लागेको भन्दै आफूलाई कारबाही गर्न र कुनै जिम्मेवारी नदिन सिन्धुपाल्चोकका ५ भाइ नेताहरु शीर्ष नेताकोमा पुगेको दाबी शेर्पाको छ ।

उनले भने, ंहामी एमालेकै नेताहरुको पक्षमा लागेका हौं, अर्को पार्टीका नेताको पक्षमा लागेका थिएनौं । तर, गुटको आँखाले हेरेर हामीलाई अपमानजनक व्यवहार गरियो ।’

शेर्पाले अपमानजनक र प्रतिशोधी कार्यविभाजन सच्याउन भन्दै प्रदेश कमिटी अध्यक्ष कैलाश ढुंगेललाई निवेदनसमेत दिएका छन् ।

ढुंगेलले भने गुनासाहरुको सम्बोधन हुने र काम हेरेर ३ महिनापछि अहिलेको कार्यविभाजन परिमार्जन गर्न सकिने बताएका छन् ।

सिन्धुपाल्चोकको असन्तुष्टि मिलाउन एमाले स्थायी कमिटी सदस्य शेरबहादुर तामाङ, जिल्ला इञ्चार्ज गोकुल बास्कोटा, पोलिटब्युरो सदस्य अरुण नेपाल, जिल्ला अध्यक्ष कमल नेपाललगायतका नेताहरुमाथि उनीहरुले दबाब बढाएका छन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर