आन्दोलनरत व्यवसायीलाई मन्त्री किराँतीको आश्वासन : केही निकास आउँछ, आन्दोलन स्थगित गर्नुस् – Nepal Press

आन्दोलनरत व्यवसायीलाई मन्त्री किराँतीको आश्वासन : केही निकास आउँछ, आन्दोलन स्थगित गर्नुस्

आन्दोलन हाम्रो रहर होइन, बाध्यता हो : व्यवसायी

रुपन्देही । संस्कृति, पर्यटन तथा नागरिक उडड्यन मन्त्री सुदन किराँतीले व्यवसायीलाई आन्दोलन स्थगित गर्न आग्रह गरेका छन् । शुक्रबार साँझ गौतमबुद्ध विमानस्थलमा सिद्धार्थ सञ्जाल, रुपन्देहीको टीमसँग कुराकानी गर्दै मन्त्री किराँतीले भने, ‘आन्दोलन गरेर हुँदैन । भएको पनि बिग्रन्छ । त्यतातिर नजान म गम्भीरताकासाथ अनुरोध गर्दछु । देश अप्ठयारो अवस्थामा छ । अफ्ठयारोकाबीच हमीले समस्या समाधान गर्नुपर्नेछ ।

मन्त्री किराँतीले आन्दोलन गरेर आजको भोली नै जहाज चल्न नसक्ने भन्दै उद्योगी–व्यवसायीको आवाज सुनिरहेको बताए । उनले नेपाल वायुसेवा निगमसँग धेरै हवाइजहाज हुनुपर्ने भए पनि हुन नसकेको बताए ।

उनले लिजमा लिएर जहाज चलाउनका लागि प्रक्रिया अघि बढेको बताए । उनले भने, ‘एउटा जहाज गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा स्ट्याण्ड बाई राख्ने सोच बनाएका छौं । दिनको ४ वटाभन्दा बढी अन्तर्राष्ट्रिय उडान गर्ने कम्पनीले अनिवार्य एउटा उडान भैरहवाबाट गर्नुपर्ने निर्णय निर्ममतापूर्वक गर्दैछौं ।’

‘जहाज किन्ने र लिजमा ल्याउने कोशिषमा म लागेको छु । जहाज थप्दैछौं । ल्याउन नदिनका निम्ति सम्पूर्ण शक्ति लगाएका छन् । यसमा पनि तपाईहरु बोल्दिनुपर्यो, ’उनले भने । हवाई रुटको सन्दर्भमा आफ्नोतर्फबाट कुटनीतिक पहल गरेको र प्रधानमन्त्री स्वयंले उच्चतहमा प्रस्ताव राखेर भारतका प्रधानमन्त्रीसँग कुरा गर्नुभएको र आफू पनि लागिरहेको मन्त्री किराँतीको भनाइ थियो ।

‘राज्यले विमानस्थल चलाउनका लागि नै बनाएको हो । हामी सबै मिलेर चलाउनुपर्नेछ । सामूहिक प्रयास बेगर हुँदैन, ’मन्त्री किराँतीले भने ।

त्यस्तै लुम्बिनी प्रदेशका मुख्यमन्त्री डिल्लीबहादुर चौधरीले समस्या समाधानका लागि अब परिणाम तथा निष्कर्ष निस्कने गरी राउण्ड टेबल बैठक गर्न आवश्यक रहेको बताए ।

लुम्बिनी प्रदेश सरकारका प्रवक्ता तथा गृहमन्त्री सन्तोष कुमार पाण्डेयले विमानस्थल सञ्चालन हुनुपर्छ भन्ने सबैको मान्यता भएको बताए । उनले यो काम देशको नेतृत्व गर्ने सरकारको भएको बताए ।

गौतमबुद्ध अन्तर्राष्टिय विमानस्थलका महाप्रबन्धक हंसराज पाण्डेयले विमानस्थलबाट अन्तर्राष्ट्रिय उडान हुनुपर्छ भन्ने सबैको माग रहेको बताए ।

आन्दोलन हाम्रो रहर होइन, बाध्यता हो : व्यवसायी

सिद्धार्थ सञ्जाल, रुपन्देहीका संस्थापक अध्यक्ष अनिल कुमार ज्ञवालीले आन्दोलन गर्ने आफूहरुको रहर नभइ बाध्यता भएको बताए । उनले यसअघि प्रधानमन्त्री, पर्यटनमन्त्री र लुम्बिनीका मुख्यमन्त्रीलाई अल्टिमेटमसहित ज्ञापनपत्र बुझाइसके पनि पनि समस्या समाधान नभएकाले आन्दोलनमा उत्रिनुपरेको बताए ।

उनले भने, ‘नागरिक स्वतस्फूर्त आन्दोलनमा उत्रिएका छन्, । अझै पनि श्रम स्वीकृत, भिषा सेन्टर, स्वास्थ्य परीक्षण लगायतका काम अघि बढ्न सकेको छैन ।’ विमानस्थल सञ्चालन नहुँदा निजी क्षेत्र हत्तोत्साहित भएको र बैंकको ब्याज किस्ता समेत तिर्न ग्राहो भएको बताए ।

उनले आइतबारदेखि विमानस्थलमा शान्तिपूर्ण धर्ना बस्ने कार्यक्रम रहेको बताए । अध्यक्ष ज्ञवालीले आन्तरिक हवाइ उडानको टिकट नकाटेर सहयोग गर्न विभिन्न एअरलायन्सहरुलाई पत्राचार गरिएको बताए ।

सञ्जालका वरिष्ठ उपाध्यक्ष चन्द्रप्रकाश श्रेष्ठले पर्यटकलाई भित्र्याउन कनेक्टीभिटी आवश्यक रहेको भन्दै यात्रु नपाएको भन्ने कुरा गलत भएको बताए । उनले भारतको गोरखपुरबाट हवाईमार्ग हुँदै जाने यात्रुमध्ये २५ प्रतिशत नेपाली यात्रु रहेको बताए । उनले नेपालमा आउने पर्यटकमध्ये अधिकांश भारतीय पर्यटक रहेको तर एअरपोर्ट नचाल्दा समस्या भएको बताए । उनले विमानस्थल नचल्दा जनता आक्रोशित भएको बताए ।

सञ्जालका महासचिव संजय बजिमयले कनेक्टीभिटी बिना पर्यटन क्षेत्रको विकास हुन नसक्ने बताए । उनले भैरहवा विमानस्थलबाट अन्तर्राष्टिय उडान गरेर सुलभ दरमा वैदेशिक रोजगारीमा जाने नेपालीहरु सेवा प्राप्त गरेर लाभान्वित हुनसक्ने बताए ।

नेपाल उद्योग वाणिज्य महासंघ लुम्बिनी प्रदेशका उपाध्यक्ष कुल प्रसाद न्यौपानेले विमानस्थल सञ्चालन हुन नसक्दा निजी क्षेत्र मर्कामा परेको बताए । रुपन्देहीको भैरहवास्थित गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल पूर्ण र नियमित रुपमा सञ्चालनको माग गर्दै सिद्धार्थ सञ्जाल, रुपन्देहीको आयोजनामा शुक्रबारदेखि आन्दोलन सुरु भएको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर