डाेटीमा विद्यालय भवन: ३६ लाखमा छत मात्रै – Nepal Press

डाेटीमा विद्यालय भवन: ३६ लाखमा छत मात्रै

डोटी । डोटीको शिखर नगरपालिका–११ मा रहेको जनजागृति आधारभूत विद्यालयको अधुरो भवनको फोटो अहिले सामाजिक सञ्जालमा छाइरहेको छ ।

दुईतले ४ कोठे भवनको छत देखिन्छ तर कोठा देखिदैनन् । जगदेखि १२ वटा पिल्लरमा अडेको छत र छतमाथि एउटा प्लाष्टिकको पानी ट्याङकी । यो भवन निर्माणाधीन भने होइन । निर्माण कार्य सम्पन्न भएको योजना हो ।

आर्थिक बर्ष २०७८/०७९ मा राष्ट्रपति शैक्षिक सुधार कार्यक्रम अन्तरगत निर्माण गरिएको भवनको आकृति हो यो । ‘३६ लाख रुपैयाँ बजेट बिनियोजन भएको रहेछ, ४ कोठे भवन बनाउनु पर्नेथियो’ विद्यालयका प्रधानाध्याक दिर्घबहादुर बलायर भन्छन् ‘शिखर नगरपालिकाका प्राविधिकहरुले भवनको इस्टिमेट गरे अनुसार सो रकमले यत्ति काम भएको हो ।’

उनले विद्यालयसँग स्रोत नहुँदा रकम थपेर भवन पुरा गर्न नसकिएको बताए । तोकिएको डिजाइन र तोकिएकै मापदण्ड अनुसार बनाउनु पर्ने प्राविधिक सुझाव अनुसारनै निर्माण कार्य भएको बलायरको दावी छ ।

‘उक्त कार्यक्रम अन्तरगत ४ कोठे भवनका लागि १८ लाख र दुई कोठे भवनका लागि ३६ लाख बिनियोजन गरेको हुने रहेछ’ बलायरले भने ‘रकम कम हुने, मापदण्ड अनुसार काम गर्न त्यो रकमले नपुग्ने भएका कारण भवन अधुरो रहेको हो ।’

उनले भवन निर्माणका लागि २०७९ बैशाखमा शिखर नगरपालिकासँग सम्झौता भएको जानकारी दिए । ढिलो गरी सम्झौता भएका कारण असार मसान्तमा काम सम्पन्न हुन नसकेपछि नगर–पालिकाले विद्यालयको खाता रोक्का गरी असोज मसान्तमा इस्टिमेट अनुसारको काम सक्ने शर्तमा भुक्तानी दिएको बताए । असोजमा काम सकिएपछि मात्रै खाता फुकुवा भएको उनको भनाई छ ।

उनी भन्छन् ‘यसमा कुनै अनियमितता भएको छैन, जति बजेट थियो, त्यति काम भयो ।’ भवनमा रकम अनुसार हुनुपर्ने परिमाणको काम भएको बताउँछन् शिखर नगरपालिकाका प्राविधिक महेन्द्र बिष्ट । ‘शिक्षा विभागको केन्द्रीय आयोजना कार्यान्वयन इकाईबाट बिनियोजन भएको बजेट हो यो’ बिष्टले भने ‘उहाँहरुको मापदण्ड भन्दा दायाँबायाँ गर्न पाईदैन, तर उहाँहरुले बिनियोजन गरेको रकमले पुग्दैन ।’

उनले ०७८/०७९ मा नगरपालिकाको वडा नं। ९ मा रहेको गणेश माध्यमिक बिद्यालयमा पनि उक्त रकमले नपुगेर भवन अधुरै रहेको बताए । ‘पछि गत आर्थिक वर्षमा नगरपालिकाले ८ लाख रुपैयाँ थपेर उक्त भवन पुरा गरेको हो’ बिष्ट भन्छन् ‘लागत इस्टिमेट अनुसारको बजेट नहुँदा भवन अधुरो रहेको हो ।’

प्राविधिक इस्टिमेट अनुसार जग हाल्ने, पिल्लर हाल्ने र छत हाल्ने काम गर्नु पर्ने काम रहेकोमा सो पुरा भएको बिष्टले बताए । उनले चालु आर्थिक वर्षमा यस भवनका लागि पनि नगरपालिकाले ८ लाख रुपैयाँ बिनियोजन गरेको बताए । गत आर्थिक वर्षदेखि यस्ता डिजाइनका भवनको बजेट ५० लाख भएर आएको बिष्टको भनाई छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *