मध्यपहाडी यात्राले त्यो क्षेत्रको विकासका आधार प्राप्त भएका छन् : एमाले उपाध्यक्ष पौडेल (भिडिओ) – Nepal Press

मध्यपहाडी यात्राले त्यो क्षेत्रको विकासका आधार प्राप्त भएका छन् : एमाले उपाध्यक्ष पौडेल (भिडिओ)

रुपन्देही । नेकपा एमालेका उपाध्यक्ष तथा पूर्वअर्थमन्त्री विष्णुप्रसाद पौडेलले मध्य पहाडी पुष्पलाल लोकमार्ग थप सहज र छोटो बनाउन विभिन्न ठाउँमा परिवर्तन गर्नुपर्ने बताएका छन् ।

बैतडीको झुलाघाटबाट चिवाभन्ज्याङ समृद्धिका लागि संकल्प यात्राका लागि १५ दिन यो बाटोमा हिँड्दा यो मार्गलाई डबल डेलिकेटट गर्नुपर्ने, घुम्ती र मोड मिलाउनुपर्ने, पुल बनाई केही ठाउँमा रूटसमेत फेरेर छोटो बनाउनेतर्फ ध्यानाकर्षण भएको उनले जनाएका छन् ।

एमालेले सुरू गरेको यो यात्राले मध्य पहाडी जिल्लामा मात्र होइन सबै नागरिकमा आशा जगाउन सफल भएको नेता पौडेलको भनाइ छ । बिहीबार पत्रकारहरूसँग कुरा गर्दै पौडेलले अभियानको क्रममा नागरिकमा सोचेभन्दा बढी उत्साह देखिएको जनाए ।

नेकपा एमालेबाट मात्र मुलुकको समृद्धि सम्भव छ भन्ने सन्देश यो अभियानले दिन सकेको बताउँदै उनले भविष्य प्रतिको आशा जगाउने कुरामा यात्रा सफल भएको दाबी गरे ।

‘नेपालको राजनीतिप्रति चासो राख्ने हरेक नागरिकले यो यात्रालाई सफल र सार्थक यात्राका रूपमा चित्रण गरेका छन्, जनतामा फैलँदै गएको निराशा तोड्ने कुरामा यो यात्रा अभूतपूर्व रूपमा सफल रह्यो, असाधारण उत्साह थपिएको छ, उनले भने ।

नेता पौडेलले नेपाली जनताले संघर्ष गरेर पराजित गरेको राजतन्त्रलाई समेत ब्युँझाउने, देशमा अराजकता मच्चाउने, सामाजिक सद्भाव भड्काउने खालका गतिविधि सुरु भएको बेला एमालेले सञ्चालन गरेको अभियानले सबै शक्तिलाई परास्त गरेको सन्देश दिएको बताए ।

‘जनताको अजेय शक्तिलाई एक पटक पुष्टि गरेको छ, लोकतन्त्र नै जनतालाई सर्वशक्तिमान् बनाउने माध्यम हो भन्ने कुरालाई यसले पुनः पुष्टि गरेको छ, त्यस अर्थमा यसले मुलुकको विकास र समृद्धिको आधार तयार गरेको छ, अझै केही दिन बाँकी छ यो उत्साह घट्ने छैन बढिरहेको छ’, उनले भने ।

पूर्वाधार विकास र पहाडको बसाइसराइ कसरी रोक्न सकिन्छ भन्ने अध्ययन गर्नु यात्राको मुख्य उद्देश्य रहेको उनले ले बताए । ‘मध्य पहाडी क्षेत्र भविष्यको विकास र समृद्धिको आधारशिला हो भन्ने कुरालाई उजागर गर्न हामीले सफलता प्राप्त गरेका छौँ, भविष्यको विकासको आधारशिला हामीले मध्य पहाडी राजमार्गलाई बनाउन सक्दछौँ’, पौडेलले भने ।

मध्य पहाडका सबै जिल्लामा फलफूल र जडीबुटी खेतीको प्रचुर सम्भावना रहेको उनेले बताए । ‘पहाड र हिमाली क्षेत्र फलफूल र जडीबुटीको उर्वरा भूमि हुन्, फलफूल खेतीका माध्यमबाट पहाडी क्षेत्रको जीवन परिवर्तन गर्न सकिन्छ भन्ने कुरा यो यात्राका क्रममा प्रमाणित भएको छ’, उनले भने ।

यात्राले स्थानीय मौलिक संस्कृतिलाई राष्ट्रियकरण गर्ने काम पनि गरेको पौडेलले बताए । संस्कृतिका हिसाबले पनि मध्य पहाड विशिष्ट क्षेत्र रहेछ भन्ने कुरा अनुभूत गर्न सकिन्छ । ‘नेपाल बहु जातीय, बहुभाषिक, बहु सांस्कृतिक समाज भित्र हामीले एकता निर्माण गर्ने आधार खोजी रहेका थियौँ, त्यो आधार प्राप्त भएको छ’, उनले भने ।

पहाडी क्षेत्रको जीवनमा परिवर्तन आउँदै छ भन्ने कुरा पनि यात्राको क्रममा देखिएको उनको भनाइ छ ।

बालबालिकादेखि ज्येष्ठ नागरिकसम्मको एमाले र अध्यक्ष केपी ओलीप्रतिको आकर्षण पाइएको र फरक बिचार राख्नेहरू पनि यात्रामा सामेल भएर उत्साहित भएकाले यसको पूर्ण सफलता भएको सुनाए ।

नागरिकको उत्साहजनक सहभागिताको कारण निर्धारण गरेभन्दा धेरै ठाउँमा कार्यक्रम गर्नुपरेको उनको भनाइ छ । यो यात्रा ठिक समयमा गरिएको ठिक निर्णय भएको प्रमाणित भएको उनको ठम्याइ छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर