यू १९ एसिया कपः पाकिस्तानलाई नेपालले दियो १५३ रनको लक्ष्य – Nepal Press

यू १९ एसिया कपः पाकिस्तानलाई नेपालले दियो १५३ रनको लक्ष्य

काठमाडौं । यूएईमा सुरु भएको यू १९ एसिया कप अन्तर्गत पहिलो म्याचमा नेपालले टेस्ट राष्ट्र पाकिस्तानलाई १५३ रनको सामान्य लक्ष्य प्रस्तुत गरेको छ ।

पाकिस्तानका जिसन खान एक्लैले ६ विकेट लिएपछि नेपालको ब्याटिङ धराशयी भयो । नेपालका लागि उत्तम थापामगरले अर्धसतक बनाए ।

टस हारेर पहिले ब्याटिङमा निम्त्याइएको नेपालले खराब सुरुवात गरेको थियो । पाकिस्तानी बलरहरुको पेस र बाउन्सलाई नेपाली ब्याट्सम्यानहरुले सामना गर्न सकेनन् । सबैभन्दा बढी आशा गरिएका कप्तान देव खनाल र राष्ट्रिय टीमका अनुभवि गुल्शन झा दुवै फ्लप भए ।

छैटौं विकेटका लागि उत्तम थापा र दिपेश कँडेलको साझेदारीले नेपाललाई केही राहत दिएको थियो । ४६ रनमा ५ विकेट गुमाएको अवस्थाबाट यो जोडीले अर्धसतकीय साझेदारी गर्दै नेपाललाई एक सयको आँकडा पार गरायो । दिपेशले ५९ बलमा २ चौका र १ छक्कासहित ३१ बनाएर आउट भए । उत्तमले ७६ बलमा ५१ रन जोडे, जसमा ३ चौका र २ छक्का समावेश थिए ।

३३ रनको अवस्थामा कप्तान देव खनाल आउट भएपछि दवावमा परेको अवस्थामा पाचौं नम्बरमा उत्तम क्रिजमा आएका थिए । अर्को इन्डबाट लगातार विकेट झरिरहँदा उनले एउटा इन्डबाट रन बटुलिरहे । उत्तम आउट भएपछि पछिल्लो क्रमका ब्याट्सम्यानले खासै योगदान दिन सकेनन् । यद्यपि, अन्तिम विकेटका लागि नेपालले १७ रनको महत्वपूर्ण साझेदारी गरेको थियो ।

पाकिस्तानका जसिम साहले अविस्मरणीय बलिङ गर्दै नेपालका ६ विकेट लिए । उनले ओपनर अर्जुन कुमाल, देव खनाल, दिपेश कँडेल, विशाल विक्रम केसी, विपिन रावल र आकाश चन्दको विकेट लिएका थिए । अग्लो कदका जिसनको बाउन्सले नेपालका ब्याट्सम्यानलाई अप्ठेरोमा पारेको थियो ।

 


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *