जङ्गली हात्ती प्रभावित क्षेत्रमा कोशीका मुख्यमन्त्री कार्कीले गरे अनुगमन
विराटनगर । कोशी प्रदेशको झापा, मोरङ र सुनसरीमा जङ्गली हात्तीको आतङ्क बढेको छ । मङ्सिर ५ गतेयता झापा, सुनसरी र मोरङमा हात्तीको आक्रमणमा परी ४ जनाको मृत्यु भएको छ । २० वटाभन्दा बढी घर भत्काइएको छ ।
हात्तीले अन्नबालीमा क्षति पुर्याएको छ । हात्तीको आक्रमणबाट अहिलेसम्म करिब २८ लाख मूल्य बराबरको अन्नबालीमा क्षति भएको प्रहरीको तथ्याङ्क छ ।
जङ्गली हात्तीले क्षति पुर्याएपछि कोशी प्रदेशका मुख्यमन्त्री केदार कार्कीले प्रभावित क्षेत्रको अनुगमन गरेका छन् । मोरङको बेलबारी– १० भाउन्नेस्थित जङ्गली हात्तीको आक्रमणबाट भएको घर र बालीको क्षतिको मुख्यमन्त्री कार्कीले अनुगमन गरेका हुन् ।
बिहीबार राति स्थानीय विन निरौला र तीर्थ दाहालको घरमा हात्तीले क्षति पुर्याएको थियो । कोशीका पर्यटन, वन तथा वातावरणमन्त्री गणेश उप्रेतीले हात्तीको आक्रमणमा परी ज्यान गुमाएका परिवारको क्षतिपूर्तिमा ढिलाइ नगर्न निर्देशन दिएका छन् ।
हात्तीको आक्रमणमा परी सुनसरीको इटहरी, मोरङको बेलबारी र झापाको हाल्दिबारी र बेलडाँगीमा १-१ जनाले ज्यान गुमाएका छन् । गत मङ्सिर ५ गते हात्तीले आक्रमण गर्दा झापा दमकको बेलडाँगीस्थित भुटानी शरणार्थी शिविरका ७२ वर्षीय पदमलाल तामाङको मृत्यु भयो । शिविर बाहिरको हम्सेदुम्से सामुदायिक वनको जङ्गलमा तामाङलाई हात्तीले आक्रमण गरेको थियो ।
यसैगरी मङ्सिर १३ गते राति जङ्गली हात्तीकै आक्रमणबाट सुनसरीको इटहरी- २ का रविन खड्काको मृत्यु भयो । चार कोशे झाडीबाट बस्तीमा छिरेको हात्तीको बथान धपाउने क्रममा खड्का मारिएका थिए ।
मङ्सिर १५ गते फेरि झापाको हाल्दिबारी- ३ स्थित रणकाली सामुदायिक वनका चौकीदार ४० वर्षीय धनबहादुर वनको पनि हात्तीको आक्रमणमा परी मृत्यु भयो । जङ्गलबाट आएको एउटा हात्तीले उनलाई लछारपछार गरी कुल्चिएर मारेको थियो ।
मङ्सिर १८ गते बिहान मोरङको बेलबारीमा लेटाङ- ३ का ५३ वर्षीय कमल माझीलाई हात्तीले बेलबारी- १० भाउन्नेमा जङ्गली हात्तीले आक्रमण गरेको प्रहरीले जनाएको छ । उनको घटनास्थलमै मृत्यु भएको थियो ।