कांग्रेसलाई ग्रासरुटमा पुराएर समर्थन पैदा गर्नुपर्छ: सभापति देउवा (भिडिओ)
काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पार्टीलाई राम्रोसँग बुझ्नसके मात्र विभिन्न टीकाटिप्पणीको प्रतिकार गर्न सहज हुने बताएका छन् ।
पार्टी कार्यालय सानेपामा आइतबार कांग्रेसको मुखपत्र ‘नेपाल पुकार’को लोकार्पण गर्दै सभापति देउवाले अहिले कांग्रेसप्रति विभिन्न टीकाटिप्पणीका साथै आक्रमण र आलोचना हुन थालेकाले पार्टीलाई राम्रोसँग बुझ्नसकेमात्र त्यसको प्रतिकार गर्न सकिने बताएका हुन् ।
कांग्रेसलाई जनतामाझ लोकप्रिय बनाउनुमा मुखपत्रहरुको भूमिका महत्वपूर्ण रहेको उनले बताए । सभापति देउवाले पार्टीलाई ग्रासरुटमा पुराएर समर्थन पैदा गर्ने अवस्था सिर्जना गर्नुपर्ने जिकिर गरे ।
कांग्रेस उपसभापति धनराज गुरुङले मुलुकमा सुशासनको खडेरी परेको भन्दै अबको मिसन सुशासन हुनुपर्ने जिकिर गरे । उनले अहिले रोइलो गरेरमात्रै केही नहुने भन्दै पार्टी सुध्रिन जरुरी रहेको बताए ।
त्यस्तै कांग्रेस महामन्त्री गगन थापाले अहिले नागरिकहरु कुशासनले आजित भएको र एउटा काण्ड सेलाउन नपाउँदै अर्को काण्ड आउने गरेको औंल्याए । कांग्रेस सरकारमा भएका बेला भइरहेको कुशासनका घटनालाई उजागर गर्नुपर्ने उनको भनाइ छ ।
कांग्रेस नेता डा मिनेन्द्र रिजालले अहिले जनताले सुशासनको चाहना गरिरहेको अवस्थामा कांग्रेसले प्रभावकारी भूमिका निर्वाह गर्नुपर्ने बताए ।