महिनावारी: दुःखाइको सामाजिकीकरण – Nepal Press

महिनावारी: दुःखाइको सामाजिकीकरण

चितवन । भरतपुरकी दुर्गा कँडेल कक्षा ८ मा पढ्दै थिइन् । उनलाई अहिले पनि याद छ, त्यो दिन मंसिर महिनाको थियो । चितवनको गर्मी भर्खरै मत्थर हुँदै घाम कलिलो हुँदै आएको त्यो दिन स्कुलको डेस्कमै थिइन् उनी । मंसिरको घाम झैं दुर्गाको पनि पाठेघरको भित्री भाग पहिलो पटक कलिलो हुँदै गएको रहेछ ।

महिनावारीबारे विद्यालयको केही कोर्स र केही आमा-दिदीहरुबाट उनले योनीबाट रगत बग्ने हो भन्ने त थाहा पाइसकेकी थिइन् । तर, यो महसुस थिएन कि महिनावारीले न दिन भन्छ, न रात न त स्कूलमा रहँदा रगत बग्नुहुँदैन भनेर पाठेघरले रगत सञ्चय गरेर राखिदिन्छ । अनि यो पनि थाहा थिएन ढाड-कम्मर नदुखेरै पनि रगत बग्छ ।

यो त तिनका नितान्त प्राकृतिक प्रक्रिया हो, जो पाठेघर लिएर बाँचेका छन् । कक्षाको समय ढल्दै गएको थियो । दुर्गालाई भने हुत्तिएर घर पुग्ने उत्साह बढ्दै थियो । अन्तिम घण्टीअघि साथीहरुसँग बाहिर निस्किन लागेकी के थिइन्, पछाडिबाट कोही साथीले भनिदियो, दुर्गा तिम्रो स्कर्ट पछाडि हेर त !

हँ, भनेर मुन्टो पछाडि फर्काएर स्कर्टको फेरो हेरेको रगत लत्पतिएको रहेछ । दुर्गा थचक्कै भुईंमा बसिन्, बसेको बस्यै गरिन् । आँखाले चारैतिर अँध्यारो देख्यो । कतिबेला घण्टी बज्यो, अनि आफ्नो सबैभन्दा मनपर्ने विषय गणितमा त्यो दिन के पढाइ भयो उनले सम्झिनै सकिनन् ।

दुर्गालाई अहिले पनि ताजै स्मृति छ, कक्षा सकिएपछि तीन जना साथीले घेरेर ट्वाइलेट पुर्‍याए । आफ्नै रुमाललाई योनीबाट बगेको रगत सोस्न महिनावारी प्याड बनाइन् । लुगामा लत्पतिएको रगत पुछपाछ गरेर तीन जना केटी साथीको घेरोबीच हिँड्दै घरको आँगनसम्म पुगिन् ।

करिब पाँच वर्षअघिको त्यो उनको पहिलो महिनावारी थियो । हिजोसम्म फिरिरी नाच्ने आँगन नाघ्न सकिनन् त्यो दिन उनले । ‘हातमा किताब थियो, थर्रर हात काँप्यो, ममीसँग जाने पनि हिम्मत आएन, आज पनि त्यो स्मृतिले उनलाई विथोले झैं हुन्छ ।

हिम्मत गरेर आमालाई त भनिन् । त्यसपछि त झन् कष्टकर बने उनको लागि समय । ‘ममीले हतार हतार लुगा फेराउनुभो । अनि छिमेकीको घर पठाउन तम्सिनुभो । म रोएँ । भाइ र मेरो एउटा कोठा थियो । त्यसैमा बस्छु भनें । जिद्दी गरेपछि घरमै बस्ने कोठा त पाएँ । तर, हिजोसम्मको परिवारको व्यवहार पाठेघरबाट एक थोपा रगत खस्नेबित्तिकै फेरियो ।’

ममी र परिवारका सबैको फेरिएको व्यवहारसँगै फेरियो दुर्गाको पढ्ने जाँगर पनि । कक्षामा पाँच जनाभित्र पर्ने उनलाई एकै पटक मनोबल शून्यमा पुगे झैं भयो । स्कूलमा आफू बसेको डेस्क, साथीहरु सम्झिएर त लाज कति लाग्यो, सरम लाग्यो आफैप्रति त्यो समयको ग्लानी सम्झिँदा उनलाई अहिले पनि कमजोर महसुस हुन्छ ।

पहिलो महिनावारीमा ४ दिन घर राखेपछि स्कुल फर्किन निकै हिम्मत जुटाउनुपरेको थियो उनले । महिनावारीमा ढाड कम्मर दुख्ने समस्या नभए पनि दुर्गा आमाले प्रश्न नगरुन् भनेर कम्तीमा ३ दिन पेट दुःखेको बाहना बनाइदिन्थिन् । अनि घरै बस्थिन् दिनभर ।

‘पहिलो महिनावारीको त्यो डर बसिरहेर हो कि मलाई महिनावारीको डेट आउन लागेदेखि स्कूल जानै मन नलाग्ने भएको थियो । महिनावारी भएपछि त कक्षा १० सम्म लगभग ३ दिन स्कूल जानै मन लाग्थेन’, दुर्गाले भनिन्, ‘११ कक्षापछि चाहिँ स्कूल महिनावारीमा पनि आउन थालेको हुँ ।

समीक्षा घिमिरे २२ वर्षकी भइन् । उनको पहिलो महिनावारी १२ वर्षको उमेरमा भएको थियो । दुर्गा झैं स्कुलमा होइन उनको चाहिँ राति सुतेकै बेला महिनावारी भयो । एक्लै थिइन् ओछ्यानमा समीक्षा । महिनावारी नभएकाले प्याडको जोहो चाहिँ थिएन । रातमा आमालाई उठाउन पनि मन लागेन । एउटा सल च्यातेर प्याड बनाइन् । अनि सुतिरहिन् ।

बिहानभर सुतिरहिन् समीक्षा । आमा उठाउन आउनुभयो । उनले महिनावारीबारे भनिन् । त्यतिबेला समीक्षा कक्षा ७ मा पढ्दै थिइन् । पहिलो महिनावारीको बेला अर्काको घरमा लुक्न जानुपर्ने बाध्यता भएन । यद्यपि आफ्नै घरभित्र घाम नहेरी ७ दिन कटाएकी थिइन् ।

पहिलो महिनावारी भएको १० वर्षपछि पनि महिनावारीको ३ दिन समीक्षा घर बाहिर निस्किएनन् । स्नातक तह अन्तिम वर्षमा अध्ययनरत उनलाई महिनावारी भएपछि घरको कोठाबाट बाहिर निस्किन मरेतुल्य लाग्छ । आमा मैना पनि समीक्षालाई पढ्न जानसमेत दबाब दिन सक्दिनन् ।

बरु छोरीले रुचि देखाएका खानेकुरा र उनको हेरचाहमा थप समय दिन्छिन् । महिनावारीको बेला होस् वा अन्य समय समीक्षाको मनपर्ने खाजा चटपट हो । मैना पनि छोरीले रुचाएको खानेकुरा रोक्न चाहँदिनन् । भन्छिन्, ‘छोरीले पिरो, अमिलो, टक्क परेको खाजा मनपराउँछिन्, मलाई पनि नाइँनास्ती गर्न मन लाग्दैन ।’

समीक्षालाई महिनावारीमा अलिअलि पेट दुख्ने, गाह्रो हुने त हुन्छ । तर, खप्नै नसक्ने गरी चाहिँ होइन । भन्छिन्, ‘खासै पेट नदुखे पनि प्याड फेर्न झ्याउ लाग्ने भएर पनि हिँड्नै मन लाग्दैन ।’

भरतपुर- १६ की समीक्षामात्रै होइन प्रतीक्षा विकेलाई पनि महिनावारीमा बाहिर निस्किन उनकै शब्दमा ‘मरे झैं’ लाग्छ । समीक्षा र प्रतीक्षा दुबै केही वर्ष फरकका युवती हुन् ।

दुबै जना महिनावारीमा घर बाहिर निस्किन खोज्दैनन् । उनीहरु महिनावारीमा घर बाहिर ननिस्किनुको कारण भने एउटै छ, सजिलोसँग प्याड फेर्ने ठाउँ पाइँदैन ।

चितवनलाई विकसित शहर भने पनि सार्वजनिक शौचालयको व्यवस्था निकै कम छ । समीक्षा र प्रतीक्षा दुबैको अर्को एउटै महिनावारी प्रकृति छ, दुबै जनाको अलि धेरै रगत बग्छ । एकदेखि डेढ घण्टामा प्याड फेर्न पनि सजिलो छैन यहाँका सार्वजनिक स्थल । प्रतीक्षा भन्छिन्, ‘प्याड फेर्न नपाएर तनाब लिनुभन्दा घरबाट ननिस्किनु नै ठीक लाग्छ ।’

प्रतीक्षा १७ वर्षकी भइन् । नेपालको जनसांख्यिक तथा स्वास्थ्य सर्वेक्षण २०२२ को प्रतिवेदनले सार्वजनिक गरेको तथ्यांकभन्दा करिब वर्षदिनअघि उनी महिनावारी भएकी थिइन् । अर्थात्, प्रतीक्षाको पहिलो महिनावारी १२ वर्ष ६ महिनाको उमेरमा भएको थियो । नेपालको जनसांख्यिक तथा स्वास्थ्य सर्वेक्षणको प्रतिवेदनले किशोरीहरुको पहिलो महिनावारीको औसत उमेर १३ वर्ष ६ महिना पाइएको जनाएको छ ।

प्रतीक्षा महिनावारी भएको पाँच वर्ष लगभग पूरा भएको छ । तर, यो पाँच वर्षमा हरेक महिना आउने पाँच दिन उनको लागि सबैभन्दा दिक्कलाग्दो हुन्छ । किनकि महिनावारीको समय उनलाई घरबाहिर निस्किनै मन लाग्दैन । यतिसम्म कि कक्षा १२ मा अध्ययनरत उनले महिनावारीले कक्षा छुटेकै कारण यसपालिको पहिलो त्रैमासिक परीक्षामा केही प्रश्नको उत्तर लेख्नै सकिनन् ।

नपढाएको पाठबाट प्रश्न आयो कि भन्ने उनले ठानेकी थिइन् । तर, शिक्षकलाई सोधेपछि थाहा भयो, पढेको दिन उनको कक्षा नै छुटेको रहेछ । ‘अलिअलि पेट पनि दुख्छ’, प्रतीक्षा भन्छिन्, ‘तर, हिँड्न चाहिँ फिटिक्कै आँट आउँदैन ।’

एक त प्रतीक्षालाई महिनावारीको समय बिरामी भए जस्तै लाग्छ । अर्को एउटा कारण पनि छ । महिनावारीको चार दिनमा एक पटक उनलाई पेट दुखिरहेको थियो । यद्यपि विद्यालय आएकी थिइन् । त्यही बेला शिक्षकले छुटेको पाठको प्रश्न सोध्नुभयो । उनले जवाफ दिन सकिनन् । अर्कोतिर त्यो पालि चार दिनमा पनि पेट दुखिरहेको थियो ।

प्रतीक्षा भन्छिन्, ‘मिन्स भएर जानिनँ भन्न पनि सकिनँ, उभिन पनि गाह्रो भयो, यस्तै यस्तै अप्ठ्यारो आउने भएर मलाई त पिरियडको बेला स्कुल जान मनै लाग्दैन ।’

घरमा आमाबुबाले पनि महिनावारी भएको बेला पढ्न वा काम गर्न दबाब दिँदैनन् । सुतेरै बित्छ उनको दिन । उनका इष्टमित्र, आफन्त सबैलाई थाहा छ कि महिनावारीको बेला प्रतीक्षा कोठाबाट पनि निस्किन्नन् ।

अमेरिकाको नेशनल मेडिसिन लाइब्रेरीले युवा महिलामा हुने महिनावारी दुःखाइको व्यापकताका विषयमा गरेको एक अध्ययनअनुसार समीक्षा र प्रतीक्षामा जस्तै ८४.१ प्रतिशत महिलामा महिनावारी दुःखाइ हुने पाइएको छ । तर, ती सबै महिलालाई सबै महिनाको महिनावारीमा उत्तिकै र उसैगरी दुःखाइ हुँदैन ।

अभियन्ता राधा पौडेलको पनि महिनावारीको करिब २४ घण्टा अघि ८५ प्रतिशत पेट दुःखाइ सामान्य भएको बताउँछिन् । तर, महिनावारी दुःखाइको परिभाषा गलत भएको छ । महिनावारी भएको केही घण्टामा हराएर जाने सामान्य पेट दुःखाइलाई सामाजिक रुपमा पेट दुख्ने, कमजोर हुने, औषधि खाने, नियमित कामबाट पूर्ण आराम गर्नुपर्छ भन्ने तर्क गलत भएको उनको भनाइ छ ।

दुर्गा, प्रतीक्षा र समीक्षाको जस्तै विभेदको स्वरुप महिनावारी दुःखाइको कारकमा गएर टुङ्गिने गरेको छ । आरामका नाममा विद्यालय छुटाउने, काममा नजाने कुरा महिलाको शरीर र महिला सशक्तीकरण दुबै हिसाबबाट गलत भएको पौडेल बताउँछिन् ।

स्वस्थ खानामा बेवास्ता

नेपालमा बसोबासका आधारमा न्यूनतम स्वीकार्य आहार सेवन गर्ने मानिसको संख्या ४३ (नेपालको जनसांख्यिक तथा स्वास्थ्य सर्वेक्षण २०२२) प्रतिशतमात्रै छ । विश्व स्वास्थ्य संगठनका अनुसार न्यूनतम स्वीकार्य आहारअनुसार खानामा विविधता, न्यूनतम खानाको पटक र बालबालिकाको लागि स्तनपान गराउने समयसमेत पर्छ । स्वस्थ रहन गुलियो खानेकुरा, पेयपदार्थको सट्टामा सागपात, फलफूल तथा हरिया तरकारीलगायत पर्छन् । यी खानेकुरा खाँदा शरीरमा पोषणको मात्रा पूरा हुन्छ ।

आफैं गाई पाल्ने गीताको कथाले नेपालमा महिनावारी हुने उमेर समूहका केही महिलाको व्यथा भन्छ । ४५ वर्षकी उनी एकल आमा हुन् । तीनवटा गाई पालेर त्यसैको दूध बेचेर दुई छोरा हुर्काइरहेकी छन् । तर, एउटा छोरा जापान गइसके । अर्को १२ कक्षा पढ्दैछन् ।

गीताको गोठमा गाई टुट्दैनन् । दूध बेचेरै जीविकोपार्जन गर्ने भएपछि दूध टुट्ने त कुरै भएन । तर, महिनाको ४ दिन गीताको मुखमा गाईको दूध पर्दैन । दूधमात्रै होइन, घिउ, महीसमेत पर्दैन ।

महिनावारी भएपछि लगाउने उनको छुट्टै लुगा छ । त्यही गाईगोठमा महिनाको २६ दिन पोको परेर बस्छ उनको लुगा । ४ दिन महिनावारीमा केही वर्षयता उनले त्यही लुगा लगाइरहेकी छन् । महिनावारी हुँदा गाई दुहुने अर्को विकल्प घरमा हुँदैन । सबेरै पढ्न जाने छोरोले दूध दुहुँदैन । अनि आफूले दुहुने दूध गीताको घरमा ४ दिन रहँदैन ।

उनी आफूले त झन् दूध पिउने कुरै भएन । पातली ज्यानकी गीता जतिबेला बारीमै भेटिन्छिन् । महिनावारीमा पनि गाईको पोषिलो दूध पिउन हुन्छ भन्नेमा अहिलेसम्म उनले स्वयंलाई विश्वस्त बनाउन सकेकी छैनन् ।

भरतपुर अस्पतालका स्त्री तथा प्रसूती रोग विशेषज्ञ प्राध्यापक डाक्टर सुनिलमणि पोखरेल खानेकुराको मात्रामा सन्तुलन नहुँदा अधिकांश महिला तथा किशोरीहरु महिनावारी दुःखाइको समस्यामा हुने बताउँछन् ।

उनका अनुसार महिनावारी दुःखाइ दुई प्रकारको हुन्छ । पहिलो प्राथमिक (प्राइमरी) र दोस्रो सेकेन्डरी । उनले विद्यालय उमेरका किशोरीहरुमध्ये ९० प्रतिशतमा प्राथमिक दुःखाइ हुने बताए । प्राध्यापक डा. पोखरेल भन्छन्, ‘कसैलाई महिनावारीको सामान्य दुःखाइ हुन्छ । त्यस्ता महिलाका पाठेघर स्वस्थ हुन्छ । कसैको भने पाठेघरमा कुनै प्रकारका रोग लागेको कारण हुने दुःखाइ हुन्छ, जसलाई मेडिकल भाषामा सेकेण्डरी महिनावारी दुःखाइ भनिन्छ ।’

उनका अनुसार सामान्यतया खानेकुराको कारणले प्राथमिक दुःखाइ हुने गर्छ । प्राथमिक दुःखाइ भिटामिन बी कम्प्लेक्स, भिटामिन सी तथा शरीरमा हर्मोन व्यवस्थित गर्ने खानेकुराको अभावमा हुने गर्छ ।

तर, समीक्षा जस्तै नेपालका ५४ प्रतिशत प्रजनन् उमेर समूहका महिला स्वस्थकर खानेकुरा खाँदैनन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको तथ्याङ्कअनुसार ५४ प्रतिशत महिलाले अस्वस्थकर खानेकुरा खान्छन् । जसमा चिनी, नून र अस्वस्थकर बोसोयुक्त खानेकुरा जस्तो केक, बिस्कुट, जेरी, मिठाइ, टफी, चिप्स, कुरकुरे, चिजबल, तयारी चाउचाउ, समोसा तथा तारेको खानेकुरा रहेका छन् ।

एकातिर महिनावारीमा गाईको दूध जस्तो पोषिलो खानेकुरा बन्देज छ । अर्कोतिर पत्रु खानेकुराको प्रभाव बढ्दो उमेरका किशोरीहरुमा बढ्दै गएको छ । जसको असर किशोरीहरुको स्वास्थ्यमा समेत देखिन थालेको पाइन्छ ।

१५ देखि १९ वर्ष उमेर समूहका किशोरीमध्ये २६ प्रतिशत उमेर र उचाइअनुसारको मोटाइ नभएको अर्थात् दुब्लो रहेको पाइएको छ । ६ प्रतिशतमा अधिक मोटोपना पाइएको छ । २० देखि ४९ वर्ष उमेर समूहका १० प्रतिशत महिलाहरु दुब्लो र ३५ प्रतिशतमा उचाइअनुसार हुनुपर्नेभन्दा अधिक मोटोपना पाइएको छ । प्राध्यापक डा. पोखरेल खानपानमा असन्तुलन हुँदा शरीरमा हुने परिवर्तनले महिनावारीको प्रक्रिया र प्रजनन् स्वास्थ्यलाई समेत असर पार्ने बताउँछन् ।

