गगनसँग सल्लाह नगरी शेखरले बोलाए इतर पक्षको बैठक
काठमाडौं । नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले संस्थापन इतर पक्षको बैठक बोलाएका छन् । राष्ट्रियसभा निर्वाचनको उम्मेदवार चयन लगायत पछिल्लो पार्टीको आन्तरिक समीकरणको विषयमा छलफल गर्नको लागि पुस २६ गतेका लागि बैठक बोलाएका हुन् ।
शेखर कोइराला पक्षका एक नेताले दिएको जानकारी अनुसार बैठकमा आफ्नो टिमबाट निर्वाचित पदाधिकारी, केन्द्रीय सदस्य, प्रतिनिधिसभा र राष्ट्रियसभाको सांसदहरूलाई बोलाएका छन् । तर, कोइरालाले आफ्नो टिमबाट निर्वाचन महामन्त्री गगन थापासँग यो बैठकको बारेमा सल्लाह गरेका छैनन् ।
कोशीमा नेता कोइरालाले विद्रोह गरेपछि गगनसँग संवादहीनताको अवस्था छ । गगनले पछिल्लो समय अर्का महामन्त्री विश्वप्रकाश शर्मा, नेता प्रदीप पौडेललगायत युवा पङ्क्तिलाई समेटेर १५ औँ महाधिवेशनलक्षित अर्को टिम निर्माणको गृहकार्यमा छन् ।
ती नेताले भने, ‘शेखर दाइले गगनजीसँग यो बैठकको बारेमा सल्लाह नगरी राख्नुभएको भन्ने मैले सुनेको छु। तर, अहिले परिवेशमा वार्ताबाट समाधान निकाल्न लाग्नुभएको भए हुन्थ्यो ।’
मङ्गलवारका लागि शेखर दाइले गुटको बैठक बोलाएको गगन निकट एक नेताले बताए ।
ती नेताले भने, ‘शेखर दाइले बैठक बोलाउनुभएको छ भन्ने मैले पनि सुनेको हुँ । तर, त्यो दिन गगन दाइको उपत्यका बाहिरको कार्यक्रम छ । त्यसैले पर्सीको बैठकको विषयमा शेखर दाइले गगन दाईसँग सल्लाह नगरेको बुझिन्छ ।’
त्यसो त कांग्रेसको महासमितिको बैठक पनि पुस १६ देखि १९ ललितपुरको गोदावरीमा बस्ने तय भएको छ। तर, बैठकको आन्तरिक तयारी सुरु भए पनि सभापति शेरबहादुर देउवा भने उदासीन छन् । देउवाले यो बैठक सार्ने पार्टीभित्र प्रस्ताव गरेका छन् ।
केन्द्रीय समिति बैठक राख्न पनि आलटाल गरिरहेका छन्। देउवाले फेरि पुरानै कार्यशैली दोहोर्याउन थालेपछि शेखरले रणनीति बनाउन गुटको बैठक राख्न लागेको जनाइएको छ ।