एलपीएल टी-२० क्रिकेट: घोडाघोडी सेमिफाइनलमा, बाहिरियो गरुडा – Nepal Press

एलपीएल टी-२० क्रिकेट: घोडाघोडी सेमिफाइनलमा, बाहिरियो गरुडा

कैलाली । घोडाघोडी क्रिकेट एकेडेमी कैलालीमा जारी लिटल फ्लावर प्रिमियर लिग (एलपीएल)को समूह ‘सी’बाट सेमिफाइनल पुगेको छ । यसअघि समूह ‘बी’ बाट युथ अफ टीकापुर सेमिफाइनल पुगिसकेको छ ।

धनगढीस्थित फाप्ला क्रिकेट मैदानमा सम्पन्न खेलमा गरुडा नगरपालिकालाई ६ विकेटले पराजित गर्दै घोडाघोडी सेमिफाइनलमा पुगेको हो । घोडाघोडी अहिलेसम्म अपराजित छ ।

खेलमा गरुडाले दिएको १२९ रनको लक्ष्य घोडाघोडीले १७.५ ओभरमा ४ विकेट गुमाएर पूरा गर्‍यो । घोडाघोडीका ओपनर विपीनविक्रम शाही र टेक रावतले ९३ रनको साझेदारी गर्दै जीतको आधार तयार गरेका थिए । विपीनले ३९ बलमा ६ चौका र ३ छक्काको मद्दतले ५५ रन बनाए । टेकले २९ बलमा ३ चौका र २ छक्का हान्दै २५ रन बनाए ।

कृष कार्कीले अविजित १५ तथा निशान्त बुढायरले अविजित १० रन बनाए । गरुडाका बलर डब्लु मलिकले ३ तथा नितेश यादवले १ विकेट लिए ।

यसअघि टस जितेर ब्याटिङ गरेको गरुडाले २० ओभरमा सबै विकेट गुमाएर १२८ रन बनायो । गरुडाको लागि डब्लु आनन्द मलिकले सर्वाधिक ३५ रन बनाए। सोभेन्द्र पासवानले २३, नितेश यादवले १९ तथा शैलेन्द्र कुशवाहाले १७ रन बनाए ।

प्लेयर अफ द म्याच घोषित घोडाघोडीका बलर भुपेश जोशीले ५ विकेट लिए । उनले ४ ओभरमा मात्र १३ रन खर्चिए । सञ्जय बोहरा, अशोक धामी र नरेश सुनारले १-१ विकेट लिए ।

हारसँगै गरुडासहित आयोजक लिटल फ्लावर स्कुल र सुदूर पश्चिमाञ्चल एकेडेमी पहिलो चरणबाट बाहिर भएका छन् ।

सत्यवती एकेडेमी र लिटल एन्जल्स स्कुलबीचको आजको दोस्रो खेल भने लिटल एन्जल्स टीम अनुपस्थित हुँदा हुन सकेन । समूह ‘डी’ मा रहेको सत्यवतीले खेल नखेले तापनि २ अङ्क पाएको छ । सत्यवतीको २ खेलबाट ४ अङ्क छ ।

लिटल फ्लावर स्पोर्टस् क्लबको आयोजनामा भएको प्रतियोगिताको यो आठौं संस्करण हो । प्रतियोगिताका विजेताले दुई लाख ५५ हजार र उपविजेताले एक लाख २८ हजार रुपैयाँ नगद पुरस्कार पाउनेछन् । प्रतियोगितामा काठमाडौं, रौतहट, दाङ, कैलाली र कञ्चनपुरका १६ वटा टीमको सहभागिता छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *