बाबु शेर्पाले जिते एनसेल ओपन गल्फकाे उपाधि: पुरस्कार ग्यालेक्सी जेड फोल्ड फाइभ
काठमाडौं । एनसेलद्वारा आयोजित एनसेल ओपन गल्फ प्रतियोगिताको उपाधि बाबु शेर्पाले हात पारेका छन् ।
शुक्रबार सुरु भएको प्रतियोगितामा १४३ प्रतियोगीलाई पछि पार्दै बाबुले उपाधि जितेका हुन् । ‘स्टेबल फोर्ड’ पद्धतिमा खेलाइएको प्रतियोगिता १२ ह्यान्डीक्यापमा खेलेका शेर्पा ४२ अंक जोड्दै विजेता बने । उनले ट्रफी र सामसङ ग्यालेक्सी जेड फोल्ड फाइभ जिते ।
प्रदीप केसी र स्वदेश गुरुङले समान ४१ अंक ल्याए । उनीहरुबीच ब्याक नाइनमा २३ अंक जोड्दै केसी दोस्रो भए । केसीले ट्रफी र फ्लाई दुबईको तर्फबाट दुबईको टिकट प्राप्त गरेका छन् ।
सद्भाव आचार्यले ३९ ग्रस अंक जोड्दै बेस्ट ग्रसको उपाधि जिते । उनी लङ्गेस्ट ड्राइभको पुरस्कार पनि जित्न सफल भए । उनले ट्रफीसँगै सामसङको ग्यालेक्सी जेड फ्लिप पुरस्कार पाए ।
त्यस्तै ३८ प्वाइन्ट बनाउँदै महिलातर्फ तारा कार्की चित्रकार विजयी भइन् । उनले ट्रफीसँगै फ्लाई दुबईको तर्फबाट टिकट पाइन् । गीता गुरुङ ३२ प्वाइन्ट बनाउँदै दोस्रो भइन् ।
रवीन्द्रपुरुष ढकाल ३७ अंकको साथ सिनियर (६० वर्षभन्दा माथि) तर्फ विजेता बने । त्यस्तै होलको आठ इन्च नजिक बल प्रहार गरेर क्लोजेस्ट टू द पीनको उपाधि ज्ञानबहादुर धेन्गाले जिते । नोर्बु शेर्पाले ६ बर्डिज्का साथ मोस्ट बर्डिजको उपाधि जिते ।
आयोजक एनसेलले प्रतियोगिताका लागि दर्ता शुल्कबाट २ लाख ८६ हजार संकलन गरेको थियो । जसमा थपेर एनसेलले जाजरकोट भूकम्पमा पुनर्निर्माण कार्यमा सहयोग गरिने जनाइएको छ ।
एनसेलले प्रत्येक ६औ६ महिनामा गल्फ प्रतियोगिता गर्ने जनाएको छ ।