जहाँ ट्राफिक प्रहरीलाई इशारा गरे पुग्छ ! – Nepal Press

जहाँ ट्राफिक प्रहरीलाई इशारा गरे पुग्छ !

डोटी । डडेलधुरा अमरगढी नगरपालिका–८ का रमेश पनेरु (नाम परिवर्तन) धनगढी–डडेलधुरा भीमदत्त राजमार्गमा माइक्रो बस चलाउँछन् । शनिवार बिहानै उनी अत्तरियामा डडेल्धुराका लागि यात्रुहरू बटुल्दै गरेका भेटिए ।

दुई वर्ष अघिसम्म उनी ट्राफिक प्रहरी देख्दै डराउँथे । ‘जहाँ देख्यो उतै चलान काट्ने, सिट क्षमता भन्दा एक जना मात्रै बढी भए पनि चलान, छतमा सामान धेरै भए पनि चलान’ रमेश भन्छन् ‘चलान नकाटेको कुनै दिन हुँदैनथ्यो ।’

अचेल उनलाई समस्या झेल्नु परेको छैन । अत्तरियाबाट स्याउलेसम्म रहेका ६ ट्राफिक प्रहरी पोष्टहरुमा उनले मासिक ५ सयका दरले रकम बुझाउने गरेका छन् । त्यसपछि उनले कोड (इशारा) पाए । अव ट्राफिक पोष्टमा पुग्ने बित्तिकै उनले इशारा गर्छन्, हिँड्छन् ।

‘६ ठाउँमा गरेर महिनाको ३ हजार रुपैयाँ जान्छ’ उनले भने ‘त्यसपछि मान्छे जति हाले पनि हुन्छ, सामान जति राखे पनि हुन्छ ।’ उनी यस सडकमा चल्ने सबै सवारी यातायातहरूले यसै गर्ने गरेको दाबी गर्छन् । भन्छन् ‘प्रत्येक पोष्टमा प्रहरीले एउटा छुट्टै कापी बनाएका छन्, त्यसमा गाडीको नम्बर, दिएको रकम र मिति उल्लेख गरिएको छ ।’

धनगढी—सिलगढी रुटमा सवारी साधन गुडाउने एक अर्का चालकको कुरा पनि उस्तै छ । उनी भन्छन् ‘पहिला पहिले त लुकाएर दिनु पर्ने हुन्थ्यो तर अचेल हाँकाहाँकी देखाएरै लिन्छन् ।’

उठाएको रकम माथिसम्म पठाउनु पर्ने बहाना ट्राफिक प्रहरीले बनाउने गरेको उनको भनाई छ । ‘एउटा पोष्टबाट मासिक ४ लाख संकलन होला’ ती चालक भन्छन् ‘के गर्नु दिनै पर्छ, दिएन भने बाटोभरि दुःख दिन्छन् ।’

सुदूरपश्चिमका पहाडी रुटमा चल्ने यात्रुवाहक सवारी साधनहरूका लागि अव यो सामान्य कुरा भइसहेको महाकाली यातायातको महेन्द्रनगर–दार्चुला सडकमा चल्ने एक बसका सहचालक बताउँछन् ।

उनी भन्छन् ‘कि त अनेक बहाना बनाएर चलान काट्छन्, कि यसरी पैसा लिएर छोड्छन् ।’

उनले चलान काट्न लाउँदा अहिलेको व्यवस्था अनुसार निकै झन्झटिलो र धेरै समय लाग्ने भएकाले पनि आफूहरू बाध्य भएर गैरकानुनी रूपमा रकम दिने गरेको उनी बताउँछन् ।

‘यसरी रकम दिनु हाम्रो रहर होइन, बाध्यता हो, नदिने हो भने हामीलाई अनावश्यक दुःख दिन्छन्, अनेक बहाना बनाउँछन्’ एक अर्का चालकले भने । उनी थप्छन् ‘पोष्टहरुमा नियमित रहेकाहरू बाहेक कहिलेकाहीँ चेकिङ भन्दै राजमार्गमा उभिएकाहरूले पनि छुट्टै रकम असुल गर्ने गरेका छन् ।’

मासिक रकम उठाउने गरेको स्वीकार गर्छन् अत्तरिया–स्याउले सडक खण्डमा खटिएका ट्राफिक प्रहरीका एक सहायक हवलदार । उनी भन्छन् ‘उठाएको पैसा हामीले मात्रै खाने हैन, हामीले पाउने त थोरै हो । बाँकी त उच्च ओहदाकैले पाउने हुन् । उनी थप्छन् ‘गाली खाने, जनताका नजरमा गलत देखिने मात्रै हो हामी त ।’ उनी सवारी चालकहरूले भने जति नउठे पनि राम्रै रकम असुल हुने बताउँछन् । उनी भन्छन् ‘सडकमा उभिएर ड्युटी गर्नेले त ५ भागको १ भाग पनि पाउँदैनन् ।’

सवारी चालकहरूले लगाएको आरोप सरासर झुटा भएको दाबी ट्राफिक प्रहरी कार्यालयको छ । ‘को ले दियो, कसलाई दियो, कहिले दियो ?’ नेपाल प्रहरी, राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालय अत्तरियाका प्रवक्ता अनिल कुमार उप्रेती भन्छन् ‘प्रमाण ल्याउनुहोस्, तत्काल कारबाही हुन्छ ।’

उनी सञ्चारकर्मीहरूले पनि सुनेका आधारमा विश्वास गर्न नहुने बताउँछन् । उनी भन्छन् ‘त्यस्तो केही भएको छैन, तपाईँहरू पनि ‘दियो रेड भन्ने कुरामा विश्वास नगर्नुहोस् ।’ उनले आफूहरूले बेलाबेलामा छड्के चेक पनि गरिरहेको र त्यस्तो कुनै पनि अवस्था फेला परेको बताए ।

कुनै पनि सार्वजनिक यातायातले अचेल क्षमताभन्दा बढी यात्रु नबोकेको प्रवक्ता उप्रेतीको दाबी छ । उनी भन्छन् ‘दशैं तिहार अघिदेखिनै हामीले क्षमताभन्दा बढी यात्रु बोक्न दिएका छैनौं ।’

उनले यात्रुहरूले पनि सिट नभएको सवारी साधनमा चढ्नु नहुने बताउँछन् । यात्रुहरू चुपचाप यात्रा गर्ने अनि प्रहरीलाई दोष दिने कुरा राम्रो नभएको उनले बताए ।

कुनै पनि गाडीमा तोकिएको क्षमता भन्दा बढी यात्रुहरू राखेको भए आफूहरूले बाटोमै उतारेर अर्को गाडीमा पठाउने गरेको दाबी समेत प्रवक्ता उप्रेतीको दाबी छ ।

उनी भन्छन् ‘कतै कुनै पनि गाडीले क्षमता भन्दा बढी यात्रु बोकेको छ भने तुरुन्तै हामीलाई जानकारी गराउनुहोस् भनेर हामीले पटक पटक भनिरहेका छौँ, तर सबैले पनि गुनासो गर्दैनन् ।’


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *