यू १९ एसिया कपः कप्तान खनाल शून्यमा आउट, नेपाल संकटमा – Nepal Press

यू १९ एसिया कपः कप्तान खनाल शून्यमा आउट, नेपाल संकटमा

काठमाडौं । यूएईमा सुरु भएको यू १९ एसिया कप अन्तरगत पहिलो म्याचमा नेपालले खराब सुरुवात गरेको छ । ३३ रनको अवस्थामा नेपालका तीन ब्याट्सम्यान आउट भएका छन् ।

पाकिस्तानले टस जितेर नेपाललाई पहिलो ब्याटिङको निम्तो दिएको थियो । नेपालले पहिलो विकेट सस्तैमा गुमायो । ओपनरका रुपमा आएका तिलक भण्डारी ९ बलमा ७ रन बनाएर आउट भए । उनलाई अमिर हसनले विकेटकिपरको हातबाट क्याच गराए ।

तेस्रो नम्बरमा आएका आकाश त्रिपाठीले पनि २२ बलको सामना गर्दै ६ रन मात्रै जोड्न सके । उबैद साहले उनलाई एलबीडब्लुको धरापमा पारे । त्यसपछि चौंथो नम्बरमा क्रिजमा आएका देव खनाल पनि आउट भएपछि नेपाल संकटमा परेको छ ।

दुई विकेट चाँडै गिरेपछि नेपालको आशा ओपनर अर्जुन कुमाल र देव खनालमाथि थियो । तर, खनालले १३ बलको सामना गर्दा एक रन पनि जोड्न सकेनन् । उनी मोहम्मद जिसनको बलमा क्याच आउट हुन पुगे ।

ओपनर अर्जुन कुमालले नेपालको एउटा इन्ड सम्हालिरहेका छन् । अहिले क्रिजमा उनलाई साथ दिन आएका छन् उत्तम मगर । यो समाचार बनाउँदासम्म अर्जुन ३५ बलमा २१ रन बनाएर खेलिरहेका छन् । १६ ओभरको खेल समाप्त हुँदा नेपालले ४३ रन मात्र जोड्न सकेको छ ।
आठ वटा देश सहभागी यू १९ एसिया कपमा नेपालको समूह ए मा छ । नेपालको समूहमा पाकिस्तान, भारत र अफगानिस्तान छन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *