जुत्तामा गाजा नरसंहारविरोधी सन्देश लेखेर खेल्ने तयारी गरेका ख्वाजालाई रोक्यो आईसीसीले – Nepal Press

जुत्तामा गाजा नरसंहारविरोधी सन्देश लेखेर खेल्ने तयारी गरेका ख्वाजालाई रोक्यो आईसीसीले

काठमाडौं। अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आईसीसी)ले गाजा नरसंहारविरोधी सन्देश जुत्तामा लेखेर खेल्ने तयारी गरेका अस्ट्रेलियन क्रिकेटर उसमान ख्वाजालाई रोकेको खुलासा भएको छ ।

ख्वाजाले प्यालेस्टाइनीहरुको पक्षमा जुत्तामा ‘सबै जीवन समान हुन्’ र ‘स्वतन्त्रता मानव अधिकार हो’ लेखेर पाकिस्तानविरुद्ध टेस्ट खेल्ने तयारी गरेका थिए । आईसीसीले लगाएको उक्त रोकविरुद्ध ख्वाजाले अपिल गर्ने बताएका छन् ।

ख्वाजाका अनुसार आईसीसीले उनलाई राजनीतिक अभिव्यक्ति हुने भएकाले रोक लगाएको कारण देखाएको छ । इन्स्टाग्राममा बुधबार ख्वाजाले पोस्ट गरेको भिडियोमा आईसीसीको निर्णय र दृष्टिकोणको सम्मान गर्ने भन्दै त्यसविरुद्ध लड्ने उल्लेख गरेका छन् ।

ख्वाजाले जुत्तामा लेखेर खेल्ने कार्यलाई ‘मानवीयताका लागि अपिल’ भनेका छन् । उनले यसअघि पनि गाजाका नागरिकको पक्षमा बोलेका थिए ।

आफ्नो इन्स्टाग्राम भिडियोमा ख्वाजाले भनेका छन्, ‘कहाँ जन्मने भनेर कसैले पनि छनोट गरेको हुँदैन । जब म हुर्किरहेको थिएँ, मैले चाल पाएको थिएँ कि मेरो जीवन अरुसँग बराबर छैन । तर, सौभाग्यबस म त्यस्तो दुनियाँमा बसिनँ, जहाँ असमानताको कमी जीवन वा मृत्यु थियो ।’

गाजामा रहेको हमास समूहले इजरायलमा आक्रमण गरेपछि जवाफी कारबाहीमा हजारौं निहत्था प्यालेस्टाइनी मारिएको भन्दै मुस्लिम समुदायले विरोध गर्दै आएका छन् । यसअघि अभ्यासका क्रममा ख्वाजाले ‘सबै जीवन समान हुन्’ र ‘ स्वतन्त्रता मानव अधिकार हो’ लेखिएको जुत्ता लगाएको देखिएको थियो ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *