भारतीय संसद बैठकमा अचानक शंकास्पद व्यक्ति कुदेर सभामुखतर्फ बढेपछि.. (भिडिओ)
काठमाडौं । भारतको केन्द्रीय संसद लोकसभा बैठक चलिरहेका बेला दर्शक दीर्घाबाट एक शंकास्पद व्यक्ति अचानक बैठक हलमा दौडिएपछि संसद कारबाही अवरुद्ध भएको छ ।
भिडिओमा देखिए अनुसार एकजना व्यक्ति सांसदको बीचबाट माथि माथि कुद्दै सभामुखको कुर्सीतर्फ बढेको देखिन्छ । शंकास्पद व्यक्तिलाई पक्राउ गरी सोधपुछ थालिएको छ । पश्चिम बंगालका बीजेपी सांसद खानेन मुर्मू बोलिरहेका बेला अचानक संसदमा होहल्ला भएको थियो ।
शंकास्पद एकजना व्यक्ति सभामुखतर्फ अघि बढेपछि अर्का व्यक्तिले साथबाट एउटा सामान निकालेपछि बैठक कक्षमा धुवाँ फैलिएको थियो । सुरक्षाकर्मीले दुवैलाई पक्राउ गरे पनि संसदको सुरक्षालाई लिएर सांसदहरुले हंगामा मच्चाएका छन् । लोकसभा सभामुख ओम बिडलाले यसको छानबिन हुने बताएका छन् ।