स्वस्थकर खानाकै अभावमा नेपालका प्रजनन् उमेर समूहका महिलाले रक्तअल्पतासमेत व्यहोरिरहेका छन् । सन् २०२२ मा गरिएको अध्ययनअनुसार नेपालका १५ देखि ४९ उमेर समूहका ३४ प्रतिशत महिलामा रक्तअल्पता पाइएको छ । तीमध्ये एक प्रतिशतमा गम्भीर रुपमा रक्तअल्पता भएको पाइएको छ । त्यस्तै १५ प्रतिशतमा मध्यम र १८ प्रतिशत महिलामा कम किसिमको रक्तअल्पता भएको पाइएको छ ।

सरकारले किशोरावस्थाको खानपानमा हुने असन्तुलनले रक्तअल्पता भएको निष्कर्ष निकाली महिनावारी हुने समूहका किशोरीहरुलाई आइरन चक्की वितरणको कार्यक्रम पनि सञ्चालन गरिरहेको छ । तर, स्वस्थ खानेकुरामा ध्यान नदिएको कारण खानपान असन्तुलित भएकाले उनीहरुमा रक्तअल्पता हुने गरेको डाक्टर पोखरेल बताउँछन् ।

महिनावारी दु:खाइ: धेरै विभेद, केही मनोविज्ञान, थोरै स्वास्थ्य समस्या

महिनावारीको बेला समीक्षा र प्रतीक्षा जस्तो घरभित्र बस्ने बानी सोनाली गुरुङको छैन । कक्षा ११ की छात्रा सोनाली सकेसम्म पढाइ छुटाउँदिनन् । विज्ञान विषय पढिरहेकी उनलाई पनि महिनावारीमा दुःखाइ त हुन्छ । तर, महिनावारीको समय विद्यालय जान्छिन् । विद्यालय नछुटाउन नै उनको साथमा महिनावारी हुँदा प्रयोग गर्ने प्याड जस्तै पेन किलर (दुःखाइ कम गर्ने औषधि) हुन्छ ।

‘मलाई स्कूल छोड्न मन लाग्दैन’, सोनाली भन्छिन्, ‘सधैं महिनावारी हुनेबित्तिकै एक ट्याब्लेट पेन किलर चाहिँ खाइहाल्छु । अनि काममा लाग्छु ।’

सोनालीलाई महिनावारीको मिति आउने हप्ता दिनअघि देखि नै पेट कम्मर दुख्न थाल्छ । हुन त उनले हट ब्याग पनि प्रयोग गर्ने गरेकी छन् । उनी पाठेघरमा नै केही समस्या छ कि भनेर एक पटक डाक्टरकहाँ पनि गइन् । तर, पाठेघरमा कुनै प्रकारको समस्या देखिएन । सामान्य दुःखाइ हो भनेर डाक्टरले भनेपछि उनी दुःखाइ कम गर्ने औषधि खान थालेकी हुन् । तर, उनलाई डाक्टरले नियमित औषधि खानु भने भनेका छैनन् ।

सोनाली जस्तै विद्यालयमा आउँदा महिनावारी भए प्याड लिन आउँदा अधिकांश छात्राले दुःखाइ कम गर्ने औषधि माग्ने चितवनको खैरहनी माध्यमिक विद्यालयकी नर्स कला पाण्डेको अनुभव छ ।

उनका अनुसार कक्षा ७ पढ्नेदेखि माथिका बालिका विद्यालयमा महिनावारी भए प्याडसँगै औषधि माग्छन् । ‘एक वर्षयता प्याडसँगै औषधि दिन कम गरेको छु’, नर्स पाण्डेले भनिन्, ‘म नर्स भएर आएपछि उनीहरुलाई सकेसम्म महिनावारी दुःखाइ कम गर्न औषधिको सट्टा तातो पानी, हट वाटर व्यागले ढाड सेक्नुपर्छ भनेर सम्झाउन थालेकोले केही दुःखाइ रोक्ने औषधि खानेको संख्या चाहिँ घट्दै गएको छ ।’

