हिन्दू राष्ट्र र राजसंस्थाको लागि वृहत् मोर्चा बनाएर आन्दोलन गर्नुपर्छ : कमल थापा (भिडिओ) – Nepal Press

हिन्दू राष्ट्र र राजसंस्थाको लागि वृहत् मोर्चा बनाएर आन्दोलन गर्नुपर्छ : कमल थापा (भिडिओ)

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी नेपालका अध्यक्ष कमल थापाले हिन्दू राष्ट्र र राजसंस्था पुनःस्थापनाको निम्ति आन्दोलन गर्नुपर्ने बताएका छन् ।

आइतबार काठमाडौंमा पार्टीको केन्द्रीय कार्यसमिति बैठकलाई सम्बोधन गर्दै उनले हिन्दू राष्ट्र र राजसंस्था पुनःस्थापनाको एजेण्डाको मुख्य संवाहक आफूहरू नै भएको दाबी गरे । त्यसका लागि वृहत् राष्ट्रिय मोर्चा बनाएर जानुपर्ने थापाको जोड छ ।

संघीय लोकतान्त्रिक गणतन्त्रात्मक व्यवस्था असफल भइसकेको जिकिर गर्दै उनले अबको विकल्प राजसंस्थासहितको प्रजातन्त्र, हिन्दू राष्ट्र र दुई तहको सरकार भएको दोहोर्‍याए ।

आन्दोलनको निम्ति सम्पूर्ण जनतालाई सडकमा आउन अपिल गर्दै थापाले भने, ‘संघीय गणतन्त्र नामको व्यवस्था असफल भयो । अब हिन्दू राष्ट्र र राजसंस्थासहितको प्रजातन्त्र अनिवार्य छ । यो उद्देश्य प्राप्त गर्नको निमित्त आन्दोलनबाहेक अर्को विकल्प छैन । तसर्थ सम्पूर्ण जनता सडक संघर्षमा आउनु जरुरी छ । र यो लक्ष्य प्राप्त गर्नको निमित्त केवल राप्रपा नेपालको एक्लो प्रयासले मात्रै सम्भव छैन । सबै राष्ट्रवादी, देशभक्त, प्रजातन्त्रवादी दल, समूह र पक्षहरु समावेश भएको मोर्चा निर्माण गरेर आन्दोलनलाई अगाडि बढाउनुपर्दछ ।’

अध्यक्ष थापाले राप्रपा नेपाल संगठनात्मक रूपमा कमजोर भएको स्वीकारे । अझैपनि पालिका तहसम्म पार्टी कमिटी गठन हुन नसकेको र जिल्लाका कमिटीहरु पनि अपेक्षाकृत रुपमा सक्रिय हुन नसकेको उनको भनाइ छ । भ्रातृसंस्था र विभागहरु पनि निस्क्रिय भएका भन्दै अब पार्टी कमिटीलाई जुझारु र सक्रिय बनाउनुपर्नेमा उनले जोड दिए ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर