बीडीसीए कपमा स्कोरको पहाड : ५८८ को लक्ष्य दिँदा खडक बोहराको २४२ रन – Nepal Press

बीडीसीए कपमा स्कोरको पहाड : ५८८ को लक्ष्य दिँदा खडक बोहराको २४२ रन

कीर्तिमानी जितसँगै निङलाशैनी सेमिफाइनलमा

कैलाली । कीर्तिमानी जित निकाल्दै निङलाशैनी क्रिकेट क्लब (एनसीसी), बैतडीमा जारी २० औँ संस्करणको बीडीसीए कप जिल्ला स्तरीय एक दिवसीय क्रिकेट प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेको छ ।

कीर्तिमानी जित निकाल्ने क्रममा एनसीसीले महामाया क्रिकेट क्लब, दुर्गाभवानीलाई ५१५ रनले पराजित गर्‍यो ।

एनसीसीले दिएको ५८८ रनको लक्ष्य पन्छाएको महामाया १५. १ ओभरमा ७२ रनमा समेटियो । उसका जयबहादुर टोक्टरेले १६ र यज्ञराज भट्टले ११ रन बनाउनुबाहेक अन्य ब्याटरले दोहोरो अङ्कमा रन जोड्न सकेनन् ।

महामायाको पारी ध्वस्त पार्ने क्रममा एनसीसीका हिम्मत सिंह महराले ३ तथा सन्तोष बिजले, समीर बोहरा र कप्तान रिसिकेश बोहराले २्२ विकेट हात पारे ।

त्यसअघि दशरथ चन्द क्रिकेट मैदान,सुन्दरखालीमा टस जितेर महामायाले एनसीसीलाई ब्याटिङको निम्ता दिएको थियो । पहिला ब्याटिङ गरेको एनसीसीले निर्धारित ५० ओभरमा ४ विकेटको क्षतिमा ५८७ रन बनायो । जुन बिडिसिए इतिहासमै उच्च स्कोर हो ।

जसमा खडक बोहराले कीर्तिमानी दोहोरो शतक हिर्काए । म्यान अफ द म्याच चुनिएका खडकले १४५ बलको सामना गर्दै ३५ चौका र ७ छक्काको मद्दतमा २४२ रन बनाए । खडक बिडिसिएमा दोहोरो शतक प्रहार गर्ने पहिलो खेलाडी समेत बनेका छन् ।

हालसम्म कुनै पनि ब्याटरले दोहोरो शतक प्रहार गर्न सकेका छैनन् । यस्तै गजेन्द्र बोहराले १३८ रनको शतकीय पारी खेले । उनले ७९ बलमा २१ चौका र ३ छक्का हिर्काए।

खडक र गजेन्द्रबीच २७३ रनको कीर्तिमानी साझेदारी पनि भयो । महामायाका लागि दिनेश रावतले ३ र जयबहादुर टोक्टरेले १ विकेट हात पारे । लगातार दोस्रो जित हात पार्दै एनसीसी सेमिफाइनल पुग्दा महामाया प्रतियोगिताबाट बाहिरिएको छ ।

बैतडी जिल्ला क्रिकेट संघको आयोजनामा मङ्सिर १६ गतेदेखि सुरु भएको प्रतियोगितामा १३ टोलीको सहभागिता रहेको छ ।

प्रतियोगितामा सहभागी हुने १३ टोलीलाई चार समूहमा विभाजन गरी खेलहरू भइरहेका छन् । यो वर्ष बीडीसीए कप वान डे फम्र्याटमा भइरहेको छ ।

प्रतियोगिताको विजेताले ५० हजार नगद पुरस्कारसहित ट्रफी, मेडल र प्रमाणपत्र र उपविजेताले ३५ हजार नगदसहित ट्रफी, मेडल र प्रमाणपत्र पाउने बैतडी जिल्ला क्रिकेट संघले जनाएको छ ।

यसअघि १९ औँ संस्करणको उपाधि पञ्चकोटी क्रिकेट क्लबलाई १२९ रनले स्तब्ध पार्दै निङलाशैनी क्रिकेट क्लबले हात पारेको थियो ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *