रुसी सेनामा २ सयभन्दा बढी नेपाली भर्ती, प्रधानमन्त्री भन्छन्- खोजी र अध्ययन थालेका छौं (भिडिओ) – Nepal Press

रुसी सेनामा २ सयभन्दा बढी नेपाली भर्ती, प्रधानमन्त्री भन्छन्- खोजी र अध्ययन थालेका छौं (भिडिओ)

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहालले रुसी सेनामा भर्ती हुने नेपालीको संख्या २ सय रहेको औपचारिक जानकारी आएको बताएका छन् ।

सोमबार पार्टी केन्द्रीय कार्यालय पेरिस डाँडामा प्रेस सेन्टर नेपालका पदाधिकारीको बैठकलाई सम्बोधन गर्दै उनले कोही भिजिट भिसा, कोही अध्ययन भिसामा रुसमा पुगेका २ सय नेपाली रुसी सेनामा भर्ती भएको जानकारी पाएको र अहिले उनीहरुको अध्ययन र खोजी कार्य भइरहेको बताए । रुसी सेना बनेका नेपाली कोही युक्रेनको कब्जामा रहेको र केही नेपालीहरु युक्रेनी सेनामा रहेको पनि औपचारिक जानकारी आएको प्रचण्डले सुनाए ।

हमास आक्रमणमा बेपत्ता भएका विपीन जोशीको फिर्तीका लागि अन्तिम प्रक्रियातिर बढिरहेको प्रधानमन्त्रीले जानकारी दिएका छन् ।

उनले भने, ‘चाहे रुस युक्रेनको युद्ध, हामीले बडो नयाँ फेनामेनाको सामना गर्नुपरेको छ । रुसी सेनामा पनि नेपाली युवाहरु गएर कोही पढ्न गएका कोही भिजिट भिसामा गएका कोही केमा गएका सेनामा भर्ती भएर ६ जना मरेको त औपचारिक ढंगले जानकारी आयो । अब २ सय भन्दा बढी छन् भन्नेछ, त्यसको खोजी, अध्ययन भइरहेको छ । त्यो परिस्थिति सामना गर्नुपरेको छ । कोही रुसी सेनामा जाँदा युक्रेनी सेनाको कब्जामा छन् । युक्रेनी सेनामा पनि नेपाली छन्, त्यसको तथ्यांक हामी खोज्दैछौँ । विगतमा देख्न व्यहोर्न पर्दैन थियो । अहिले परिरहेको छ । इजरायल र हमासमा १० जना नेपालीको ज्यान गयो १ जना बेपत्ता छन्, उनलाई फिर्ता ल्याउने अन्तिम प्रक्रियातिर बढीरहेका छौँ ।’

प्रधानमन्त्री दाहालले अहिले रातदिन विभिन्न किसिमले गठबन्धन तोड्ने, सरकार ढाल्ने अर्को बनाउने कसरत भइरहेको बताए ।

उहाँले भन्नुभयो, ‘अहिले रातदिन विभिन्न किसिमले गठबन्धन तोड्ने, सरकार ढाल्ने अर्को बनाउने केके भन्ने त रातदिन एकथरीको खेल कसरत भइ नै रहेको छ । तर, मैले हेर्दा र गठबन्धनका बैठकहरु सबै गर्दा केही हुनेवाला छैन । यो गठबन्धन पूरै अवधि जान्छ । अब एक वर्षको समीक्षा गर्नै र अर्को एक वर्षको निम्ति नयाँ रणनीतिबारे सोच्ने बेला आएको छ ।’

प्रधानमन्त्री दाहालले गठबन्धन पूरै अवधि जाने र अब एक वर्षको समीक्षा गरेर र अर्को एक वर्षको निम्ति नयाँ रणनीतिबारे सोच्ने बेला आएको बताए ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *