अफगानिस्तानसँग पराजित नेपालको सेमिफाइलन पुग्ने गणितीय सम्भावना कति ?
काठमाडौं । एसीसी यु–१९ एसिया कप क्रिकेट अन्तर्गत लगातार दुई खेलमा पराजित भएसँगै नेपालको सेमिफाइलनमा पुग्ने सम्भावना लगभग सकिएको छ । दुबईमा रहेको आईसीसी एकेडेमी ओभल–२ मा आइतबार भएको दोस्रो खेलमा नेपाल अफगानिस्थानसँग ७३ रनले पराजित भएसँगै सेमिफाइनल पुग्ने अंकगणितीय सम्भावना मात्रै जीवित छ ।
जम्सिद जड्रानको शतकमा अफगानिस्तानले दिएको २ सय ६२ रनको लक्ष्य पछ्याएको नेपाल १ सय ८८ रनमा समेटिएको थियो । नेपालका ओपनर अर्जुन कुमालले ९१ रनको उत्कृष्ट पारी खेलेपनि जितका लागि प्रयाप्त हुन सकेन ।
नेपाल पहिलो खेलमा पाकिस्तानसँग ७ विकेटले पराजित भएको थियो । आइतबार नै भएको अर्काे खेलमा पाकिस्तानले भारतलाई ८ विकेटले पराजित गरेको थियो । नेपाल रहेको समूह ‘ए’मा पाकिस्तान ४ अंकसहित शीर्ष स्थानमा छन् । समान २ अंक रहेको भारत दोस्रो र अफगानिस्तान तेस्रो स्थानमा छन् । अंकविहिन नेपाल तालिकाको पुछारमा छ । पाकिस्तानको रनरेट १.५६३, भारतको ०.४५४, अफगानिस्तानको ०.२०३ र नेपालको माइनस २.०२४ छ ।
शीर्ष २ मा रहने टोली सेमिफाइनल प्रवेश गर्नेछ । नेपालले अन्तिम खेल मंगलबार भारतसँग खेल्दै छ । नेपाललाई सेमिफाइनल पुग्ने अंकगणितिय यात्रा कायम राख्न भारतसँगको फराकिलो जितले मात्र पुग्ने छैन । अन्तिम खेलमा अफगानिस्तान पाकिस्तानसँग फराकिलो अन्तरले पराजित हुनुपर्नेछ । नेपाल भारतसँग पराजित भएमा वा अफगानिस्तानले पाकिस्तानलाई पराजित गरेमा सोझै बाहिरिने छ ।
अन्तिम खेल नेपालमा सहज हुने छैन । नेपालभन्दा भारत निकै बलियो मानिन्छ । पछिल्लो ५ खेलमा एक खेलमा मात्रै नेपाल विजयी भएको छ । बाँकी ४ खेलमा नेपाल भारतसँग पराजित भएको छ । सन् २०१७ मा आयोजित संस्करणमा नेपालले भारतलाई १९ रनले हराएको थियो र सेमिफाइनलसम्मको यात्रा तय गरेको थियो ।
सिनियर टोलीबाट भारत र पाकिस्तानसँग खेलिसकेका गुल्सन झा र यू–१९ टिमका कप्तान देव खनालले पछिल्ला दुई खेलको ब्याटिङ आफ्नो प्रभाव छोड्न सकेका छैनन् । झा पहिलो खेलमा २ र कप्तान खनाल शुन्य रनमा आउट भएका थिए । दोस्रो खेलमा झा १७ र खनाल २४ रन बनाएका थिए । भारतसँगको अन्तिम खेलमा यी दुईबाट नेपाल ठूलो अपेक्षा राख्नेछ