अहिले पाण्डेले मनतातो पानी पिउन दिने, उनीहरुलाई केही समय आराम गर्न लगाउने पनि गरेकी छन् । प्राध्यापक डाक्टर पोखरेलले भने जस्तै गर्भाशयको मांसपेशीको संकुचनको कारणले हुने महिनावारी दुःखाइमा शरीरको हर्मोनसँगै महिलाको दुःखाइप्रतिको धारणाले पनि उनीहरुलाई असर गर्ने एक अध्ययनले देखाएको छ ।

सन् २००८ मा गरेको अध्ययन र त्यसलाई २०२२ मा पुनः अपडेट गरेर अमेरिकाको नेशनल लाइब्रेरी अफ मेडिसिनले सार्वजनिक गरेको प्रतिवेदनअनुसार प्राथमिक दुःखाइ २० वर्ष उमेरभन्दा कमका महिलामा बढी हुन्छ । र, विस्तारै यो दुःखाइ कम हुन्छ । पिरियड पेन अर्थात् महिनावारी दुःखाइ विषयमा गरिएको उक्त अध्ययन प्रतिवेदनअनुसार प्राथमिक तहको महिनावारी दुःखाइ पहिलो बच्चा जन्मिएपछि कम हुँदै जान्छ ।

अभियन्ता पौडेल महिनावारीमा पेट दुख्नेमध्ये १०० मा १० जनालाई घरेलु उपचारले केही घण्टामा ठीक हुने बताउँछिन् । तर, ५ जनालाई भने  महिनावारी दुःखाइ अत्यधिक हुन्छ । महिनावारी हुनुभन्दा १० दिन अघि र पछिसम्म रहनसक्ने यस्तो दुःखाइमा भने दक्ष स्वास्थ्यकर्मीको रेखदेख चाहिने अभियन्ता पौडेल बताउँछिन् ।

‘यस्तो दुःखाइ किन हुन्छ भन्ने अहिलेसम्म ठ्याक्कै थाहा नभए पनि अन्य रोग जस्तो मनोरोग, मस्तिष्क वा हर्मोनको कारणले हुनसक्छ’, उनी भन्छिन्, ‘पहिलेको रोग र महिनावारीको चक्र सँगै हुँदा पेट दुख्ने, बान्ता हुने, रुन मन लाग्ने खालको समस्या हुनसक्छ, यसको उपचारबाट मात्रै निको पार्न सकिन्छ ।’

विद्यालयस्तरका किशोरीहरुसँगै काम गरेकी नर्स कला पाण्डे भने अधिक दुःखाइबाहेकको अवस्थामा किशोरावस्थाका छोरीहरुको महिनावारी दुःखाइ कम गर्न औषधि थमाउने प्रवृत्ति हटाउन अभिभावकको बुझाइले महत्वपूर्ण भूमिका खेल्ने बताउँछिन् ।

‘अधिकांश अभिभावक महिनावारीमा छोरीहरुले पेट दुख्यो भन्नेबित्तिकै औषधिको ट्याब्लेट हातमा थमाइदिन्छन् । उनीहरुको त्यही बानी विद्यालयमा महिनावारी हुँदा पनि देखिन्छ’, नर्स पाण्डे थप्छिन्, ‘मुख्यगरी महिनावारी दुःखाइ कम गर्न अभिभावकले किशोरी छोराछोरीलाई विनाविभेद खानपान, व्यवहार र हल्का शारीरिक अभ्यास गर्न सहयोग गर्नुपर्छ ।’

सन्दर्भ सामग्री


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर